थप ११९ जनामा कोरोना

आइतबार, माघ २५, २०७७

काठमाडौं । थप ११९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमितको संख्या दुई लाख ७१ हजार ९२५ पुगेको छ । 
थप दुई हजार २५१ जनाको पिसिआर परीक्षण गरिएको थियो । हालसम्म पिसिआर परीक्षण गराउनेको संख्या २० लाख ९३ हजार ४१७ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख ६८ हजार ७२ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर २६० सङ्क्रमित निको भएर घर फर्किएका छन् । योसँगै कोरोनाबाट मुक्त हुनेको सङ्ख्या दुई लाख ६८ हजार ७२ पुगेको छ ।  हाल देशभर एक हजार ८१५ सक्रिय सङ्क्रमित रहेका छन् । हाल ९२ सङ्क्रमित क्वारेन्टिनमा छन् । यस्तै ५६ सङ्क्रमित आइसीयुमा तथा ११ सङ्क्रमित भेन्टिलेटरमा रहेका मन्त्रालयले जनाएको छ ।  पछिल्लो समय थपिएका कोरोना सङ्क्रमितमा प्रदेश–२ को धनुषामा एक, बागमती प्रदेशको काठमाडौँमा ४३, काभ्रेपलाञ्चोकमा तीन, चितवनमा सात, धादिङमा एक, नुवाकोटमा दुई, भक्तपुरमा चार र ललितपुरमा आठ र सिन्धुपाल्चाोकमा एक, गण्डकी प्रदेशको कास्कीमा १९, गोरखामा तीन, तनहुँमा चार, पर्वतमा एक, म्याग्दीमा तीन र लमजुङमा ६, लुम्बिनी प्रदेशको अर्घाखाँचीमा एक, दाङमा तीन, नवलपरासीमा एक, पाल्पामा दुई र बाँकेमा पाँच तथा सुदूरपश्चिम प्रदेशको कैलालीमा एक जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । 
 
थप दुईको मृत्यु  
नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप दुई जनाको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको संख्या दुई हजार ३८ पुगेको छ ।      

कोरोनाबाट विदेशमा तीन नेपालीको निधन
कोभिड–१९ को सङ्क्रमणबाट विदेशमा थप तीन नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता बेलायतमा  दुई र अल्जेरियामा एकको सङ्क्रमणका कारण निधन भएको हो । योसहित २१ देशमा कोरोना सङ्क्रमणका कारण निधन हुने नेपालीको संख्या ३३३ जना पुगेको छ ।   
गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५८ हजार ८३२ नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । तीमध्ये  ५६ हजार २४७ जना कोरोनामुक्त भएका छन् । यो कूल सङ्क्रमितको ९४ प्रतिशत हो । 
गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता बेलायत, मलेसिया, साउदी अरब, पोर्चुगल र नाइजेरियामा रहेका थप नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ ।  यस्तै कोरोना भाइरसका कारण नेपालमा दुई हजार ३५ जनाको निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमण हुनेको सङ्ख्या दुई लाख ७१ हजार ८०६ जना छन् भने दुई लाख ६६ हजार ८१२ अर्थात् ९८ दशमलव पाँच प्रतिशत कोरोनाबाट मुक्त भएको कोभिड–१९ उच्चस्तरीय समिति, गैरआवासीय नेपाली संघका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।          

खोप कसले लगाउने–नलगाउने 
अठार वर्ष माथिका सबैले कोरोनाविरुद्धको खोप लगाउन सकिन्छ । मुटु रोग, मधुमेह र अन्य दीर्घरोगका बिरामीले पनि जीवनरक्षाका लागि कोभिड–१९ विरुद्धको खोप लगाउन सकिन्छ । खोपको पहिलो मात्राले असर र एलर्जी भयो भने पनि अर्काे मात्रा लगाउनु हुँदैन । ज्वरो आएका बेला, रक्तस्रावसम्बन्धी समस्या भएका व्यक्ति, रगत पातलो बनाउने औषधि सेवन गर्ने व्यक्ति, गर्भवती, सुत्केरी, स्तनपान गराइरहेकी महिला, गम्भीर कोरोना सङ्क्रमित, सिकिस्त बिरामीलगायतले पनि यो खोप नलगाउन उत्पादक कम्पनीले सुझाएका छन् । अठार वर्षभन्दा कम उमेरकालाई पनि खोप लगाउन सिफारिस गरिँदैन ।   खोप लगाएको तीनदेखि छ हप्तामा मात्रै अर्को मात्रा लिनुपर्छ । दोस्रो मात्रा लगाएको चार हप्तापछि शरीरमा एन्टिबडी बन्न थाल्छ । त्योभन्दा पहिले जनस्वास्थ्यका मापदण्ड अपनाउनु पर्दछ । अन्यथा आफू र अरूलाई सुरक्षित राख्न थप चुनौती देखिन पनि सक्छ । दोस्रो मात्राको खोप सोही कम्पनीको लगाउनुपर्छ । जुन पहिलो मात्रामा लगाइएको छ ।
 

प्रकाशित मिति: आइतबार, माघ २५, २०७७  २१:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार