टोपबहादुर भारत भागेको आशंका, पक्राउ गर्न देशभर सर्कुलर

सीआईबीको टोली पनि परिचालन
मंगलबार, वैशाख २६, २०८०

काठमाडौँ । पूर्व उप्रधानमन्त्री समेत रहेका एमाले सचिव टोपबहादुर रायमाझीलाई पक्राउ गर्न सबै जिल्ला प्रहरी कार्यालयमा सर्कुलर गरिएको छ । भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाइदिने भन्दै ठगी गरेको आरोपमा टोपबहादुरविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । 
तर गत बुधबारदेखि रायमाझी फरार छन् । प्रहरीलाई आफैं आउँछु भन्दै ढाँटेर भागेका रायमाझीलाई पक्राउ गर्न जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधमा प्रहरी प्रधान कार्यालयलले सबै जिल्लामा सर्कुलर गरेको हो । 
प्रहरी प्रवक्ता कुवेर कडायतले फरार व्यक्ति पक्राउ गर्न यसरी सर्कुलर गर्नु नियमित प्रक्रिया भएको बताए । गत बुधबार पक्राउ पुर्जी जारी भएपछि रायमाझीले काठमाडौं पुगेर अनुसन्धानमा सहयोग गर्ने प्रतिक्रिया दिएका थिए । 
तर त्यसै साँझदेखि उनी मोबाइल बन्द गरेर भागेका हुन् । प्रहरी महानिरीक्षक वशन्त कुंवरलाई नै फोन गरेर आफैं उपस्थित हुने बताएपछि उनलाई पक्राउ गर्न खटिएको प्रहरी पनि फिर्ता भएको थियो । 
काठमाठौं प्रहरी परिसरले रायमाझीलाई बुटवलबाटै पक्राउ गर्ने तयारी गरेको थियो । तर काठमाडौं ओर्लिनासाथ पक्राउ गर्ने बुझेपछि रायमाझी साँझबाट सम्पर्कबिहिन भएका थिए । उनका छोरा सन्दीपलाई भने प्रहरीले बुटवलबाट त्यसैदिन पक्राउ गरेको थियो ।  

भारत भागेको प्रहरीको आशंका
फरार भएका रायमाझी भारत भागेको प्रहरीको आशंका छ । उनी बुुटवलबाट त्यसै बेलुकी भारततर्फ भागेको आशंका प्रहरीले गरेको छ । 
भारतको भागेको आशंकामा रायमाझीलाई पक्राउ गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई समेत निर्देशन दिइसकिएको गृह मन्त्रालय श्रोतले जनाएको छ । 
उनका छोरा सन्दीपसहित ८ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ। पूर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्व गृहसचिव टेकनारायण पाण्डे, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ पनि थुनामा छन् । 

प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  १४:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार