एमालेले निलम्वल गर्‍यो टोपबहादुर रायमाझीलाई

बुधबार, वैशाख २७, २०८०

काठमाडौँ । नक्कली भूटानी शरणार्थी प्रकरणमा मुछिएका आफ्ना सचिव टोपबहादुर रायमाझीलाई नेकपा एमालेले निलम्बन गरेको छ । नक्कली शरणार्थी मामिलामा प्रहरी प्रशासनले गरिरहेको अनुसन्धानमा सहयोग पुर्‍याउन निलम्बन गरिएको महासचिव शङ्कर पोखरेलद्वारा जारी प्रेस वक्तव्यमा उल्लेख छ । यो भ्रष्टाचार प्रकरणमा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । काँग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्णा खाँण पक्राउ परेपछि एमालेमाथि नैतिक दबाब परेको छ । सोही कारण एमालेले रायमाझिलाई निलम्बन गरेको हो । पक्राउ पुर्जी जारी विषयमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको जानकारी गराउँदै महासचिव पोखरेलले विज्ञप्तिमा भनेका छन्, “हामी विधिको शासनमा विश्वास गर्दछौँ ।” पक्राउ पुर्जी जारी हुनासाथ राज्यका अनुसन्धान निकायमा उपस्थिति भएर विधिवतरुपमा आफ्नो यथार्थ स्पष्ट पार्ने पार्टी नेतृत्वलाई दिएको विश्वास विपरीत उनी उपस्थित नभएको विषयलाई पार्टीले गम्भीरतापूर्वक लिँदै अविलम्बन सम्बन्धित निकायमा उपस्थित भई अनुसन्धानमा  सहयोग गर्न निर्देशन गरेको जनाएको छ ।

सरकारको काममा सहयोग र समर्थन : गुरुङ
एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नक्कली भूटानी शरणार्थी प्रकरणमा सरकारले थालेको छानबिनमा सहयोग गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८०-८१ को सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले यो प्रकरणमा सरकारले लिएको अग्रसरतालाई सहयोग र समर्थन गर्न तयार रहेको स्पष्ट पारे ।
 “नेकपा एमाले सरकारको काममा सहयोग र समर्थन गर्न तयार छ, हामी सहयोग र समर्थन गर्न चाहन्छौँ”, उपमहासचिव गुरुङले भने, “सरकारले जुन खालको छानबिन र अनुसन्धान सुरु गरेको छ, विधि र कानुनको शासन मान्ने तथा भ्रष्टाचारमुक्त नेपाल अभियान मान्ने प्रतिबद्ध भएको पार्टीको सांसदको हैसियतले यो छानबिन र अनुसन्धानलाई सरकारले दायाँबायाँ वा तलमाथि नगरी, दोषीहरु कोही पनि नछुटून्, निर्दोष व्यक्ति कोही पनि परोस् भनी लागोस् ।”
यो घटनामा संलग्न भनिएका सांसद टोपबहादुर रायमाझीलाई अनुसन्धानमा सहयोग गर्न निर्देशन दिएको उपमहासचिव गुरुङले सदनलाई जानकारी गर्राएका छन् ।

 

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १५:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार