कोशीमा भोलि सानो मन्त्रिमण्डल गठन हुने, बुधबार विश्वासको मत लिँदै मुख्यमन्त्री केदार कार्की

शनिबार, असोज २७, २०८०

काठमाडौँ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले भोलि शपथलगत्तै सानो आकारको मन्त्रिमण्डल बनाउने भएका छन् । पहिलो चरणमा एकजना कार्कीका तर्फबाट र कम्तीमा एकजना एमालेका तर्फबाट मन्त्रिमण्डलमा सामेल गराइनेछ । आइतबार कम्तीमा ३ र बढीमा ४ सदस्यीय मन्त्रिमण्डल गठन हुने एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए । सम्भावित मन्त्रीको नाम भने टुंगो नलागिसकेको उनको भनाइ छ । आइतबार सार्वजनिक बिदा परेकाले सोमबार कार्यालय खुल्नेबित्तिकै मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनका लागि प्रदेश सभा सचिवालयमा सूचना दिनेछन् ।

‘बुधबार नै विश्वासको मत लिने गरी समझदारी भएको छ,’ भण्डारी भन्छन्, ‘ढिलै भए बिहीबारभित्रमा विश्वासको मतको निर्णय भइसक्छ।’ बाँकी शक्ति साझेदारीका कुरा विश्वासको मत लिएपछि मात्र गर्ने समझदारी भएको भण्डारीको भनाइ छ।

आगामी मार्गचित्र र शक्ति साझेदारीबारे शीर्ष तहमा छलफल गर्न मुख्यमन्त्री कार्की शनिबार नै काठमाडौँ आएका छन् । उनी आइतबार बिहानैको उडानमा विराटनगर फर्किने तालिका छ । छलफलमा सहभागी नेताहरूका अनुसार, मुख्यमन्त्री कांग्रेसबाट चुनिएकाले अब सभामुख एमालेले पाउन सक्नेछ। उपसभामुख राप्रपालाई दिन सकिने गरी छलफल भएको छ । यो सरकारमा माओवादीलाई सामेल गराउने कि नगराउने भन्नेचाहिँ केही छलफल नभएको भण्डारीको भनाइ छ ।

कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता थापाले दिए राजीनामा

नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले पदबाट राजीनामा दिएका छन् । विराटनगरमा शनिबार पत्रकार सम्मेलन गरी उनले पदबाट राजीनामा दिएको जानकारी गराएका हुन् ।

uddhav-thapa NC koshi1697296907.jpg

‘मैले पाएको अवसरलाई गुमाएँ, अदालतले मलाई मुख्यमन्त्रीबाट हटायो । त्यतिबेलै मैले राजीनामा दिनुपर्थ्यो’ थापाले भने, ‘पछिल्लो समय कोशी प्रदेश सरकार निर्माण प्रक्रियामा भएका विकसित घट्नाक्रमले गर्दा नैतिक रूपमा मैले संसदीय दलको नेताको रुपमा बसिरहन उपयुक्त नभएको महसुस गरें । आजको मितिदेखि लागू हुने गरी मैले नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको नेताको पदबाट राजीनामा दिइएको जानकारी गराउँदै दलको नीति, सिदान्त र आदर्श प्रति प्रतिवद्ध रहँदै आगामी दिनमा क्रियाशील रहिरहने छु ।’

प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  २१:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार