टेकनारायणको मोबाइलबाट खुल्यो बालकृष्णसँगको आर्थिक लेनदेन

बिहीबार, वैशाख २८, २०८०

काठमाडौँ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक गरेको संसद् विघटनलाई सर्वोच्च अदालतले अवैध ठहर गरिदिएपछि २८ असार २०७८ मा प्रधानमन्त्रीमा नियुक्त भएका थिए नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा । पाँच दलीय गठबन्धनबाट देउवा प्रधानमन्त्री बनेपछि उनका निकट सहयोगीसमेत रहेका बालकृष्ण खाँणले गृहमन्त्रालयको जिम्मेवारी सम्हाले । उनी २०७८ असार २९ देखि २०७९ पुस ११ गतेसम्म गृहमन्त्रीको भूमिकामा रहे ।
खाँण गृहमन्त्रीमा आएपछि गृहसचिव पनि फेरे । उनले तत्कालीन गृहसचिव महेश्वर न्यौपानेलाई हटाएर २०७८ साउन २५ गते टेकनारायण पाण्डेलाई ल्याए ।
पाण्डे त्यसअघि २०७७ साउनदेखि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिवका रुपमा कार्यरत थिए । भूमिसुधारबाट गृहमा ल्याइएका पाण्डे २०७९ असोज २ गतेसम्म त्यहीँ रहे ।
गत असोजदेखि उपराष्ट्रपतिको कार्यालयमा रहेका पाण्डे गत वैशाख २० गते काठमाडौंकै एक रिसोर्टबाट समातिए । उनीमाथि भुटानी शरणार्थीको नक्कली फाइल खडा गरेर गिरोहबाट करोडौँ रुपैयाँ बुझेको आरोप थियो । पाण्डेलाई भूमिसुधारबाट गृहमा ल्याउने मन्त्री उनै बालकृष्ण खाँण थिए। पाण्डे पक्राउ परेसँगै खाँण पनि तानिन सक्ने आकलन गरिएको थियो ।
सिंहदरबार बृत्तको हिरासतमा रहेका पाण्डेले नक्कली शरणार्थी प्रकरणमा खाँणको पनि नाम पोलेको कुरा मंगलबार सार्वजनिक भएको थियो ।
बयानमा पाण्डेले तत्कालीन गृहमन्त्री खाँणकै निर्देशनमा आफूले फाइल खडा गरेको उल्लेख गरेका थिए ।
पाण्डेलाई पक्राउ गरेपछि प्रहरीले उनले प्रयोग गरेको मोबाइल फोन जफत गर्यो । तर उनले उक्त फोनका सबै विवरण फर्म्याट गरेका थिए ।
फर्म्याट गरिएको मोबाइलका डाटा रिकभर हुने आशासहित थप परीक्षणका लागि प्रहरीले फरेन्सिक ल्याबमा पठाएको थियो ।
ल्याबले सबै डेटा रिकभर गरेपछि प्रहरीले नक्कली शरणार्थी प्रकरणमा पाण्डे र खाँणबीच आर्थिक लेनदेन भएको प्रमाण पनि फेला पारेका थियो । आर्थिक लेनदेनका प्रमाण र त्यससम्वद्ध म्यासेजसमेत प्रहरीले प्रमाणका रुपमा बटुलेपछि पाण्डे बयानमा मुख खोल्न बाध्य भए ।
नक्कली शरणार्थीको फाइल खडा गर्दा गिरोहबाट लिएको रकम खाँणसँग लेनदने गरेको कुरा उनको मोबााइलबाट पुष्टि भएको प्रहरीले जनाएको छ । ती प्रमाण देखाएपछि पाण्डेले बयानमा खाँणलाई मुछ्दै उनकै निर्देशनमा आफूले नक्कली प्रतिवेदनसहितका फाइल बनाएको कुरा प्रहरीसँग सकारेका छन् ।
‘टेकनारायणको मोबाइल फोन परीक्षणका लागि फरेन्सिक ल्याबमा पठाएका थियौँ । फरेन्सिक ल्याबको रिपोर्टमा दुईजनाबीच लेनदेन नै खुल्ने म्यासेजहरु भेटिए’, अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकारीले नेपालखबरसँग भने, ‘तिनै प्रमाणबाट पनि नक्कली शरणार्थी प्रकरणमा बालकृष्णको पनि संलग्नता खुल्यो । उक्त प्रमाण भेटिएपछि पाण्डेले पनि खाँण र आफ्नो संलग्नता स्वीकारेका छन् ।’
पाण्डेले समेत बयानमा सकारेपछि प्रहरीले खाँणलाई बुधबार बिहान चाबहिलको मैजुबहालस्थित निवासबाटै पक्राउ गरिसकेको छ । उनीसँगै उनका निजी सहयोगी नरेन्द्र केसी पनि प्रहरीको हिरासतमा पुगेका छन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  ०५:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार