मन्थली विमानस्थल खचाखच, होटेल र रेस्टुरेन्ट सुनसान

मंगलबार, असोज १६, २०८०

रामेछाप । मन्थली विमानस्थलमा बिहानैदेखि विदेशी पर्यटकहरूको भिडभाड हुन्छ । 
बिहान ६ बजेदेखि जहाजहरू उड्छन् । दिउँसो सोलुखुम्बुको मौसम खराब हुने भएकाले बिहान सबेरैदेखि मध्य दिनसम्म जहाज उड्छन् । विमानस्थल खचाखच हुन्छ । 

रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्ला विमानस्थलमा अहिले पर्यटकीय उडान भइरहेका छन् । शरद ऋतुको उडानअन्तर्गत असोज पहिलो सातादेखि मङ्सिर १५ सम्म मन्थलीबाट लुक्ला उडान हुने गरेको छ । यो सिजनमा दैनिक ३ सयदेखि ४ सयसम्म सगरमाथा क्षेत्र घुम्न जाने विदेशी पर्यटक मन्थलीबाट सोलुखुम्बु आउजाउ गर्छन् 

नागरिक उड्डयन प्राधिकरणले शरद ऋतुको असोज पहिलो सातादेखि मङ्सिर १५ गतेसम्म  र वसन्तऋतुको चैतदेखि जेठसम्म सोलुखुम्बु जाने पर्यटकहरूको भीड हुने भएकाले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको जाम कम गर्न मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्लाको उडान गर्ने गरेको छ । यसले गर्दा मन्थली विमानस्थल व्यस्त हुन्छ । विमानस्थल क्षेत्र विदेशी पर्यटकले भरिन्छ । 

काठमाडौँबाट विभिन्न ट्राभल एजेन्सीले पर्यटकहरूलाई काठमाडौंबाट मन्थली विमानस्थल पुर्याएर सोलुखुम्बु उडाउने र सोलुखुम्बुबाट मन्थली विमानस्थल हुँदै काठमाडौँसम्म ल्याउने गर्दछन् । मन्थली विमानस्थलबाट सोलुखुम्बुका लागि सीता, तारा र समिट एयरले उडान भरिरहेका छन् । 
मन्थली विमानस्थल क्षेत्र बिहानैदेखि विदेशी पर्यटकले खचाखच भरिए पनि सँगै जोडिएको मन्थली बजार भने सुनसान छ । बजारमा न पर्यटक देखिन्छन्, न होटेलहरू नै बुक भएका छन् ।

पर्यटकहरू मन्थली ल्याउने ट्राभल एजेन्सीहरूले मन्थली बजारमा पर्यटकहरूलाई छिर्नै दिँदैनन् । उडान तालिका लिएर एजेन्सीहरूले काठमाडौँ, धुलिखेल, सिन्धुलीको मूलकोट लगायतका स्थानमा ल्याएर पर्यटक राखी सोझै मन्थली विमानस्थल पुर्याएर सोलु उडाउने गर्छन् । 

विमानस्थल सञ्चालनमा आएर दैनिक सयौँ पर्यटकहरू आउजाउ गर्दा पनि त्यसको लाभ मन्थलीका व्यवसायीले लिन पाएका छैनन् । रामेछाप होटेल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष शेखरमान श्रेष्ठ मन्थलीमा दैनिक एक हजार जनासम्म पर्यटकलाई व्यवस्थित बसोबास र खानाको सेवा दिन सकिने बताउँछन् । तर ट्राभल एजेन्सीहरूले मन्थलीमा बस्ने र खाने ठाउँ नै छैन भनेर प्रचार गर्ने गरेको उनको भनाइ छ ।

यही कारणले गर्दा बिहान जहाज चढ्नु पर्ने पर्यटकहरू निन्द्रा माया मारेर रातारात काठमाडौं र धुलिखेलबाट हिँड्नु परेको छ । पर्यटकहरुको बसाइ हुन नपाएपछि मन्थलीका व्यवसायीको भने व्यापार शून्यप्रायः बनेको छ ।

 

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १२:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार