‘जुआन’ स्थापनाको स्वर्ण महोत्सवमा बरुवासहितका पूर्वअध्यक्षहरूलाई सम्मान 

नेपाली विद्यार्थी जापानमा पढ्न जान थालेको १२१ वर्ष पूरा
शनिबार, असार २३, २०८०

काठमाडौ । जापानमा उच्चशिक्षा हासिल गरी स्वदेश फर्केका नेपाली विद्यार्थीहरूको संस्था ‘जापानिज युनिर्भसिटीज एलुम्नाई एशोसियसन नेपाल’ (जुआन) स्थापनाको ५० वर्ष पूरा भएको छ । सन् १९७३ मा सो संस्था स्थापना गरिएको थियो । सरकारी स्तरमा नेपाली विद्यार्थीहरू जापानमा पढ्न जान थालेको १ सय २१ वर्ष भइसकेता पनि जापानमा पढेर फर्केका विद्यार्थीहरूले ५० वर्ष अघिमात्र सन् १९७३ मा ‘जुआन’ संस्था स्थापना गरेका थिए । 

358685394_1007870593997807_608081149357315393_n1688798547.jpg
सन् १९०१ मा राणाकालीन सुधारवादी प्रधानमन्त्री श्री ३ देव शमशेरले आफ्नो छोटो कार्यकालमा ८ जना नेपाली विद्यार्थीलाई सरकारी खर्चमा विभिन्न विषयमा उच्चशिक्षा अध्ययनका लागि जापान पठाउने निर्णय गरेका थिए । 
त्यसपछिका प्रधानमन्त्री श्री ३ चन्द्र शमशेरले ती विद्यार्थीलाई सन् १९०२ मार्च ८ मा भारत हुँदै जापान पठाएका थिए । 
यसरी पहिलो पटक जापानमा उच्चशिक्षा पढ्न जाने नेपाली विद्यार्थीहरूमा जंगनरसिंह राणा र भक्तबहादुर बस्न्यात हतियार इन्जिनियरिङ्ग, देव नरसिंह राणा र वालनरसिंह रायमाझी खनिज, दीप नरसिंह राणा कृषि, हेमबहादुर राजभण्डारी मेकानिकल इन्जिनिरिङ्ग, रुद्रलाल सिंह व्यवहारिक रसायनशास्त्र र विचारमान सिंह सेरामिक्स (माटोको भाँडा,पछि रेशम खेती) थिए ।
जुआन स्थापनाको स्वर्ण महोत्सवका अवसरमा संस्थाका पूर्व अध्यक्ष एवम् संस्थापक मध्येका एक ८३ वर्षिय हरेन्द्र विकास बरुवालाई दोसल्ला र सम्मानपत्र सहित ‘जुआन दीर्घ सेवा सम्मान’बाट सम्मानित गरियो ।

358934925_1447966939297347_5663611180850388589_n1688798558.jpg
ललितपुर महानरपालिकाका प्रमुख चिरीबाबु महर्जनलगायत विशिष्ट व्यक्तिहरूको उपस्थितिमा जुआनद्वारा ललितपुरको हिमालय होटेलमा आयोजित स्वर्ण महोत्सव विशेष समारोहमा नेपालका लागि जापानी राजदूत युताका किकुताले पूर्व अध्यक्ष बरुवालाई ‘जुआन लाइफ टाइम सर्भिस अवार्ड’ बाट सम्मानित गरेका हुन् । ८३ वर्षिय पूर्व अध्यक्ष बरुवा अहिले पनि जुआनको हरेक क्रियाकलापमा उत्तिकै सकृयताका साथ लागि रहेका छन् । 
सोही अवसरमा जुआन कार्यसमितिले वर्तमान अध्यक्ष डा.प्रविण श्रेष्ठसहित संस्थाका पूर्व अध्यक्षहरू डा.तारानिधि भट्टराई, डा.बलबहादुर पराजुली, डा.केशव श्रेष्ठ, डा.रामेश्वर पोखरेल, डा.दिनेशराज भुजु, डा.रोहित पोखरेल, मनोज गिरी र डा.प्रेम पौडेललाई पनि सम्मान ग¥यो । राजदूत किकुताले उनीहरूलाई सम्मानपत्रद्वारा सम्मानित गरेका हुन् । 
सोही समारोहमा राजदूत किकुताले नेपाल राष्ट्र बैंकका पहिलो गर्भनर स्वर्गिय हिमालय शमशेर राणालाई मरणोपरान्त सम्मान गरेका थिए । सम्मान उनका छोरा अमर शमशेर राणाले ग्रहण गरेका थिए । 

359549972_651603936562131_3452766056377234993_n1688798560.jpg
कार्यक्रममा जुआनका अध्यक्ष डा. प्रविण श्रेष्ठले दूतावासलाई दिएको प्रशंसापत्र ग्रहण गर्दै राजदूत किकुताले नेपाल र जापानबीच सरकार सरकारबीचमात्रै नभई जनता जनताबीच पनि गाढा सम्बन्ध रहेको उल्लेख गरे । 
जापानमा उच्चशिक्षा अध्ययन गरेर फर्केका नेपाली विद्यार्थीबाट नेपालमा शैक्षिक, सामाजिक र प्राविधिक ज्ञान विस्तार गर्न सहयोग पुगेको पनि राजदूत किकुताले बताए । 
कार्यक्रममा जुआनको स्वर्ण महोत्सवको अवसरमा प्रकाशित ‘जुआन स्मारिका २०२३’ तथा जुआनका पुर्व अध्यक्ष बरुवाद्वारा लिखित पुस्तक ‘फ्रेण्डशिप एण्ड स्पिरिचुयल लिङक विथ द पिपुल अफ जापान’ जापानी राजदूत किकुताले विमोचन गरे । पुस्तकका लेखक बरुवाले पुस्तकमा समेटिएका विषयबारे प्रकाश पारेका थिए ।  त्यस अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले दुई देशबीचको सम्बन्धलाई प्रगाढ पार्न जुआनले खेलेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै जुआनले ललितपुरको बागमती करिडोरमा रोप्न लागेको साकुराको बिरुवाको संरक्षण गर्ने दायित्व महानगरले लिने प्रतिवद्धता प्रकट गरे । 
जुआनका अध्यक्ष डा.प्रविण श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा जुआनका पूर्वअध्यक्ष डा.केशव श्रेष्ठ, वर्तमान उपाध्यक्ष डा.खड्ग केसी, महाचिव डा.जीवन भट्टराई, टोयोटा नेपालका सुर्यांस वैद्य, जुआनका सदस्य प्रा.मनसा थापालगायतले बोलेका थिए । 

प्रकाशित मिति: शनिबार, असार २३, २०८०  १२:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार