विपन्नका लागि ३ हजार ५ सयभन्दा बढी बेड उपचारसहित निःशुल्क : प्रधानमन्त्री

बिहीबार, असोज १८, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बागमती, मधेश, लुम्बिनी र गण्डकी प्रदेशका अस्पतालहरूमा सबै जेनेरल बेडहरूमा गरिब र विपन्नका लागि निःशुल्क घोषणा भइसकेको बताएका छन् । आज राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालको चौथो दीक्षान्त समारोहमा उनले जनताको स्वास्थ्य सेवामा समान पहुँचको हकको व्यवस्थाको लागि सबै अस्पतालहरुले १० प्रतिशत बेड उपचारसहित निःशुल्क गरेको भन्दै यो आफैंमा सरकारले चलाएको नयाँ र अग्रगामी कदम भएको बताए । 
उनले भने, ‘संविधानमा जनताको स्वास्थ्य सेवालाई समान पहुँचको हकको व्यवस्था छ । यही व्यवस्थालाई कार्यान्वयन गर्ने सन्दर्भमा गरिब र विपन्नहरु लागि सबै अस्पतालहरुले १० प्रतिशत बेड उपचारसहित निःशुल्क गर्नुपर्ने छ । संघीय अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठान गरी अहिले ३ हजार ५ सय २३ बेडहरुलाई निःशुल्क गरिएको छ । बागमती, मधेश, लुम्बिनी र गण्डकी प्रदेशका अस्पतालहरुमा सबै जेनेरल बेडहरुमा गरिब र विपन्नका लागि निःशुल्क घोषणा भइसकेका छन् । यो आफैंमा सरकारले चलाएको नयाँ र अग्रगामी कदम हो ।’
उनले सुशासन, सामाजिक न्याय र समृद्धिका लागि दृढतापूर्वक अगाडि बढ्नुको विकल्प नभएको भन्दै यसलाई आत्मसाथ गर्दै वर्तमान सरकार भ्रष्टाचारको अन्त्य गर्न अगाडि बढेको बताए ।
भ्रष्टाचार हटाएर मात्रै समृद्धि र सामाजिक न्यायको वातावरण सिर्जना गर्न सकिने भन्दैउनले त्यसका लागि सम्पूर्ण नेपाली एकताबद्ध हुन आवश्यक भएको बताए ।
उनले भने, ‘चुनौतीपूर्ण भए पनि हामीले सुशासन, सामाजिक न्याय र समृद्धिका लागि दृढतापूर्वक अगाडि बढ्नुको विकल्प छैन, यही यथार्थलाई आत्मसाथ गर्दै वर्तमान सरकार भ्रष्टाचार अन्त्य गर्न, देशमा सुशासन र समृद्धिको नयाँ वातावरण निर्माण गर्न दृढ संकल्पका साथ लागेको छ । भ्रष्टाचार हटाएर मात्रै समृद्धि र सामाजिक न्यायको वातावरण सिर्जना गर्न सकिन्छ, त्यसका लागि सम्पूर्ण नेपाली एकताबद्ध हुन आवश्यक छ ।’
उनले राजनीति र जीवन व्यवहार नागरिकको स्वार्थ र हितमा समर्पित गरेर मात्रै लोकतान्त्रिक राज्यको औचित्य पुष्टि गर्न सकिने भन्दै त्यसका लागि राज्यका सम्पूर्ण अंगहरुले नियन्त्रणमुखी होइन, प्रवर्द्धनमुखी र सेवामुखी भएर काम गर्न जरुरी भएको बताए ।

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १५:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार