चोरीका घटना बढेपछि वडाअध्यक्षको अगुवाइमा लामाटार-ढुंगिन बसपार्क क्षेत्रमा प्रहरीको तालिमप्राप्त कुकुर परिचालन

लुभु बसपार्क, भाटभटेनी सुपरस्टोर आसपास पनि निगरानीमा
मंगलबार, असोज २३, २०८०

ललितपुर । आइतबार अपराह्न जब एक हुल प्रहरी लामाटारको ढुंगिन बसपार्क क्षेत्रमा दुईवटा तालीम प्राप्त कुकुर लिएर घुम्न थाले त्यहाँ एक किसिमको डर र कौतुहुलता छायो । कुकुर पनि लरतरो थिएन, प्रहरीको तालिमप्राप्त लेब्रोडर र जर्मन शेफर्ड । हेर्दै सातो जाने खालको ।
बसपार्क क्षेत्रको चियापसलदेखि किराना पसलसम्म र बसका यात्रुहरू समेत छक्क परेर कुकुर र कुकुर ल्याउने प्रहरीको हुलतिर हेरेर मुखामुख गर्न थाले । कतिले त्यहाँ ‘कुनै ठूला मान्छेको सवारी हुन लाग्या होला’ भन्ठाने त कतिले चाँहि ‘हत्या या अरु कुनै ठुलै घटना भएछ’ भनेर । 
तर, वास्तवमा महालक्ष्मी नगरपालिका वडा नं ९ को लामाटार र ढुंगिन क्षेत्रमा दिउँसो र राति गरी एकसाताभित्रै ६÷७ वटा चोरीका घटना घटेपछि वडाध्यक्ष जयकृष्ण बोगटीको आग्रहमा त्यहाँ नेपाल प्रहरीको तालिमप्राप्त कुकुर ल्याएर घुमाइएको थियो । 

lamatar dog1696898612.jpg
प्रहरी प्रभाग लुभुको समन्वय तथा प्रहरी वृत्त सातदोवाटोसँगको सहकार्यमा नेपाल प्रहरीको कुकुर तालिम महाशाखा (केनाइन) महाराजगञ्जबाट त्यहाँ कुकुर ल्याइएको थियो ।
दशैं तिहार जस्ता चाडपर्व नजिक आउँदा चोरी र लुटपाटका घटना नियन्त्रण गर्न मानिसहरूको आवात जावत बढी हुने ठाउँ, बसपार्क, ठूला बजार क्षेत्र र चोकचोकमा चोरी र लुटपाटका घटना कमी हुने भएकोले लामाटारको व्यस्त बसपार्क ढुंगिन र आसपासमा नेपाल प्रहरीको तालिम प्राप्त कुकुर परिचालन गरिएको वडा नं ९ का अध्यक्ष जयकृष्ण बोगटीले बताए । 
चोरी र लुटपाट मुक्त वडा बनाउन नेपाल प्रहरीसँग समन्वय गरी आफूहरूले सचेतनाका काम गरिरहेता पनि चाडवाडका बेला सचेत हुँदाहुँदै पनि चोरी र लुटपाटका घटना बढेकोेले प्रहरीको कुकुर परिचालन गरिएको वडाध्यक्ष बोगटीले शब्दपाटीलाई बताए । 

dogg1696898588.jpg
प्रहरीको तालिम प्राप्त कुकुरले सुँघेर चोरी, लुटपाट र हत्यामा संलग्न अभियुक्तको साथै लागूऔषध सेवन गर्ने र ओसारपसार गर्ने व्यक्तिको तत्काल पहिचान गरेर पक्रिन सफल भएका थुप्रै उदाहरण छन् ।
लामाटारमा मात्रै नभई महालक्ष्मी नगरपालिकाकै वडा नं ८ को लुभु बसपार्क क्षेत्र र वडा नं ५ र ६ मा पर्ने टिकाथली र सानागाउँको बीचमा अवस्थित भाटभटेनी सुपरस्टोर आसपास पनि तालिम प्राप्त कुकुर परिचालन गरिएको प्रहरी प्रभाग लुभुका प्रमुख, प्रहरी नायव निरीक्षक सन्तोष बुढाथोकीले बताए ।

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  ०६:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार