अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुको उच्च स्तरीय राजनीतिक भेट 

शनिबार, असार ३०, २०८०

काठमाडौँ । एकदिने नेपाल भ्रमणका लागि शुक्रबार बिहान काठमाडौं ओर्लेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपालका प्रमुख राजनीतिक दलका नेता तथा सरकारी अधिकारीलाई भेटवार्ता गरेका छन् । उनले प्रमुख विपक्षी दलका नेता एवम् एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, पत्नी शोकमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तथा परराष्ट मन्त्री एनपी साउदसँग भेट वार्ता गरेका छन् । एमसीसी कार्यान्वयनसहितका मुद्दा लिएर एक दिने नेपाल भ्रमणमा शुक्रबार बिहान काठमाडौं उत्रिएका थिए ।  दक्षिण एशिया क्षेत्रमा आफ्नो नियमित कूटनीतिक संलग्नताअन्तर्गत उनी एक दिने नेपाल भ्रमणका लागि आज आइपुगेका थिए । भेटवार्ताका क्रममा सहायक विदेशमन्त्री लुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटेर उनकी श्रीमती सीता दाहालको निधनप्रति समवेदना व्यक्त गरे ।
देउवासँगको भेटमा उनले लोकतन्त्रका लागि शिखर सम्मेलनमा नेपालले हासिल गरेका उपलब्धि, नेपालमा मानवअधिकार संरक्षणको पछिल्लो समय सुदृढीकरण र आगामी अगष्टमा कार्यान्वयन सुरु हुने अमेरिकी अनुदान सहायता परियोजना (एमसीसी) कम्प्याक्टको हालसम्मको प्रगतिका बारेमा छलफल गरेका थिए ।
सो परियोजनाले आगामी पाँच वर्षभित्र अत्यावश्यक विद्युतीय पूर्वाधार उपलब्ध गराउने, सडक मर्मत सम्भारको क्षमतामा सुधार गर्ने र हजारौं रोजगारी सिर्जना गर्नेछ ।
उच्चस्तरीय कूटनीतिक संलग्नताले द्विपक्षीय सम्बन्ध थप सुदृढ हुने, नेपाल–अमेरिकाको क्षेत्रीय साझेदारीलाई सुदृढ गर्ने, सार्वभौमसत्ता सम्पन्न, समृद्ध र प्रजातान्त्रिक संसारलाई अगाडि बढाउने अपेक्षा लिइएको छ । आफ्नो क्षेत्रीय भ्रमणका क्रममा सहायक विदेशमन्त्री लुले भारत र बंगलादेशको भ्रमण गरेका थिए ।

प्रकाशित मिति: शनिबार, असार ३०, २०८०  ०८:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार