ललितले दिलाए नेपाललाई छैटौं सफलता

मंगलबार, असार ५, २०८०

काठमाडौं ।  नेपालका स्पिनर ललितनारायण राजवंशीले आइसिसी एकदिवसीय विश्वकप छनोटमा अमेरिकाविरुद्ध छैटौं सफलता दिलाएका छन् । जिम्बावेको ताकशिंगा स्पोट्र्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिका २७.४ ओभरमा ६ विकेट गुमाउँदै ९४ रन बनाएको छ ।
ललितले सुशान्त मोदानीलाई ४२ रनमा बोल्ड आउट गरे । स्वीप खेलेका मोदानी मिस भएपछि बोल्ड हुन पुगेका थिए । उनले ७१ बलमा ३ चौका र १ छक्का प्रहार गरे । गजानन्द ४१ बलमा २ चौका र १ छक्कासहित २६ रनमा आउट भए ।
उनी स्पिनर दीपेन्द्रसिंह ऐरीको २२ औं ओभरको तेस्रो बलमा फस्ट स्लिपमा आरिफ शेखबाट उत्कृष्ट क्याच आउट हुन पुगेका थिए । आउट साइड एज लागेको बल विकेटकिपर आसिफ शेखको खुट्टामा लागेर आरिफ शेखले क्याच लिएका थिए ।
एक समय १८÷४ को दयनीय अवस्थामा पुगेको अमेरिकालाई पाँचौं विकेटका लागि सुशान्त मोदानी र गजानन्दसिंहले ७३ बलमा ४७ रनको साझेदारी गर्दै पूनरागमन गराएका थिए ।
त्यसपछि नेपालका तीव्र गतिका बलर करण केसीले चार विकेट लिँदै अमेरिकालाई दयनीय अवस्थामा पुर्याएका थिए । करणले ७ ओभरमा ३ मेडनसहित ११ रन खर्चेर ४ विकेट लिएका छन् ।

अमेरिकाविरुद्धको खेलमा नेपालको कसिलो बलिङ 
आइसिसी एकदिवसीय विश्वकप छनोट, २०२३ अन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालले कसिलो बलिङ गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले दोस्रो ओभरमै दुई विकेट गुमाएको थियो । 
जिम्बावेको ताकाशिङ्गा स्पोर्ट्स क्लबमा भएको खेलको दोस्रो ओभरमा करन केसीले लगातार दुई विकेट लिएका हुन् । केसीले ओपनर स्टेभन टेलर र सेइतेजा मुकम्मलाको विकेट लिए ।
जारी प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल जिम्बावेसँग आठ विकेटले पराजित भएको थियो । पहिलो खेलमा अमेरिका वेस्टइन्डिजसँग ३९ रनले पराजित भएको थियो । नेपाल र अमेरिकाबीच हालसम्म भएका छ एकदिवसीय खेलमा नेपालले तीन र अमेरिका दुई खेलमा विजयी भएका थिए भने एउटा खेल बराबरी भएको थियो ।
एकदिवसीय विश्वकप छनोटमा नेपालसहित विश्वका १० राष्ट्रको सहभागिता छ ।  समूह ‘ए’मा  नेपालसहित जिम्बावे, वेस्टइन्डिज, नेदरल्यान्ड्स र अमेरिका छन् भने समूह ‘बी’ मा श्रीलङ्का, आयरल्यान्ड, ओमान, संयुक्त अरब इमिरेट्स (युएई) र स्कटल्यान्ड छन् । 
सहभागी दुई समूहको लिग खेलपछि सुपर सिक्स हुनेछ । सुपर सिक्समा दुवै समूहका शीर्ष तीन–तीन टोलीले स्थान बनाउनेछन् । सुपर सिक्सबाट शीर्ष दुई स्थानभित्र रहने टोलीले फाइनल खेल्दै आगामी अक्टोबर–नोभेम्बरमा भारतमा आयोजना हुने आइसिसी एकदिवसी विश्वकप क्रिकेट खेल्न पाउनेछन् ।
नेपालको प्लेइङ ११ मा कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की र ललित राजवंशी छन् ।
 

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  १५:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार