सभापति तथा अन्य पदाधिकारीका लागि नेताबीच रस्साकस्सी सुरु 

बिहीबार, असोज ७, २०७८

डोटी– नेपाली कांग्रेसको पार्टी सभापति तथा अन्य पदाधिकारीका लागि जिल्लामा कांग्रेस नेताबीच रस्साकस्सी सुरु भएको छ । पार्टी सभापतिको उमेदवारका आकाङ्क्षी भएको जानकारी दिन अहिले केन्द्रदेखि जिल्लास्तरीय नेता गाउँगाउँमा पुगेका छन् । नेता गाउँमा आएका कारण यहाँका ग्रामीण क्षेत्रमा चहलपहल सुरु भएको स्थानीयवासी बताउँछन् । जिल्लामा वडा अधिवेशन सम्पन्न भएसँगै यही असोज ९ गते हुने नगर तथा पालिकाको अधिवशनका लागि भन्दै नेता गाउँगाउँमा रहेका आफ्ना नेता तथा कार्यकर्तामाझ पुग्न थालेका बडिकेदार गाउँपालिका–५ का काङ्ग्रेस नेता दानबहादुर कलेलले बताए । पार्टी केन्द्रीय कार्यालयले १४औँ महाधिवेशनका लागि जिल्ला अधिवेशन यही असोज १५ गते तोकेपछि जिल्लामा नेताहरूको चहलपहल झनै बढेको हो । कांग्रेसको मौजुदा विधानले दुई कार्यकालसम्म जिल्ला सभापतिको जिम्मेवारी लिनसक्ने व्यवस्था गरेको छ । त्यसैले वर्तमान जिल्ला सभापति प्रदीपकुमार देउवा अझै एक कार्यकाल सभापतिको उम्मेदवार हुन पाउने भएपछि उनले पनि १४औँ महाधिवेशनमा सभापतिमा आकाङ्क्षा देखाइरहेका छन् । उता १३औँ महाधिवेशनमा सभापति देउवासँग पराजित भएका रामप्रसाद उपाध्यायको नाम यसपटक पनि निकै चर्चामा छ । उनले आफूलाई स्वभाविक उम्मेदवार रहेको र पालो पनि आफ्नो भएको बताउँदै आइहेका छन् । यसैगरी महासमिति सदस्यद्वय नरेन्द्रबहादुर सिंह र भूमिराज बडूले पनि सभापतिमा दाबेदारी प्रस्तुत गर्दै आइरहेका छन् । जिल्लामा कांग्रेस निर्वाचन निकै रोमाञ्चक हुने आकलन गरिएको नेता घनश्याम पाठकले बताए । उम्मेदवारका दाबेदार नेता अहिले खुलेर आफ्नो पक्षमा माहोल बनाउन पालिकाका अभियानमा लागिरहेका छन् । 
 

प्रकाशित मिति: बिहीबार, असोज ७, २०७८  १२:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार