बिचौलियाबाट पैसा लिएको आरोपमा पक्राउ परेका बालकृष्ण खाँणलाई काँग्रेसले कारबाही गरेन

बिहीबार, वैशाख २८, २०८०

काठमाडौँ । नेपाली कांग्रेसले नक्कली शरणार्थी प्रकरणमा बिचौलियाबाट पैसा लिएको आरोपमा पक्राउ परेका केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई तत्काल कारबाही नगर्ने भएको छ । सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकपछि सहमहामन्त्री जीवन परियारले खाँणबारे तत्काल कुनै  निर्णय नलिइएको जानकारी दिए ।
आज पनि हामीबीच नेता बालकृष्ण खाँणबारेमा कुनै छलफल भएन । हामीले कुनै किसिमको औपचारिक निष्कर्ष निकालेका छैनौँ’, उनले पत्रकारहरुलाई भने, ‘हामी कुनै व्यक्तिबारे प्रस्तुत हुनुभन्दा अनुसन्धानमा जोसुकै आउन सक्छन् । उनीहरुले सघाउनु पर्छ भन्ने हो। कोही नेता, मन्त्री वा मिडियाकै  मान्छे पनि आउन सक्छ। जो आए पनि अनुसन्धानलाई सघाउनुपर्छ भन्ने हाम्रो छलफलको निष्कर्ष हो ।’
परियारले जोसुकै व्यक्ति परे पनि यो घटनाबाट नेपाल नै लज्जित हुनुपर्ने अवस्था आएको बताए ।
‘यसलाई हामीले गम्भीर रुपमा लिएका छौँ। हामी नेता (बालकृष्ण खाँण) लाई लुकाउन सक्थ्यौँ होला । उहाँ बुटवल जानु भएको थियो, त्यहीँबाट हराउन पनि सक्नु हुन्थ्यो,’ उनले भने, ‘हाम्रो पार्टीको नेता जोडिएपछि हामी सत्तामा भए पनि अनुसन्धान प्रभावित गर्ने पक्षमा छैनौँ । व्यक्तिको कुरै छैन, जोसुकै व्यक्तिलाई अनुसन्धानले चाह्यो भने कारबाही गर्नुपर्छ।’
उनले नक्कली शरणार्थी प्रकरणमा जो जोडिए पनि कारबाही हुने बताए। ‘त्यसमा कुनै समस्या रहेन। बालकृष्ण खाँणले अनुसन्धानलाई सघाउनु भएको छ’, उनले भने, ‘हामी यो अनुसन्धानको निष्कर्षको पर्खाईमा छौँ। यो प्रकरणमा अनुसन्धानको निष्कर्ष आएपछि हामी थप निर्णय लिन सक्छौँ।’
सहमहामन्त्री परियारका अनुसार खाँण अदालतबाट दोषी ठहर नभइसकेकाले पार्टीले आधिकारिक धारणा बनाएर जानु उचित नहुने पनि बताए ।
कतै लुक्ने र भाग्ने नगरी पक्राउ परेर खाँणले प्रहरीको अनुसन्धानलाई सहयोग गरेको नेता परियारले बताए ।
उहाँ छानबिनका लागि तयार हुनुभएको छ । हाम्रो पार्टीका नेताले अनुसन्धानका लागि सहयोग गर्नुभएको छ’ परियारले भने, ‘नेकपा एमालेका पदाधिकारी आज पनि फरार हुनुहुन्छ । तर कांग्रेस दोषीलाई उम्काउने प्रयासमा छैन ।’
पदाधिकारी बैठकमा कोशी प्रदेशमा केन्द्रमा रहेको सत्तारुढ गठबन्धन अनुसारको सरकार नभएको बारे गम्भीर छलफल भएको सहमहामन्त्री परियारले बताए । प्रदेश यस विषयमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा , सहमहामन्त्री भीष्मराज आङ्देम्बेलाई छलफलको जिम्मा दिइएको छ ।
त्यस्तै राष्ट्रपति कार्यालयमा रहेको नागरिकता विधेयकका विषयमा पनि छलफल भएको नेता परियारले बताए । यस विषयमा कानुनविद्सँग राय लिने कांग्रेसको भनाइ छ ।

 

प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  १९:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार