कुपण्डोलस्थित बागमती किनारमा ५० बोट जापानी साकुरा रोपियो

महानगरमा रोपेका विरुवा सबै जोगाउँछौं : मेयर चिरीबाबु
शनिबार, असार ३०, २०८०

ललितपुर । जापानबाट उच्च शिक्षा पढेर फर्केका नेपाली विद्यार्थीहरूको संगठन ‘जुआन’ स्थापनाको स्वर्ण महोत्सवको अवसरमा शनिबार बिहान ललितपुर महानगरपालिका वडा नं १० कुपण्डोलस्थित बागमती किनारमा रहेको उद्यानमा ५० वटा जापानी विरुवा साकुरा र २० वटा नेपाली आरुका विरुवा रोपिएको छ । 
जुआनको स्वर्ण महोत्सव अर्थात ५० वर्ष पुगेको अवसरमा ५० वटा साकुरा रोपिएको जुआनका पुर्वअध्यक्ष हरेन्द्रविकास वरुवाले जानकारी दिए । 

11689405456.jpg
जापानी फूल साकुरा र चैत वैशाखमा नेपालको डाँडापाखामा फूल्ने पैयुँ एकै प्रजातिको भएको वनस्पतिवीद् एवम् जुआनका पूर्वअध्यक्ष डा.केशव श्रेष्ठ बताउँछन् । वैदिक र आर्युर्वेदिक गुण भएको साकुरालाई पैयुँ, चारु र चेरी पनि भन्ने गरिन्छ । यो ३० फिटसम्मको उचाईको हुने र एक हजारवर्षसम्म बाँच्नसक्ने बताइन्छ ।
नेपालका लागि जापानी राजदूत युताका किकुता तथा ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले संयुक्तरुपमा साकुरा रोपेर कार्यक्रमको सुरुवात गरेका थिए । 
‘जापानको फुकुशिमा शहर जसरी साकुरा र आरुको लागि प्रशिद्ध छ, त्यसैगरी ललितपुर पनि साकुरा र आरुको लागि प्रशिद्ध होस् भन्ने हाम्रो कामना छ’ साकुरा वृक्षारोपण कार्यक्रममा सम्बोधन गर्दै नेपालका लागि जापानी राजदूत युताका किकुताले भने । 

21689405457.jpg
३० वर्षअघि सन् १९९३ मा काठमाडौको थापाथली र ललितपुरको कुपण्डोल जोड्ने बागमती नदीमा जापान सरकारले पुल बनाइदिएको स्मरण गर्दै राजदूतले सोही पुलको नजिकै बागमती किनारमा रोपिएको साकुराले नेपाल र जापानबीचको जनस्तरको सम्बन्धलाई स्थानीय तहमा प्रगाढ पार्ने कुरामा जोड दिए । 
नेपालका तत्कालिन युवराज वीरेन्द्र जापानको टोकियो विश्वविद्यालयको विद्यार्थी छँदा सन् १९६७ मा उनले जापानमा हिमालय साकुरा जातको विरुवा रोपेको पनि राजदूत किकुताले स्मरण गरे ।  

31689405452.jpg
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले शनिबार रोपिएको साकुरा महानगरपालिकाले शतप्रतिशत बचाउने र फुलाउने कुरामा विश्वास दिलाउँदै भने,  ‘ललितपुर महानगरलाई हरियाली बनाउन कुनै कसर बाँकी राख्दिन । महानगरका अन्य खाली ठाउँमा पनि थप साकुराका विरुवा रोपेर सबै विरुवा बचाइँनेछ ।’
त्यस अवसरमा जापानबाट बोटानिकल विषयमा विद्यावारिधी गरेकी अन्नपूर्ण रिसर्च सेन्टरकी प्रमुख डा.विजया पन्तले आफ्नो अनुसन्धान केन्द्रले साकुराको विरुवा उत्पादन गरेको बताउँदै साकुरा वातावरण स्वच्छ र हरियाली राख्न मात्रै नभई औषधि र सौन्दर्यका सामाग्री उत्पादन गर्न पनि उपयोगी विरुवा भएको बताइन् ।  
जुआनका उपाध्यक्ष डा.खड्ग केसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा महासचिव डा.जीवन भट्टराईले पनि बोलेका  थिए । कार्यक्रममा जुआनका निवर्तमान तथा पूर्वअध्यक्ष तथा पदाधिकारीको सहभागिता थियो ।


41689405452.jpg

प्रकाशित मिति: शनिबार, असार ३०, २०८०  १३:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार