संघीय सरकारलाई पूर्णता दिँदै प्रदेश १ र बागमतीमा सरकार बनाउन गठबन्धन दलले पहल गर्ने 

बुधबार, असोज ६, २०७८

काठमाडौँ । सत्ता गठबन्धनको बैठकमा सरकारलाई पूर्णता दिने विषयमा छलफल भएपछि कसरी पूर्णता दिने विषयमा ठोस निष्कर्ष निस्केको छैन । सरकारलाई पूर्णता दिनका  लागि नेकपा एस तथा जनता समाजवादीका तर्फबाट मन्त्रि परिषद्मा सहभागी हुने सदस्यको नामावली प्राप्त नहुँदा अघि बढ्न सकेको छैन । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको गठबन्धनको बैठकमा जतिसक्दो चाँडो मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा छलफल भएको बैठकमा सहभागी नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए ।  “बैठकमा मन्त्रिपरिषद् विस्तार, सदन सञ्चालन, सदनमा पेश भएका विभिन्न विधेयकका बारेमा छलफल भयो”, उनले भने, “जतिसक्दो चाँडो मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा पनि छलफल भयो ।”
 प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष डा बाबुराम भट्टराई र उपेन्द्र यादव तथा कानून न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी थिए । यसैबीच सत्तारुढ दलका शीर्ष नेताहरुको बैठकमा प्रदेश १ र बाग्मती प्रदेशमा गठबन्धन सरकार गठनको गृहकार्य थाल्ने सहमति भएको छ । गठबन्धन दलको बैठकमा दुबै प्रदेशमा सरकार गठनका लागि गृहकार्य थाल्ने सहमति जुटेको हो । एमाले विभाजन भएर माधवकुमार नेपाल नेतृत्वमा नेकपा एकीकृत समाजवादी दल दर्ता भएसँग दुबै प्रदेशमा नेकपा एमालेको सरकार अल्पमतमा परेको छ ।
प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य र बागमतीकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले दशैं अघि नै विश्वासको मत लिनुपर्छ ।
दुबै प्रदेशमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी मिल्ने हो भने विपक्षमा बहुमत पुग्छ र नयाँ सरकार बन्छ । तर कुन दलको नेतृत्वमा सरकार गठन गर्ने भन्ने टुंगो लागेको छैन । एकीकृत समाजवादीले दुबै प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेको छ । प्रदेश १ को मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिन दलहरु तयार देखिएका छन् । तर बागमतीको मुख्यमन्त्रीमा कांग्रेसको पनि दाबी छ ।
बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेश र मन्त्रिपरिषद् विस्तारबारे छलफल भएपनि सहमति जुटिसकेको छैन ।

प्रकाशित मिति: बुधबार, असोज ६, २०७८  २२:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार