कार्कीलाई कोशीको मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई दबाब

शुक्रबार, असोज २६, २०८०

विराटनगर । नेपाली कांग्रेसबाट ‘विद्रोह’ गरेर मुख्यमन्त्रीका लागि आफ्नो दाबी पेस गरेका केदार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न सभासदहरुले प्रदेश प्रमुखको ध्यानाकर्षण गराएका छन् ।
कार्कीलाई समर्थन गरेका कांग्रेसका उनीसहित ८ जना र नेकपा एमालेका ३९ जना सभासद प्रदेश प्रमुख पर्शुराम खापुङको कार्यालयमा पुगेर मुख्यमन्त्री नियुक्त गर्न आग्रह गर्न लागेका हुन् ।
एमाले र कांग्रेसका गरी ४८ जना सांसद प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भएर कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न दबाब दिन लागेका हुन् । 
मुख्यमन्त्रीमा गठबन्धन दलहरुका तर्फबाट माओवादी केन्द्रको संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले दाबी पेस गरेका छन् । केन्द्रमा भएको माओवादीलाई समर्थन गर्ने सहमतिको विरोधमा कांग्रेसको शेखर कोइराला पक्षधरका तर्फबाट कार्कीले पनि आफ्नो दाबी पेस गरेका हुन् ।
कार्कीलाई समर्थन गर्ने सांसदहरुले आफूहरुको हस्ताक्षर दुरुपयोग गर्दै आङ्बोले मुख्यमन्त्रीमा दाबी पेस गरेको बताउँदै आएका छन् । त्यही भएर प्रदेश प्रमुखका अगाडि प्रत्यक्ष उपस्थित भएर कार्कीको समर्थनमा रहेको भन्दै उनलाई मुख्यमन्त्री नियुक्त गर्न आग्रह गर्न लागिएको एक सांसदले बताए ।
माओवादीका आङ्बोले कांग्रेसका २९, माओवादीका १३, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टी (जसपा) का एकजना सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका हुन् ।
प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेस गर्न आज साँझ ५ बजेसम्मको समय दिएका थिए ।

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १८:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार