आदिपुरुषको प्रदर्शन नेपाल भरनै रोकियो

सोमबार, असार ४, २०८०

काठडमाडौं । भारतीय चलचित्र ‘आदिपुरुष’ मा समावेश एक विवादास्पद संवाद नहटाइएको भन्दै काठमाडाैं र पोखरा महानगरपालिकाले लगाएको भारतीय चलचित्र प्रदर्शन रोकलाई सिनेमाघर सञ्चालकहरूले चुनौती दिने भएका छन् ।
काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले उक्त चलचित्रको एउटा विवादास्पद संवाद नहटाए काठमाडौंका सिनेमाघरहरूमा कुनै पनि हिन्दी फिल्म प्रदर्शन गर्न रोक लगाउने घोषणा गरेका थिए ।
भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको जानकी भारतीय छोरी हुन् भन्ने ‘आपत्तिजनक सन्देश’ चलचित्रको मूल भागबाटै हटाउन महानगरका मेयरले आह्वान गरेका थिए । सच्याउन तीन दिनको म्याद दिइएको थियो ।
‘‘काठमाण्डू महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्रहित विपरीतको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने भएकोले उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौं महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न सोमवारदेखि निषेध गरिएको छ,’’ आइतबार सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा शाहले गरेको पोस्टमा उल्लेख छ ।
पोखरा महानगरले पनि जानकी भारतीय छोरी हुन् भन्ने शब्द नसच्चिएसम्म महानगरपालिका क्षेत्र भित्रका सिनेमाघरमा अन्य कुनै पनि भारतीय फिल्म प्रसारणमा रोक लगाइएको चलचित्र घरहरूलाई जानकारी गराएको बताइएको छ ।

‘सुरक्षाका कारण चलचित्र प्रदर्शन बन्द’
भारतमै पनि आदिपुरुषले व्यापक बहस निम्त्याएको छ । उक्त चलचित्रमा जानकी (सीता) को भूमिका निर्वाह गरेकी अभिनेत्री कृति सेननको पहिरन र रावणको भूमिकामा रहेका सैफ अली खानको ‘स्वरूप’ को भारतमा आलोचना भएको छ ।
नेपालमा चलचित्र प्रदर्शनलाई अनुमति दिनुअघि सेन्सर बोर्डका अधिकारीहरूले हेर्ने गर्छन् । बोर्डका सदस्य ऋषिराज आचार्यका अनुसार उक्त चलचित्र बुधबार हेरेर वितरकहरूलाई जानकी भारतकी छोरी भन्ने संवाद काटेपछि मात्रै प्रदर्शनको अनुमति दिन सकिने जानकारी गराइएको थियो । उक्त संवाद काटेर बिहीवार ल्याएपछि नेपालमा चलचित्र प्रदर्शनको अनुमति दिइएको उनले जानकारी दिए । तर त्यसपछि पनि चलचित्र प्रदर्शनमा रोक लगाइनु र सबै हिन्दी चलचित्र प्रदर्शन गर्न नदिइनुलाई सिनेमाघर सञ्चालकहरूले आलोचना गरेका छन् ।

आदिपुरुष
‘‘यो सङ्घीय सरकारले गर्ने निर्णय हो कि के हो, निर्णय जायज हो कि होइन कसैले पनि छिनोफानो नगरिदिएको भएर हामी अदालतमै गएर यो कुरा टुङ्गो लगाउँछौँ,’’ क्यूएफएक्स सीनेमाजका एक जना सञ्चालक भास्कर ढुङ्गानाले भने ।
काठमाडौं महानगरले हिन्दी चलचित्र प्रदर्शनमा रोक लगाएको भए पनि आफूहरूले काठमाडौं उपत्यकामा हाल हिन्दी सिनेमा प्रदर्शन नगरेको उनी बताउँछन् ।
‘’सुरक्षाको कारणले मात्रै त्यस्तो गरेका हौँ। अब अदालतले कस्तो निष्कर्ष निकाल्छ। कसको क्षेत्राधिकार हो भन्ने कुराहरूको निर्णय भएपछि हामीलाई पनि सहज हुन्छ,’’ ढुङ्गानाले भने । गत शुक्रवार काठमाण्डूमा केही युवाले एउटा सिनेमा हलमा पोस्टर च्यात्दै गरेको र चलचित्रको प्रदर्शन बन्द गराएको भिडि‌ओ फूटेज सार्वजनिक भएको थियो ।
ढुङ्गानाका अनुसार सकेसम्म आजै स्थानीय तहको निर्देशनलाई न्यायालयमा चुनौती दिने तयारी भइरहेको छ ।

बालेनको भनाइ के 
तर शाहले भने ‘नेपालको स्वतन्त्रता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखेर राष्ट्र हितको रक्षा गर्नु प्रत्येक सरकार, सरकारी निकाय, गैरसरकारी क्षेत्र र नेपाली नागरिकको पहिलो कर्तव्य हुने कुरामा कुनै सन्देह छैन’ भनेका छन् ।
‘‘नेपालको संविधानको धारा ५ र ५६ को उपधारा (६)ले सङ्घ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको संरक्षण गर्ने जिम्मेवारी तोकिएको छ । उक्त चलचित्र यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभूति माथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने देखिन्छ । उक्त चलचित्रबाट नेपालमाथि सांस्कृतिक अतिक्रमण भएको हुँदा यस महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ,’’ शाहले लेखेका छन् ।
संविधानमै राष्ट्रको हित संरक्षण प्रत्येक नागरिकको कर्तव्य रहेको उल्लेख गरिएको अवस्थामा उक्त कदमलाई गैर कानुनी भनिहाल्न नमिल्ने तर्क कानुन व्यवसायी टिकाराम भट्टराईले गरेका छन् ।
काठमाडौं र पोखराका अधिकांश सिनेमाघरहरूको वेबसाइटमा सोमबारका लागि कुनै पनि हिन्दी चलचित्र प्रदर्शन हुने तालिका समावेश गरिएको छैन । ती दुई सहर बाहेकका स्थानमा रहेका सिनेमाघरहरूमा भने टिकट काट्न पाइने देखिन्छ ।
ललितपुरमा हिन्दी फिल्म प्रतिबन्ध छैन : चिरीबाबु 
यता काठमाडौं महानगरपालिकाले आजबाट कुनै पनि भारतीय फिल्मको प्रदर्शनमा रोक लगाए पनि ललितपुरका मेयर चिरिबाबु महर्जन आफ्नो महानगरमा हिन्दी फिल्ममाथि प्रतिबन्ध नलगाइने बताए । 
महर्जनले भने, ‘हामीले भारतीय फिल्मलाई रोक लगाउने विषयमा कुनै छलफल गरेका छैनौँ । सबै हिन्दी फिल्मलाई रोक लगाउनुपर्ने आवश्यकता पनि छैन ।’

आदिपुरुष चलचित्रको प्रदर्शन नेपालभर रोकियो
भारतीय चलचित्र आदिपुरुषको प्रदर्शन नेपालभर रोकिएको छ । काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहले ‘जानकी भारतकी छोरी हुन्’ भन्ने आशयको संवाद मूल संस्करणबाट नहटाएसम्म महानगरभित्र कुनै पनि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएपछि देशभर चलचित्रको प्रदर्शन रोकिएको हो । 
उक्त चलचित्रको नेपाल वितरण कम्पनी ब्याङ्कटेस फिल्म्सले विज्ञाप्ति जारी गर्दै प्रदर्शन नगर्ने जानकारी गराएको छ । कम्पनीका निर्देशक मनोज राठीले सिर्जित अवस्थाका कारण प्रदर्शन रोकिएको जानकारी दिए । 
“काठमाडौँमा चलचित्र प्रदर्शन रोकिएपछि सिर्जित अवस्थाका कारण हामीले देशभर प्रदर्शन रोक्ने निर्णय लिएका हौँ”, वितरक राठीले भने । 
यस्तै, वितरक तथा प्रदर्शकको छाता संस्था नेपाल चलचित्र सङ्घले सम्पूर्ण भारतीय चलचित्रमा रोक लगाएको विषयमा असन्तुष्टी व्यक्त गरेको छ । सङ्घका उपाध्यक्ष गोपालकाजी कायस्थले कानुनी प्रक्रियामार्फत उपचार खोज्ने जानकारी दिए । 
उनले भने, “यसरी सम्पूर्ण भारतीय चलचित्रको प्रदर्शनमा रोक लगाउनु उचित समाधान होइन । हामी यसविरुद्ध कानुनी प्रक्रियामा जान्छौँ र निकास खोज्छौँ ।”
काठमाडौँ महानगर पश्चात चलचित्र आदिपुरुषलाई पोखरा, धराण, वीरगञ्जलगायतका सहरमासमेत स्थानीय निकायका प्रमुखले प्रदर्शन नगर्न निर्देशन दिइसकेका थिए ।
 

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १३:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार