बाढीपहिरो प्रभावितलाई 'तत्काल राहत र अस्थायी पुनर्निर्माण' सरकारको प्राथमिकता

मंगलबार, असार ५, २०८०

काठमाडौं ।  पूर्वी पहाडका तीन जिल्लामा बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भएपछि राहत र अस्थायी पुनर्निर्माणका काममा आफूहरू केन्द्रित भएका सरकारी अधिकारीहरूले बताएका छन् । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता धुव्रबहादुर खड्काले पछिल्लो विपद्का कारण सङ्खुवासभा, ताप्लेजुङ र पाँचथरमा ३७ वटा घरमा पूर्ण क्षति र ६१ वटा घरमा आंशिक क्षति भएको बताए । उनका अनुसार जोखिममा रहेका धेरै जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

बाढी तथा पहिरोका कारण आठ वटा गोठ र २३ वटा पुल बगेका छन् भने जलविद्युत् परियोजनाका १० वटा पूर्वाधारमा क्षति पुगेको छ । खड्काले पीडितहरूलाई गृह प्रशासनले तत्कालै १५ हजार रुपैयाँ प्रति परिवार राहत दिने भन्दै रेडक्रसमार्फत् पाल र भाँडाकुँडा दिने बन्दोबस्त मिलाइएको बताए । त्यसबाहेक प्रति मृतकका परिवारलाई दुई लाख रुपियाँ दिने र अस्थायी आवास निर्माणका लागि ५० हजार रुपैयाँ दिने व्यवस्था छ । विपद्का कारण घर पूर्ण रूपमा क्षति भएको अवस्थामा पहाडमा चार लाख रुपैयाँ र तराईमा तीन लाख रुपैयाँ दिइने गृह मन्त्रालयले जनाएको छ । प्राधिकरणका प्रवक्ता खड्काले मेची राजमार्गअन्तर्गत हेवा खोलाको भत्किएको पूल भएको ठाउँमा बेलीब्रिज राख्ने काम १० दिनभित्र सकिसक्ने गरी काम सुरु गरिएको बताए । उनले इटहरीबाट उक्त ठाउँका लागि बेलीब्रिज पठाइएको जानकारी दिए ।

प्रधानमन्त्रीको भ्रमण कस्तो रह्यो ?

पूर्वी नेपालका विभिन्न जिल्लामा बाढी तथा पहिरोमा परेर कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै २७ जना हराइरहेको नेपाल प्रहरीले जनाएको छ । 

तुम्लिङटार विमानस्थलमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'

कोशी प्रदेशका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक ऋषिराम कँडेलका अनुसार पाँचथर र ताप्लेजुङमा तीन-तीन जना एवं भोजपुर र सङ्खुवासभामा एक-एक जनाको शव फेला परेको छ । प्रभावित जिल्ला तथा स्थानीय तहका अधिकारीहरूले बाढीपहिरोले सडक तथा पुल जस्ता पूर्वाधारमा क्षति पुर्‍याएको छ । सङ्खुवासभामा सर्वाधिक २१ जना सम्पर्कविहीन भएको नेपाल प्रहरीले जनाएको छ । हराएका व्यक्तिको खोजी र उद्धारका लागि प्रयास भइरहेको अधिकारीहरूले बताएका छन् । प्रभावित क्षेत्रको निरीक्षण गर्ने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सोमवार सङ्खुवासभाको भ्रमण गरेका छन् । तुम्लिङ्टार विमानस्थलमा सञ्चारकर्मीहरूसित सङ्क्षिप्त कुराकानी गर्दै उनले बाढीपहिरोबाट प्रभावित र विस्थापित मानिसरूलाई पुनःस्थापना गर्ने, घरबारविहीनको तत्काल स्थानान्तरण र आवासको व्यवस्था मिलाइने बताए । उनले बाढीले बगाएका पक्की पुलमा तत्कालै ‘बेलिब्रिज’ राखेर आवतजावतलाई सहज बनाइने पनि बताए ।

प्रधानमन्त्रीसँगै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, सहरी विकासमन्त्री सीता गुरुङ, सांसदहरू योगेश भट्टराई, वसन्त नेम्वाङ र दीपक खड्का तथा कोशी प्रदेशसभा सदस्य राजेन्द्र कार्की पनि गएको राससले जनाएको छ। नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा पनि गएका थिए ।

मनसुन सुरु भएको पहिलो सातामै पूर्वी नेपालमा अविरल वर्षका कारण जनधनको ठूलो क्षति भएको हो ।

Badi1687159309.jpg

कहाँ कस्तो क्षति भयो?  

नेपाल प्रहरीको कोशी प्रदेश कार्यालयका अनुसार मृत्यु हुनेमा दुई महिला र छ पुरुष छन् । बेपत्ता हुनेमा सङ्खुवासभामा निर्माणाधीन सुपरहेवा जलविद्युत् आयोजनाका कामदार पनि छन् ।  सुतिरहेको अवस्थामा खोलामा आएको बाढीले उनीहरूलाई बगाएको हुनसक्ने सङ्खुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले बताए ।  बाढीका कारण उक्त जलविद्युत् आयोजनामा पनि क्षति पुगेको छ । पाँचथरको हेवा खोलामा आएको बाढीमा परेर हिलिहाङ गाउँपालिकाका तीन जना र फिदिम नगरपालिकाका दुई जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए । पाँचथरको याङ्बरकमा पहिरोमा फसेका १२ जनालाई नेपाली सेनाले हेलिकप्टर प्रयोग गरेर उद्धार गरेको छ ।

बाढीले मेची राजमार्गअन्तर्गत पाँचथर र ताप्लेजुङ जाने बाटोमा पर्ने हेवा खोलाको पुल पनि बगाएको छ। उक्त राजमार्ग अवरुद्ध भएको छ । पाँचथरको याङवरकमा भने एक पहिरोमा फसेका १२ जनाको नेपाली सेनाले सोमवार हेलिकप्टरको प्रयोग गरेर उद्धार गरेको छ । ताप्लेजुङ प्रहरीका अनुसार सिदिङ्वा गाउँपालिकामा एकैघरका तीन जना र अर्का एक व्यक्ति बेपत्ता भएकामा तीन जनाको शव फेला परेको छ ।

ताप्लेजुङकी प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले वर्षाका कारण बेपत्ताको खोजी तथा उद्धारमा कठिनाइ भइरहेको तर त्यसका लागि जनशक्ति परिचालन गरिएको जानकारी दिइन् । पाँचथरको माउन्टेन 'बी' जलविद्युत् परियोजनामा काम गर्ने एक सुरक्षागार्डको बाढीले बगाएपछि मृत्यु भएको प्रहरीले जनाएको छ। पाँचथरकै एक युवतीको शव बाढीले बगाएको अवस्थामा धनकुटामा फेला परेको थियो।

प्रहरीका अनुसार सङ्खुवासभाको पाँचपखन नगरपालिका-५ स्थित हेवा खोलामा एक युवकको शव पनि फेला परेको छ । बेपत्ताहरूको सङ्ख्या उच्च रहेकाले मृतकहरू बढ्न सक्ने प्रहरीले जनाएको छ।

यसपालि मनसुनको जोखिम कस्तो ?

यसपालि मनसुन नेपालमा ढिलो नगरी समयमै अर्थात् जुन १४ मा प्रवेश गरेको छ। नेपालमा झन्डै १०० दिन मनसुन सक्रिय हुन्छ ।

ओखलढुङ्गामा पहिरोले क्षतिग्रस्त एक घर

यो वर्षको मनसुनमा नेपालभरि कम पानी पर्ने प्रक्षेपण गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागको प्रक्षेपणमा सरदरभन्दा कम पानी पर्ने भएकोले न्यूनतम तापक्रम विगतको भन्दा बढी हुने अनुमान छ।

सामान्यतया नेपालमा मनसुन जुन १३ बाट प्रवेश गरेर अक्टोबर २ मा बाहिरिने गर्छ ।

मनसुनका कारण नेपालमा बाढी, पहिरो र ठूलो वर्षाले विपद् निम्त्याउने गर्छन् । मनसुनजन्य विपद् नै नेपालमा सबैभन्दा धेरै नागरिकलाई प्रभावित पार्ने र सबैभन्दा धेरै आर्थिक क्षति निम्त्याउने विपद्का रूपमा रहेको अधिकारीहरूले बताउने गरेका छन् । पहिरोको उच्च जोखिममा रहेका जिल्लाहरूमा इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, ओखलढुङ्गा, ललितपुर, नुवाकोट, धादिङ, तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, बागलुङ, प्युठान, रोल्पा, रुकुम पश्चिम, दैलेख, अछाम र बैतडी रहेको विगतका तथ्याङ्कहरूले देखाउँछन्।

त्यसैगरी बारम्बार बाढीबाट प्रभावित हुने जिल्लाहरूमा झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, परासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली र कञ्चनपुर छन् ।

बाढीले हेवा खोलाको पुल बगाएको छ

सरकारले कस्तो निर्देशन दियो?

प्रचण्डले बाढीपहिरो प्रभावित क्षेत्रमा हराइरहेका मानिसहरूको तत्काल खोजी तथा उद्धार र राहतका लागि सक्रियतापूर्वक लाग्न आइतवार अधिकारीहरूलाई निर्देशन दिएका थिए।

सङ्खुवासभाको हेवा खोलामा बाढीले पुर्‍याएको क्षतिबारे प्रधानमन्त्री प्रचण्डलाई उक्त जिल्लाका सांसदको नेतृत्वको टोलीले ध्यानाकर्षण गराएको छ ।

सङ्खुवासभाका प्रतिनिधिसभा सदस्य दीपक खड्का नेतृत्वको टोलीले आइतवार बिहान दाहाललाई भेटेर ध्यानाकर्षण गराएको थियाे ।  दाहालले खोजी तथा उद्धार र राहतका लागि पहल गर्ने उनीहरूलाई आश्वासन दिएका थिए ।

यसैबीच प्रधानमन्त्री दाहालले पूर्वी नेपालका विभिन्न जिल्लामा बाढी पहिरोबाट बेपत्ता नागरिकको खोजी, उद्धार एवं राहतमा सक्रियतापूर्वक लाग्न निर्देशन दिएको जनाएका छन् । प्रधानमन्त्रीको ट्विटरमार्फत् उनले त्यस्तो निर्देशन दिएको जानकारी दिइएको छ ।

दाहालले बाढी प्रभावितको उद्धारमा जुट्न सुरक्षा अङ्ग, राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिँदै उक्त अभियानमा सहयोग गर्न जनसमुदायलाई पनि आग्रह गरेका छन् ।

उनले बाढीपहिरोका कारण भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको उक्त ट्वीटमा जनाइएको छ।

विभिन्न राजनीतिक दलले समेत आफ्ना कार्यकर्ता र सङ्गठनलाई उद्धार कार्यमा खटिन आह्वान गरेका छन्।

ट्रक

गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव महादेव पन्थले पनि बाढीपहिरो गएको क्षेत्रमा उद्धार तथा राहतको काम सुरु भइसकेको बताए । “हामीले सम्बन्धित जिल्ला तथा स्थानीय तहसँग समन्वय गरेर कर्मचारी तथा सुरक्षाकर्मीहरू परिचालन गरिसकेका छौँ,” उनले भने।

“बेपत्ताको सङ्ख्या ठूलो देखिएकाले उनीहरूको खोजी कार्य जारी छ र अन्य क्षतिको विवरण सङ्कलन भइरहेको छ।”

कस्तो छ मौसमको अवस्था ?

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पूर्वी तथा मध्य भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । बाँकी भूभागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव परेको छ । जल तथा मौसम विज्ञान विभागले सोमवार जारी गरेको बुलेटिनमा देशका केही स्थानहरूमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।

विभागद्वारा आगामी २४ घण्टाका लागि जारी चेतावनीमा कोशी प्रदेशको एक-दुई स्थानमा ठूलो वर्षाको पनि सम्भावना रहेको जनाइएको छ।

बाढीपहिरो

"मेघगर्जन/चट्याङ, बाढी, पहिरो भूक्षय तथा गेग्र्यान बहाव तथा वर्षाका कारण नदीको स्तर बढेर हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ," विभागको सूचनामा भनिएको छ ।

बाढीपहिरो

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  ०५:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार