साउदी अरबमा गोली चल्दा नेपाली सुरक्षागार्डको मृत्यु

बिहीबार, असार १४, २०८०

काठमाडौं । साउदी अरबमा भएको बन्दुक आक्रमणमा एक नेपाली सुरक्षागार्डको मृत्यु भएको विवरण प्राप्त भएको छ । जेद्दास्थित अमेरिकी वाणिज्य दूतावासको भवनबाहिर गोली हानाहान हुँदा सन्दिग्ध आक्रमणकारीको पनि मृत्यु भएको बताइएको छ । अधिकारीहरूका अनुसार बन्दुक बोकेका एक व्यक्ति कारमा आएका थिए ।
अमेरिकी विदेश मन्त्रालयले घटनाको पुष्टि गर्दै आफ्ना नागरिकलाई भने केही नभएको जनाएको छ । घटनाबारे साउदी निकायहरूले अनुसन्धान सुरु गरेका छन् ।  नेपालीहरू कुन कामका लागि कुन देश धेरै जाने गरेका छन् ।
रोएटर्स समाचार संस्थाले साउदी अरबको सरकारी समाचारसंस्था एसपीएलाई उद्धृत गर्दै अमेरिकी वाणिज्य दूतावासमा कार्यरत नेपाली सुरक्षागार्ड उक्त घटनामा सुरुमा घाइते भएका र त्यसको केही समयमा उनको मृत्यु भएको जनाएको छ ।
‘जेद्दामा अमेरिकी वाणिज्य दूतावास भवनबाहिर एउटा कारमा आएका एक व्यक्ति रोकिए र हातमा बन्दुक बोकेर बाहिर निस्किए । सुरक्षा अधिकारीहरूले आवश्यकतानुरूप उनलाई रोक्न पहल गरे अनि गोली हानाहान हुँदा उनको मृत्यु भयो’, मक्का क्षेत्रका प्रहरी प्रवक्ताले बताए ।

नेपाली अधिकारीहरू के भन्छन् ?
जेद्दास्थित नेपालको महावाणिज्य दूतावासका अनुसार उक्त घटनाबारे हालसम्म आधिकारिक रूपमा सूचना प्राप्त हुन सकेको छैन । ‘बुधवार साँझे ६ः४५ मिनेट घटना भएको भनिएको छ । विस्तृत विवरण केही पनि छैन । नेपाली सुरक्षागार्ड मात्र भनिएको छ । परिचय, ठेगाना केही पनि खुलाइएको छैन’, जेद्दास्थित नेपालको महावाणिज्य दूतावासका अधिकारी भुवन पौडेलले भने ।
इदका कारण साउदी विदेश मन्त्रालय बन्द रहेकाले आधिकारिक रूपमा सूचना प्राप्त गर्न समय लाग्ने अवस्था देखिएको छ ।
नेपाल फर्किएका कामदारलाई फेरि दक्षिण कोरिया जाने बाटो फुकाउन ‘कूटनीतिक पहल’

कानुनले दिँदैन तर नेपाली युवाहरू किन र कसरी रुसी सेनामा भर्ती भइरहेका छन् ।
अमेरिकी वाणिज्य दूतावासमा कार्यरत सुरक्षागार्ड रहेकाले सनाखत गर्न कठिन भने नहुने पौडेल बताउँछन् ।
‘उहाँको परिचय अमेरिकी वाणिज्यमा काम गर्ने भनेपछि सबै विस्तृत विवरण भइहाल्छ। हामीलाई आधिकारिक विवरण अब विदेश मन्त्रालयबाट आउँछ’, उनले भने ।
पौडेलका अनुसार नेपाली कामदारहरूका लागि साउदी अरब तुलनात्मक रूपमा सुरक्षित श्रमगन्तव्य मानिन्छ ।
तर तलब दिने वा काम छाड्दा सहज रूपमा साउदी अरबबाट निस्किने अवस्था हुँदा भने कम्पनीहरूले केही समस्या गर्ने गरेको र बेला बखत त्यहाँको श्रम मन्त्रालयसँग समन्वय गर्नुपर्ने परिस्थिति उत्पन्न हुने गरेको उनी बताउँछन् । विगतमा पनि अमेरिकी वाणिज्य दूतावासमा आक्रमण वा आक्रमणका प्रयासहरू भएका थिए ।
रोएटर्सका अनुसार सन् २०१६ मा उक्त भवननजिकै भएको एउटा बम विस्फोटनमा दुईजना आत्मघाती आक्रमणकारीहरूको ज्यान गएको थियो भने दुई जना घाइते भएका थिए । सन् २००४ मा बम र बन्दुक बोकेका पाँच जनाले उक्त भवनभित्र धावा बोलेका थिए। त्यस क्रममा बाहिर चार साउदी सुरक्षाकर्मी र भित्र चार कर्मचारीको मृत्यु भएको थियो । रोएटर्सका अनुसार तीन आक्रमणकारीको पनि ज्यान गएको थिए भने दुई जना पक्राउ परेका थिए ।
उक्त घटनापछि साउदी अरबमा विभिन्न देशसँग सम्बन्धित कार्यालयहरू भएका स्थानमा पटकपटक घातक आक्रमणहरू भए । त्यतिबेला ती आक्रमणहरू अल(कायदाले गराएको ठानिएको थियो ।
साउदी अरब : नेपालीका लागि लोकप्रिय गन्तव्य
वैदेशिक रोजगारीका लागि नेपालीहरू सबैभन्दा धेरै खाडी मुलुकहरू जाने गरेको सरकारी तथ्याङ्कले देखाउँछ ।
खाडी राष्ट्रमध्येमा पनि म्यानपावर कम्पनीमार्फत् नेपालीहरू सबैभन्दा बढी साउदी अरब जाने गरेको पाइन्छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयार पारेको ‘नेपाल लेबर माइग्रेशन रिपोर्ट २०२२’का अनुसार सन् २०२१–२२ मा साउदी अरबमा काम गर्नका लागि १,२५,३६८ जनाको श्रमस्वीकृत वा श्रमस्वीकृति नवीकरण भएको थियो  । उक्त सङ्ख्यामा जम्मा २०८ जना महिला छन् ।
कोभिड–१९ महामारीका कारण सन् २०२०–२१ मा साउदी अरब जानका लागि श्रमस्वीकृति लिने वा नवीकरण गर्न आउनेको सङ्ख्या २३,३१९ रहेको प्रतिवेदनमा उल्लेख छ । साउदी अरबपछि कतार, यूएई, कुवेत र मलेशिया नेपालका लागि प्रमुख श्रम गन्तव्यमा पर्छन् । त्यसपछि म्यानपावर कम्पनीमार्फत् धेरै नेपाली कामदारहरू जाने देशमा बहराइन, रोमानिया, साइप्रस, ओमान र क्रोएशिया पर्छन् ।

साउदी अरबमा धेरै नेपालीहरू मजदुरका रूपमा काम गर्छन् । त्यसैगरी कारखानाका कामदार, सरसफाइ गर्ने कामदार, घरेलु कामदार, निर्माण क्षेत्रका कामदार र सुरक्षागार्डका रूपमा पनि धेरै नेपाली साउदी अरबसहित विभिन्न खाडी मुलुकमा काम गर्छन् । प्रतिवेदनले साउदी अरब, कतार र कुवेत जाने नेपालीहरूले भने प्रायः मजदुरी गर्ने गरेको उल्लेख छ। त्यसबाहेक त्यहाँ नेपालीहरूले सरसफाइ र लुगा धुने काम गर्ने गर्छन् । म्यानपावरमार्फत् नभई व्यक्तिगत प्रयासमा वेटर र कुकको काम गर्न पनि गएको पाइन्छ । यद्यपि त्यो सङ्ख्या विदेश जाने अदक्ष नेपाली कामदारको तुलनामा न्यून रहेको जानकारहरू बताउँछन् । नेपाल, भारत र अन्य देशमा प्रहरी वा सेनामा काम गरेका नेपालीहरू विदेशी सुरक्षा कन्ट्र्याक्टरमार्फत् विभिन्न देशका कूटनीतिक नियोगहरूमा सुरक्षागार्डको काममा पनि जाने गरेको पाइन्छ ।
श्रमस्वीकृति दिँदा भेडाबाख्रा चराउने, भान्सामा काम गर्ने, घरेलु कामदार वा हतियार चलाउनुपर्ने सुरक्षागार्डसहित जुनसुकै पेसाका लागि नेपालमा एउटै मापदण्डलाई आधार मानिने हुँदा यस्ता किसिमका घटनामा नेपालीहरू पर्ने गरेको जानकारहरू बताउँछन् ।
‘हतियार चलाउनुपर्ने, सुरक्षागार्ड भएर बस्ने वहाँहरूको बेग्लै मापदण्ड र स्वीकृतिको प्रक्रिया हुनुपर्ने हो’, वैदेशिक रोजगारविज्ञ गणेश गुरुङ गुरुङले भने । साउदी अरबमा जस्तै धेरै घटना इराक र अफगानिस्तानमा विगतमा घटेको उनी बताउँछन् । वैदेशिक रोजगारमा एजेन्ट वा व्यक्तिगत स्वीकृति लिएर जाँदा सुरक्षा संयन्त्र वा मापदण्डअन्तर्गत रहेर नपठाइने हुँदा ज्यादै खतराको स्थितिमा पठाइँदा यस्तो घटना दोहोरिन सक्ने उनी ठान्छन् । जानकारहरूका अनुसार अन्तर्राष्ट्रिय श्रम सङ्गठनले विभिन्न पेसाको वर्ग छुट्ट्याएको छ। त्यो वर्गअनुसार मापदण्ड तयार पार्नुपर्ने र पेसागत सुरक्षामा ध्यान दिइनुपर्ने गुरुङ बताउँछन् ।
‘‘सुरक्षाको काममा जाने खासगरी हतियार चलाउने मान्छेको बेग्लै मापदण्ड र स्वीकृत हुनुपर्छ,’’ गुरुङ भन्छन्, ‘‘हामीले तलब र सुविधा पुग्छ भने स्वीकृति दिन्छौँ। काममा जाने हाम्रा युवा केमा सुरक्षित छन्, केमा छैनन् त्यो हामीले विश्लेषण गर्न सकेका छैनौँ ।’’

कति नेपालीले ज्यान गुमाएका छन् ?
सन् २०१९्–२० देखि सन् २०२१–२२ मा मलेशियापछि सबैभन्दा बढी साउदी अरबमा नेपाली श्रमिकहरूले ज्यान गुमाएको उक्त प्रतिवेदनले देखाएको छ । उक्त अवधिमा मलेशियामा कुल ४८० नेपालीले ज्यान गुमाएका थिए भने साउदी अरबमा २९७ जनाको मृत्यु भएको थियो । साउदी अरबमा उक्त अवधिमा २४२ जनाको प्राकृतिक रूपमा मृत्यु भएको, १२९ जना घातक सडक दुर्घटनामा परेर र ७८ जनाले आत्महत्या गरेको प्रतिवेदनमा उल्लेख छ । त्यसबाहेक कार्यस्थलमा हुने दुर्घटना, मुटुसम्बन्धी समस्या र कोभिडका कारण उक्त अवधिमा नेपाली श्रमिकले ज्यान गुमाएको देखिन्छ ।

प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  २१:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार