कोशी प्रदेशमा मुख्यमन्त्री चयन प्रक्रिया अझै अन्यौल

स्वतन्त्रताको उपयोग–कार्की, प्रदेश प्रमुखबाट निकास आउँछ–आङबो
बिहीबार, असोज २५, २०८०

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेश गरेका माओवादीका इन्द्रबहादुर आङ्बो र नेपाली कांग्रेसका केदार कार्कीले आ–आफ्नै तर्क प्रस्तुत गरेका छन् । मुख्यमन्त्रीमा दाबी पेश कांग्रेस कार्कीले आफूले संविधानको धारा १६८ (५) को उपयोग गरेको दाबी गरेका छन् । प्रदेश सरकार गठनको विषयलाई लिएर कोशीमा कुनै पनि दलले आधिकारिक निर्णय नगरेकाले आफ्नो निर्णय गर्न प्रदेशसभा सदस्यहरु स्वतन्त्र रहेको र आफूले त्यसको उपयोग गरेको उनको तर्क छ । सरकार गठनको विषयमा प्रदेशको संसदीय दलमा निर्णय गर्नुपर्नेमा केन्द्रले गरेको भन्दै उनले केन्द्रमै पनि पार्टीले कुनै निर्णय नगरेकाले सांसदको स्वतन्त्रताका हिसाबले अवसर सदुपयोग गरेको कार्कीले बताए । उनले कांग्रेसका ८ जना र एमालेको ३९ जना सांसदको समर्थनमा प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष मुख्यमन्त्री पदको दाबी पेश गरेका छन् ।
यसैबीच, सत्ता गठबन्धनका तर्फबाट मुख्यमन्त्रीमा दाबी गरेका माओवादी कोशी प्रदेश संसदीय दलका नेता आङ्बोले मुख्यमन्त्री नियुक्तिको विषयमा प्रदेश प्रमुखले निकास निकाल्ने विश्वास आफूले लिएको बताएका छन् ।
मुख्यमन्त्रीका लागि दाबी पेश गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रदेश प्रमुखले संवैधानिक र कानुनी रुपमा विज्ञहरुसँग परामर्श गरेर निकास निकाल्ने विश्वास आफूले लिएको बताएका हुन् ।

माओवादीले आफूहरुको हस्ताक्षर दुरुपयोग गरेको भन्दै कांग्रेस सभासदहरुको विरोध
कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने क्रममा माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले आफूहरुको हस्ताक्षर दुरुपयोग गरेको भन्दै कांग्रेस सांसदहरुले विरोध गरेका छन् ।
कांग्रेसको शेखर कोइराला पक्षका ८ जना प्रदेशसभा सदस्यले आङबोले आफूहरुको हस्ताक्षर दुरुपयोग गरेको भन्दै प्रदेश प्रमुख पर्शुराम खापुङको ध्यानाकर्षण गराउँदै उनको कार्यालयमा निवेदन दिएका छन् ।

kedar karki and sabhasad_ koshi1697117470.jpg
ती प्रदेशसभा सदस्यहरुले मुख्यमन्त्री नियुक्तिका लागि कांग्रेस नेता केदार कार्कीले पेश गरेको दाबीमा हस्ताक्षर गरेका छन् ।
माओवादीका आङबोले पनि उनीहरुकै हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी परेपछि आफूहरुको हस्ताक्षर दुरुपयोग भएको कांग्रेस सभासदहरुको भनाइ छ ।
नेपाली कांग्रेसका कार्कीलाई समर्थन गर्नेमा इलामका शमशेर राई र गोविन्द गिरी, उदयपुरका रामकुमार खत्री, लिलाकुमारी राई, झापाकी इन्दिरा थापा, मोरङका मानबहादुर लिम्बू र सुनसरीका सुनिता गुरुङ छन् ।
कोशी प्रदेश सभामा नेपाली कांग्रेसका २९ जना प्रदेश सांसद छन् । तीमध्ये ८ जनाले कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गर्दै हस्ताक्षर गरेका छन् ।
केन्द्रमा गठबन्धन दलहरुका शीर्ष नेताहरुले माओवादीका आङ्बोलाई मुख्यमन्त्री बनाउन सहमति जनाएपछि विद्रोह गर्दै कांग्रेसको कोइराला समूहका कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १९:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार