सुनाकोठीलाई चिनाउन आयोजित लाखे जात्रा सकियो(भिडियो)

आइतबार, भदौ ३१, २०८०

ललितपुर । ललितपुर महानगरपालिका वडा नं २६ र २७ को अगुवाई तथा बालकुमारी भवानी गुठीको संयोजनमा शुक्रबार साँझ सुनाकोठीमा आयोजित लाखे जात्रा सम्पन्न भएको छ । 
बाल कुमारी भवानी गुठीको संयोजनमा भएको जात्रामा लाखेको मुकुट भएका १२ वटा समूहले लाखे नाच देखाएको वडा नं २७ का वडाअध्यक्ष कृष्णहरि महर्जनले जानकारी दिनुभयो । 
वडाअध्यक्ष महर्जनका अनुसार लाखे जात्रामा धाःबाजा मंक खल, शान्त भजन मण्डल, श्री बालकुमारी भजन खलः, सरकारी दाफाः, श्री हरी भजन, धिमे मंका खलः, कुलः दाफा, सिकारी धाःवाना, आर्य नाम संगती, श्री गणेश कनाठ धिमे मंक खल, श्री बालकुमारी नगडा भजन तथा श्री सिद्धी गणेश भजन समूहले लाखे नाच देखाएका थिए । 
केहीदिन अघि बालकुमारी मन्दिर सुनाकोठीमा बसेको भजन मण्डलको पहिलो संयुक्त बैठकले सुनाकोठीलाई चिनाउन लाखे जात्रा गर्ने निर्णय गरेअनुरुप कार्यक्रम लाखे जात्रा आयोजना गरिएको वडाअध्यक्ष महर्जनले जानकारी दिनुभयो । 
लाखे जात्रा अवलोकनका लागि सुनाकोठीमा नेवार समुदायसहित अन्य समुदायका मानिसहरूको उल्लेख्य सहभागिता रहेको थियो । 
महानगरको उद्योग तथा संस्कृति संरक्षण समितिको आर्थिक सहयोगमा सुनाकोठीलाई पर्यटकीय दृष्टिकोणबाट चिनाउने उद्देश्यअनुरुप महोत्सव आयोजना गरिएको वडा नं २७ का वडा अध्यक्ष कृष्णहरि महर्जनले जानकारी दिनुभयो । 
उहाँले लाखे जात्रामा सहभागी सबैलाई धन्यवाद दिँदै आगमी दिनमा वडा कार्यालयले सम्पदा तथा संस्कृति संरक्षणका लागि  कार्यक्रम ल्याउने शब्दपाटीलाई बताउनु भयो । 
महोत्सवमा देखाइएको दृश्यहरू सहित लाखे जात्राको प्रवध्र्दन तथा नेवार संस्कृतिलाई चिनाउने बृत्तचित्र पनि निर्माण गरिने छ । 
लाखे जात्रा अवलोनका लागि वडा नं २६ का वडा अध्यक्ष सुरेश महर्जनसहितका जनप्रतिनिधि तथा वडा नं २७ का वडाअध्यक्ष कृष्णहरि मजर्हन, रामदेवी महर्जन, निरोज महर्जन एवम् श्यामकृष्ण महर्जनको पनि सहभागिता रहेको थियो ।
सामान्यत साउन महिनाको गठे मंगलदेखि लाखे नाच सुरु हुने गर्दछ । लाखे नाच हेर्न सर्वसधारण आकर्षित हुने गर्दछन् । लाखे नाच धेरै रोचक हुन्छ । 
डरलाग्दो अनुहार भएको रातो राक्षसको मुखौटा लगाएको, लामो कपाल भएको, च्यातिएको ठूलो मुखबाट निस्केका दुईवटा दाह्रा भएको, तासको जामा (पछाडिपट्टि षट्कोण लेखिएको) र लुगा लगाएको, हातको औंलामा लामा–लामा नङ्ग्रा भएको, कमरमा ठूला–ठूला यंगला र रातो पटुका बाँधेर भजन खलहरूले लाखे देखाएका थिए । 
ठूल–ठूला आँखा, दाह्रा निस्केको डरलाग्दो रूप भएको, कम्मरसम्म लट्किएको लामो लट्टासहितको हेर्दै डर लाग्ने ख्वापा मुखौटा लगाएर बाजाको तालमा नाचिने लाखे नाचको आकर्षण हो ।
कृष्णलाई मार्नका लागि कंसले बहिनी पुतनालाई प्रयोग गरेको र पुतनाको मृत्युको कामना गर्दै राक्षसको स्वरूपमा सजिएर नेवार समुदायमा लाखे नाच नचाउने प्रचलन छ । 
नाग पञ्चमीका दिनबाट सुरू गरिएको पुतनाको मृत्युको कामना ऋषि पञ्चमीका दिन मृत्यु भएको सम्झदै विर्सजन गरिने परम्परा छ । राक्षसको स्वरूपमा बनाइने खप्पर, कालिकाको वस्त्रसहित व्यक्तिलाई सिंगारेर लाखे नचाउने गरिन्छ ।
नेवारबाहेक अन्य समुदायका लागि लाखे नाच नौलो र रोचक हुन्छ । नेवार समुदायले विशेष जात्रा अथवा पर्वको उपलक्ष्यमा लाखेको मुखुन्डो पहिरिएर गरिने परम्परागत नृत्य हो लाखे नाच ।
 

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १४:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार