समाजवादी मोर्चा घोषणा हुँदै

सोमबार, असार ४, २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रलगायतका राजनीतिक दलले आज समाजवादी मोर्चा घोषणा गर्ने भएका छन् । मोर्चाको अवधारणासमेत तयार भएको उनीहरुले जानकारी दिएका छन् । मोर्चा घोषणाका लागि राष्ट्रियसभा गृहमा अपराह्न ४ बजेका लागि कार्यक्रम तय गरिएको छ । यसअघि ३ बजेका लागि कार्यक्रम तय भएकामा एक घण्टा पर सारिएको हो । 
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ केही कार्यक्रममा व्यस्त हुनुपर्ने भएकाले समय परिवर्तन गरिएको उहाँका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो । मोर्चामा नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा सहभागी हुने भएका छन् । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले आज मोर्चा घोषणा गर्ने र त्यसको न्यूनतम अवधारणालाई स्वीकृत गरेको थियो ।
मोर्चा घोषणाको संयुक्त अवधारणामा हस्ताक्षरलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताहरुले छलफल गरेका थिए । छलफलमा प्रधानन्त्री प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका शीर्ष नेता सहभागी थिए । 
 

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १२:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार