कांग्रेस पदाधिकारी बैठकमा बालकृष्ण खाणको पक्राउबारे छलफल, आज निर्णय लिने सम्भावना

बिहीबार, वैशाख २८, २०८०

काठमाडौं । नेपाली कांग्रेसले पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउबारे पदाधिकारी बैठकमा छलफल गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बुधबार साँझ बसेको पदाधिकारीको बैठकमा खाण पक्राउ प्रकरणबारे छलफल भएको हो ।
नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा मुछिएका खाण बिहान पक्राउ परेसँगै कांग्रेसले पदाधिकारी तथा पूर्वपधिकारीको बैठक बोलाएको थियो ।
बैठकमा राजधानीमा उपलब्ध पदाधिकारी उपस्थित थिए । यो प्रकरणमा खाणले सरकारलाई अनुसन्धानमा सघाएको कांग्रेसको ठम्याइ रहेको पार्टी प्रवक्तासमेत रहेका अर्थमन्त्री डा.प्रकाशशरण महतले बताए ।
"बालकृष्णजीको सन्दर्भमा उहाँ आफैँले सहयोग गर्छु भन्नुएको छ। पार्टीको आधिकारिक धारणा नै यो हो कि उहाँले अनुसन्धानमा सघाइरहनुभएको छ," बैठकपछि अर्थमन्त्री डा महतले भने ।
एमालेले यो प्रकरणमा मुछिएका सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ । कांग्रेसले केन्द्रीय सदस्यसमेत रहेका खाणलाई निलम्बन गर्छ त ? सञ्चारकर्मीको प्रश्नमा डा. महतको जवाफ थियो, "अनुसन्धान नआइ दोषी करार गरेर भएन नि । अनुसन्धान हुनेबित्तिकै उहाँलाई अहिले नै दोषी भइसक्नुभयो भन्ने कुरा नगरौं न । अहिले अनुसन्धानको लागि बोलाइएको छ । अझ अनुसन्धान परिपक्व होस् न । टोपबहादुर रायमाझी त उपस्थिति नै नभएको अवस्था हो ।  पक्राउ पूर्जी नै जारी गरेकै अवस्थामा उहाँ फरार हुनुभयो भनेर एमालेले त्यसो गरेको होला ।"
"अनुसन्धान परिपक्वा होस् । त्यसपछिमात्र पार्टीले निर्णय गर्छ त्यसबेला । अनुसन्धान त भर्खर भएको छ । उहाँ भाग्नुभएको छैन," अर्थमन्त्री महतले भने, "महत्वपूर्ण मान्छे हो उहाँ पूर्व गृहमन्त्री । अनुसन्धान होस् न। त्यसपछि पार्टीले निर्णय गर्छ ।"
ठगी प्रकरणमा जोडिएर पक्राउ परिसकेकाले उनलाई पार्टीको पदबाट निलम्बन गर्नुपर्ने माग केही पदाधिकारीले उठाएका थिए । त्यस विषयमा सभापति शेरबहादुर देउवाले अनुसन्धानको निचोडपछि मात्रै निर्णय गरिने जवाफ दिएका थिए ।

प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  ०५:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार