स्वास्थ्य बिमा बोर्डका पाँच सदस्यले दिए सामूहिक राजीनामा

बुधबार, कात्तिक १, २०८०

काठमाडौं । स्वास्थ्य बिमा बोर्डका पाँचजना सदस्यले सामूहिक राजीनामा दिएका छन् । बोर्ड सदस्य डा.सुरेश तिवारी, डा.तारा शाह, इन्द्रकला राई, चन्द्र थापा र टिका चापागाईंले सामूहिक राजीनामा दिएका हुन् । नौ महिनादेखि स्वास्थ्य बिमा बोर्ड अध्यक्षविहीन छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सोमबार स्वास्थ्य मन्त्रालय गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. मदन उपाध्यायलाई बोर्डको निमित्त कार्यकारी निर्देशक नियुक्त गरेका थिए ।
बोर्डमा नौ महिनादेखि अध्यक्ष नियुक्त नगर्नु र मन्त्रायलकै महाशाखा प्रमुखलाई निमित्त कार्यकारीको जिम्मेवारी दिनु स्वार्थ बाझिने भएकाले राजीनामा दिनुपरेको उनीहरुको भनाइ छ ।
राजीनामा दिएका बोर्ड सदस्य चन्द्र थापाले स्वास्थ्य मन्त्रालय गुणस्तर नियमन महाशाखा प्रमुख समेत रहेका उपाध्यायलाई बोर्डको कार्यकारी निर्देशक समेतमा नियुक्त गरिनुमा ‘कन्फिलिक्ट अफ इन्ट्रेस्ट’ जोडिएको बताए ।
बोर्डको अध्यक्ष नियुक्त गर्न नसकिरहेको अवस्थामा कार्यकारी निर्देशकलाई निलम्वन गरेकोमा उनले आपत्ति जनाए । स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा प्रवाह गर्ने निकाय रहेको र बोर्ड गुणस्तरीय सेवा खरिद गरेर जनतालाई वितरण गर्ने निकाय रहको हुँदा बोर्डको प्रमुख कार्यकारी र मन्त्रालयको महाशाखा प्रमुख एउटै व्यक्ति हुँदा स्वास्थ्य बिमा कार्यान्वयनमा बाधा पुग्ने भएका कारण बाध्य भएर राजीनामा दिनुपरेको उनले बताए ।
सरकारले गत असोज २४ गते बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई निलम्वन गरेको थियो ।

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  ०६:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार