समाजवादी मोर्चा घोषणामा 'वाम एकता'को चर्चा

मंगलबार, असार ५, २०८०

काठमाडौं । सङ्घीय संसद्‍मा रहेका तीन दल र अन्य एक दल मिलेर समाजवादी मोर्चा गठन गरेका छन् ।

संसद्‍मा प्रतिनिधित्व गरिरहेका नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादी पार्टीसहित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नयाँ मोर्चा गठन गरेका हुन् ।

यो सँगै मोर्चाको सङ्घीय संसद्‍मा बलियो उपस्थिति देखिने भएको छ । प्रतिनिधिसभामा माओवादी केन्द्रको ३२ सीट छ । जसपाको १२ र एकीकृत समाजवादीको १० सीट जोड्दा कुल सङ्ख्या ५४ पुगेको छ । घोषणा सभामा बोल्ने नेताहरूले मुलुकमा 'वाम एकता' आवश्यक भएकाले मोर्चाबन्दी गरिएको र यो दीर्घकालीन हुने दाबी गरेका छन् । साथै सङ्घीय समाजवादी गणतन्त्र र धर्म निरपेक्षताका पक्षमा तथा वैदेशिक हस्तक्षेपको विरूद्ध उभिने वाचा पनि उनीहरूले गरेका छन् ।

मोर्चामा आबद्ध तीन वटा दल हाल सरकारमा सहभागी छन् भने विगतमा सशस्त्र सङ्घर्षको उदघोष गरेको विप्लव नेतृत्वको माओवादी पनि यसमा समेटिएको छ ।

मोर्चाको नेतृत्व शीर्ष नेताहरूले आलोपालो गर्ने भनिएको छ । त्यसमा आबद्ध दलहरूको स्वायत्त अस्तित्व रहने भए पनि उनीहरूले मोर्चाको नीति, कार्यक्रम र उद्देश्यविपरीत गतिविधि नगर्ने भनिएको छ । 

हस्ताक्षर

वाम एकताको चर्चा

नयाँ समाजवादी मोर्चा घोषणा कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अन्य वामपन्थी दलहरूलाई पनि उक्त अभियानमा सहभागी हुन आह्वान गरेका छन् ।

विगतमा एमालेसँग आफ्नो दलले एकीकरण गर्दा नेपाल कम्युनिस्ट पार्टी गठन गरेको प्रसङ्ग सम्झिँदै उनले त्यसबाट सिकेको अनुभवका आधारमा मोर्चा गठन गरिएको बताए ।

नेपाली काँग्रेससहितका दलको समर्थनमा सत्ता गठबन्धनको नेतृत्व गरिरहेका प्रचण्डले नयाँ गठबन्धन कुनै अन्य समूहप्रति लक्षित नभएको स्पष्टीकरण समेत दिए ।

प्रधानमन्त्री प्रचण्डले प्रतिगमनविरुद्ध लडाइँ छेड्ने उद्देश्य लिएको समाजवादी मोर्चाले मुलुकमा नयाँ लहर ल्याउने बताए ।

उनले विगतमा एमालेसँग आफ्नो दलले गरेको एकतालाई सम्झँदै त्यसैबाट आत्मसमीक्षा गरेर मोर्चा बनाउने निष्कर्ष निकालेको बताए ।

उनले भने, “हामीले कहाँ त्रुटि गर्‍यौ, एक चोटि आत्मसमीक्षा गरौँ। शायद हामीले त्यस बेला पार्टी एकता गर्ने हतारो पो गरेछौँ कि ? शायद त्यति बेला नै हामीले समाजवादी मोर्चा भनेर मोर्चाबाट काम सुरु गरेर एकतामा पुग्ने उद्देश्य राखेको भए शायद हामी सफल हुन्थ्यौ कि ?”

उनले समाजवादी मोर्चा विगतको अनुभवको परिणाम भएको बताए र त्यसमा इच्छुक भएको खण्डमा अन्य वामपन्थी दलहरू पनि जोडिन सक्ने बताए ।

प्रचण्डको भनाइ थियो, “हिजो हतारमा एकता गरेर व्यवहारमा त्यसलाई सफल पार्न नसकेका सबै पार्टी र नेताहरूलाई पनि [भन्न चाहन्छु] हामी मोर्चाको बाटो गरी जाऔँ, शायद त्यसो गर्दा राष्ट्र र जनताको आवश्यकता र हितलाई हामीले सम्बोधन गर्न सक्छौँ ।”

उनले नेपालमा राजतन्त्र अन्त्यको लागि महत्त्वपूर्ण भूमिका खेलेको १२ बुँदे सहमति र त्यसपछि भएको विस्तृत शान्ति सम्झौतामा आबद्ध सबै दलहरू उक्त मोर्चामा सहभागी हुन सक्ने बताए ।

उनले थपे, “अन्य वामपन्थी पार्टीहरू, परिवर्तन र प्रगतिशील र परिवर्तनका पक्षधर र हिजो १२ बुँदे समझदारी हुँदै विस्तृत शान्ति सम्झौतामा सहभागी सबै राजनीतिक दल र शक्तिहरू सबैलाई…. आफ्नो विगतलाई हेरेर आत्म समीक्षा गरौँ भनेर आग्रह गर्न चाहन्छु ।”

उनले नयाँ मोर्चा परिवर्तनको विपक्षमा उभिएकाहरू विरुद्धको लडाइँ भएको बताए ।

 

samajbadi1687157790.jpgअरूले के भने ?

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले हाल बनेको मोर्चामा कुनै सङ्कीर्णता नरहेको बताए । कुनै पार्टीलाई घुर्क्याउन मोर्चा नबनाइएको भन्दै उनले भने, “यो कसैलाई तर्साउन पनि बनेको होइन। कसैको मुकाबिला गर्न पनि बनेको होइन। हामीले सकारात्मक सोच राखेर समाजवादी शक्तिको प्रभाव विस्तार गर्न यसलाई गठन गरेका हौँ।”

उनले विभिन्न जनआन्दोलनको समयमा यस्ता किसिमका मोर्चाबन्दी गरेर मुलुकमा महत्त्वपूर्ण राजनीतिक परिवर्तन गराउन आफूहरूले भूमिका खेलेको बताए ।

सत्तामा रहेका र विपक्षमा रहेका दुवै शक्ति हाल मोर्चामा रहेको भन्दै उनले ‘छुटेकाहरूलाई पनि स्वागत गर्दै हातेमालो गर्न’ आफूहरू तयार रहेको बताए ।

उनले परिवर्तनको विपक्षमा उभिन चाहनेहरू विरुद्धमात्रै आफूहरूले मुकाबिला गर्ने बताए । अहिले मोर्चामा आबद्ध दलहरू एकअर्कामा विलय नहुने उल्लेख गर्दै उनले सहकार्य गर्दै  अघि बढ्ने बताए । दुई तिहाइको बहुमत हुँदा पनि विगतमा सरकारले काम गर्न नसक्दा मुलुकमा कैयौँ ‘विकराल विकृति’ भित्रिएको भन्दै पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनालले उक्त अवस्था विडम्बनापूर्ण भएको बताए । उनले भने, “राष्ट्रियता झन् ठूलो सङ्कटमा छ । हाम्रै देशको भूभाग हामीले आफ्नो भन्न पाइरहेका छैनौँ। विदेशी सेनाहरू हाम्रो भूभागमा बसिरहेको छन् । सिमाना अङ्कित छैन ।” देशका प्रगतिशील शक्तिहरू एक ठाउँमा नउभिउन्जेल आमूल परिवर्तन सम्भव नभएको भन्दै त्यसलाई पहिलो पाइलाका रूपमा उल्लेख गरे । उक्त मोर्चा सम्पूर्ण वामपन्थीहरूलाई एक ठाउँमा ल्याउने मञ्च बन्नुपर्ने उल्लेख गर्दै उनले त्यो सत्ता टिकाउने माध्यम मात्रै बन्न नहुने बताए । खनालले देशका सबै मार्क्सवादी-लेनीनवादी र वामपन्थी दलहरूलाई एक ठाउँमा उभिन आह्वान गरे । उक्त घोषणा समारोहमा बोल्दै नेता नेत्रविक्रम चन्द ‘विप्लव’ ले आफूहरूले राष्ट्रिय स्वधीनताको मुद्दामा कुनै सम्झौता नगर्ने बताए । जसपा अध्यक्ष यादवले मोर्चाको उद्देश्य गणतन्त्र र सङ्घीयताजस्ता महत्त्वपूर्ण हकहरूको संस्थागत गर्नु भएको बताए । उनले ‘प्रतिगामी शक्ति र तिनका मतियारहरूले’ ती उपलब्धिलाई उल्टाउने प्रयास गरिरहेको आरोप लगाए । यादवले नागरिकताको सवालमा देशभित्र विभेद रहेको भन्दै त्यसलाई सम्बोधन गरिनुपर्ने बताए ।

किन आवश्यक पर्‍यो मोर्चा?

प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको ८८ अनि दोस्रो शक्तिमा रहेको प्रमुख प्रतिपक्षी नेकपा एमालेको ७९ सीट छ । मोर्चामा वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान पार्टीलाई पनि सहभागी गराउने गरी पहलहरू अघि बढाइएको थियो । गौतम हाल राष्ट्रियसभा सदस्य छन् । विगतमा नेकपा एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी सर्वोच्च अदालतको फैसलासँगै भङ्ग भएपछि ती दुई पार्टी पुनः दुई बनेका थिए। लगत्तै एमालेबाट अलग्गिएर माधवकुमार नेपालले एकीकृत समाजवादी पार्टी गठन गरेका थिए । मोर्चा गठनको पहलमा अग्रसरता लिएका नेताहरूका अनुसार एक वर्षअघि देखि नै समाजवादी मोर्चा गठन गर्ने पहल थालिएको थियो । विगतमा नेता माधवकुमार नेपाल, उपेन्द्र यादव र पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले मोर्चा बनाउने प्रयासहरू गरेका विवरण आएका थिए । समाजवादी मोर्चा गठन भएसँगै त्यसमा आबद्ध पार्टीहरूबीच एकता हुने गरी गृहकार्य भइरहेको कतिपयले चर्चा गरिरहेका छन् । तर मोर्चा गठनका लागि बनाइएको कार्यदलमा रहेका जसपा नेता राजेन्द्र श्रेष्ठ भने हालसम्म त्यस्तो परिकल्पना नगरिएको बताउँछन् । ‘‘समाजवादी मोर्चामा हामीले वैचारिक राजनीतिक रूपमा हाम्रा प्रतिबद्धता के के छन्, नीतिगत सवालहरूलाई १५ बुँदामा क्लियर (स्पष्ट) गरेर मोर्चाको सङ्गठनात्मक ढाँचा कस्तो हुन्छ भन्ने एउटा मोटो समझदारी गरेका छौँ,’’ प्रतिक्रिया जनाउँदै श्रेष्ठले भने ।

मोर्चाले त्यसमा आधारित रहेर केही सैद्धान्तिक मान्यताहरू पनि तय गरेको छ ।

सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता, लोकतान्त्रिक मूल्य मान्यतामा आधारित भएको नेपाली विशेषताको समाजवाद स्थापना गर्ने मोर्चाको उद्देश्य छ । ‘‘यो समाजवाद एकात्मक राज्यको जस्तो नभई सङ्घीय शासन प्रणालीमै आधारित हुने छ र वर्तमान सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थालाई रक्षा, शुद्धिकरण गर्दै अग्रसरता लिने छौँ,’’ श्रेष्ठले भने । मोर्चाले विस्तृत नीति र कार्यक्रम आगामी दिनहरूमा घोषणा गर्ने जनाएको छ ।

नेपालको निर्वाचन प्रणाली र शासकीय स्वरूपबीच रहेको अन्तर्विरोधका कारण संयुक्त सरकार बन्ने भएकोले मोर्चा गठनको आवश्यकता दलहरूले महसुस गरेको बताउँछन् ।

के भन्छन् विश्लेषक ?

नेपालमा विगतमा पनि खास गरी वामपन्थी झुकाव भएका दलहरूबीच पार्टी एकीकरण र गठबन्धन बन्ने गरेका छन् ।

वि.सं २०४६ सालमै संयुक्त वाम मोर्चा गठन भएको भए पनि पछि उक्त मोर्चामा समावेश घटकहरूले आआफ्नै बाटो तय गरेका थिए। त्यस पछि पनि कैयौँ पटक खास गरी वामपन्थी दहरूबीच सहमति हुने एकठाउँमा आउने र केही समयपछि भाँडिएका दृष्टान्त छन् ।

नेपालमा कम्युनिस्ट आन्दोलनले गति लिएको ६९ वर्षपछि विसं २०७५ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी गठन भएको थियो ।

तर पार्टीमा चर्किएको विवादकाबीच सर्वोच्च अदालतको फैसलासँगै त्यो सहकार्य २०७७मा टुङ्गिन पुग्यो ।

दलहरूको सङ्ख्या धेरै हुँदा बहुदलीय व्यवस्थामा मत बाँडिने र जनादेश पनि खण्डित हुने अवस्था रहने हुँदा पार्टी एकीकरण हुने हिसाब भए हाल गठन भएको मोर्चा सकारात्मक पहल रहेको विश्लेषकहरू बताउँछन् । 

राजनीतिशास्त्रका प्राध्यापक कृष्ण पोखरेल सङ्घीय संसद्‌मा नेपाली कांग्रेस र एमालेपछिको वरीयतामा आउन सके थप निर्णायक शक्ति बन्न सकिन्छ भन्ने आकलनका साथ मोर्चा गठन भएको हुन सक्ने ठान्छन् ।

‘‘अङ्कगणितबाहेक राजनीतिक स्वार्थ पनि योसँग जोडिएको छ,’’ पोखरेलले भने ।

विश्लेषकहरूका अनुसार मोर्चामा सहभागी एमालेबाट छुट्टिएको एकीकृत समाजवादीलाई आफ्नो शक्ति जोगाइराख्ने र जसपालाई मधेसमै जनमत पार्टीको चुनौती रहेको देखिन्छ। संसद्को तेस्रो ठूलो दल माओवादी पनि पछिल्ला वर्षहरूमा तुलनात्मक रूपमा कमजोर हुँदै गएको निर्वाचन परिणामले देखाएका छन् ।

सत्ता बाहिर रहेका दलहरू माझ पनि निकै चुनौती रहेका अवस्थामा मोर्चाको राजनीतिबाट अघि बढ्दा उल्लेख शक्ति बन्न सकिने र उनीहरूले भोगिरहेका चुनौतीबाट पार पाउन सकिने स्वार्थ सबैसँग जोडिएको पोखरेलको बुझाइ छ । 

दिगो बन्ला मोर्चा ?

यद्यपि विगतका अनुभव र पार्टीहरूका आ आफ्ना स्वार्थका कारण र विगतका अनुभवका आधारमा मोर्चाको निरन्तरताबारे प्रश्न गर्न भने प्रशस्त ठाउँ छ ।

मोर्चाले स्थायित्व प्राप्त गर्न सके वा पार्टी एकीकरणसम्मको बाटो तय गर्न सके आगामी निर्वाचनमा मतदातालाई आकर्षित गर्न सकिने बताइएको भए पनि आ आफ्ना स्वार्थका कारण सहकार्य लामो समयसम्म टिक्ने कुराको अपेक्षा गर्न सकिन्छ? भन्ने प्रश्नमा पोखरेल भन्छन्, ‘‘विगतमा भोगेका तीतो अनुभवबाट यदि कुनै पाठ सिकेका छन् भने, शक्ति बाँडफाँड गर्न सक्ने लचिलोपन रह्यो भने सकारात्मक निष्कर्ष दिन सक्छ । त्यसैले अहिले नै काम लाग्दैन भन्ने निष्कर्ष वा एकदमै वाहवाह हुन्छ भन्ने ठाउँमा जानु पनि एकदमै हतार हुन्छ ।’

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  ०५:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार