पूर्वी नेपालमा बाढीको वितण्डा, कम्तीमा आठ जनाको मृत्यु, २७ जना बेपत्ता

सोमबार, असार ४, २०८०

काठमाडौं । पूर्वी नेपालका विभिन्न जिल्लामा बाढी तथा पहिरोमा परेर कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै २७ जना हराइरहेका छन् ।  कोशी प्रदेशका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक ऋषिराम कँडेलका अनुसार पाँचथर र ताप्लेजुङमा तीन(तीन जना एवं भोजपुर र सङ्खुवासभामा एक–एक जनाको शव फेला परेको छ। सङ्खुवासभामा सर्वाधिक २१ जना सम्पर्कविहीन भएको नेपाल प्रहरीले जनाएको छ । हराएका व्यक्तिको खोजी र उद्धारका लागि प्रयास भइरहेको अधिकारीहरूले बताएका छन् ।
मृत्यु हुनेमा भोजपुर ट्याम्केमयुम(८ का ३२ वर्षीय मन्दीप राई, संखुवासभाको पाँचखपनका–९ का वर्ष २६ को सन्तोष राई, पाँचथर फालेलुङ– ४ का ८ वर्षीय जुना साउदेन, फिदिम ११ का २८ वर्षीय सन्जोग लिम्बू, ताप्लेजुङ फिदिङ्वा–६ वर्ष ३० को गणेश तामाङ, वर्ष ६७ को केशर राई र सोही ठाउँका वर्ष ३६ को सुरेश राई छन् ।
बाढी र पहिरोमा परी २८ जना अझै बेपत्ता  छन् । प्रहरीका अनुसार   तीन जना महिला र २५ जना पुरुष बेपत्ता भएका  हुन् ।
बेपत्तामध्ये सबैभन्दा धेरै संखुवासभामा १८ जना छन् ।  पाँचथरमा तीन, ताप्लेजुङमा तीन, भोजपुरमा दुई जना बेत्तपा भएका छन् । उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । पाँचथरमा १२ वटा पुलमा क्षति पुगेको छ ।  मेची राजमार्ग अवरुद्ध भएको छ । बाढी र पहिरोले २२ वटा घर भत्काएको छ ।
बाढी प्रभावित क्षेत्रको अनुगमनका लागि आइतबार प्रदेश सरकारको  तर्फबाट मन्त्री तिलकुमार मेन्याङ्बो नेतृत्वमा टोली प्रभावित क्षेत्र पुगेको थियो ।
प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बेपत्ताको खोजी गरी प्रभावितलाई राहत र उद्दार प्रभावकारी बनाउन  निर्देशन दिएका छन् ।
प्रदेश सरकारले प्रभावितका आपतकालीन राहत सामग्री सम्बन्धित जिल्लामा पठाएको छ । शनिबारको वर्षाका कारण संखुवासभा, पाँचथर र  ताप्लेजुङमा बढी क्षति पुर्‍याएको थियो ।

प्रधानमन्त्री बाढी प्रभावित क्षेत्रमा 
बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको उच्चस्तरीय टोली पूर्वी नेपाल प्रस्थान गरेको छ । 
प्रधानमन्त्री प्रचण्ड नेपाली सेनाको हेलिकोप्टरमार्फत पूर्वी पहाडी जिल्लाको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणमा निस्केका हुन् । 
उनका साथमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र सहरी विकासमन्त्री सीता गुरुङ छन् । प्रभावित क्षेत्रका जनप्रतिनिधि योगेश भट्टराई, वसन्त नेम्वाङ, दीपक खड्का र कोशी प्रदेशसभा सदस्य राजेन्द्र कार्की सहभागी छन् । 
साथमा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा, गृह मन्त्रालयका विपत् हेर्ने प्राविधिक इञ्जिनियर र प्रधानमन्त्री कार्यालयका विपत् हेर्ने अधिकृत पनि साथमा छन् । प्रभावित क्षेत्रमा नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धारको काम जारी छ । बाढी र पहिरोमा फसेकालाई उद्धार गरिएको छ । 
आजैमात्र भौतिक पूर्वाधार मन्त्रालयले केन्द्रीय सडक सञ्जालबाट विच्छेद भएको पाँचथर र ताप्लेजुङलाई जोड्न बेलिब्रिजको सामान प्रभावित क्षेत्रमा पठाइसकेको छ । 

पहिरोमा परी बेपत्ता केशरको शव भेटियो, घाइते सुरेशको मृत्यु
ताप्लेजुङको सिदिङवा गाउँपालिका–६ मेहेलेमा आज बिहान गएको पहिरोमा परी बेपत्ता भएका केशरबहादुर राईको शव फेला परेको छ । साथै सोही पहिरोमा परी घाइते भएका सुरेश राईको निधन भएको छ ।  घाइते राजकुमार राईको अवस्था गम्भीर छ ।  पहिरोका कारण आफू बस्ने घर जोखिममा भएपछि गाडी अन्यत्रै सार्ने तयारीका क्रममा अचानक खसेको पहिरोले तीन जना पुरिएका थिए । तीमध्ये सुरेश र राजकुमारको तत्काल उद्धार गरिएको थियो भने केशरबहादुर बेपत्ता भएका थिए । 
मेहेलेकाको अधिकांश क्षेत्र पहिरोको उच्च जोखिममा छन् । मेहेलेमा शनिबार गएको पहिरोमा परी तीन जना अझै बेपत्ता छन् भने एक जनाको शव भेटिएको छ । मेहेलेमा पहिरोले छ घरलाई बगाएको छ ।

खोजी–उद्धारमा सम्पूर्ण संयन्त्र परिचालित 
प्रधानमन्त्री प्रचण्डले विगत केही दिनयता आएको बाढीपहिरोका कारण देशका विभिन्न भूभागमा ठूलो धनजनको क्षति भएकोमा दुःख व्यक्त गर्दै बाढीपहिरोमा परी बेपत्ता भएका नागरिकको खोजी, उद्धार कार्य र राहतका निम्ति सम्पूर्ण राज्यसंयन्त्र परिचालन गरेको बताएका छन् । आज बिहान ताप्लेजुङ र पाँचथरका राजनीतिक दल र जनप्रतिनिधिको टोलीसँग बालुवाटारमा भेट गर्दै प्रधानमन्त्रीले प्राकृतिक प्रकोपको खतरा अहिले पनि विद्यमान रहेकाले सरकारले राज्यका सम्पूर्ण संयन्त्र परिचालन गर्ने बताएका हुन् । 
भेटमा ताप्लेजुङ र पाँचथरका राजनीतिक दलका नेता र जनप्रतिनिधिले ताप्लेजुङ, पाँचथर र सङ्खुवासभामा बाढीपहिरोबाट ठूलो धनजनको क्षति भएको जानकारी गराउँदै तत्कालका लागि टेन्ट, खाद्यवस्तु, भाडाकुँडा र लत्ताकपडा उपलब्ध गराउन, सडक र पुल भत्किएका ठाउँमा तत्काल बैकल्पिक कनेक्टिभिटी जोड्न सरकारको ध्यानाकर्षण गराएका थिए । भेटमा पूर्वमन्त्री एवं सांसद योगेशकुमार भट्टराई, पूर्वमन्त्री वसन्तकुमार नेम्वाङ, सांसद लिला बखिन, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य खेलप्रसाद बुढाक्षेत्रीलगायतका नेता एवं जनप्रतिनिधि उपस्थित थिए ।

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १३:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार