डा.भक्तमानको अपहरणमा संलग्न पण्डित पक्राउ 

बुधबार, असोज ६, २०७८

काठमाडौँ । चितवनका चिकित्सक (बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका तत्कालीन कार्यकारी निर्देशक) डा भक्तमान श्रेष्ठको अपहरणमा संलग्न रही फरार एक व्यक्ति लामो समयपछि पक्राउ परेका छन् । 
प्रहरीको कन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) को टोलीले नुवाकोट जिल्लाको विदुर नगरपालिका–१२ मुलाबारीबाट स्थानीय ४५ वर्षीय राजेन्द्र पण्डितलाई पक्राउ गरेको हो । अपहरण तथा शरीर बन्धक कसुरमा उच्च अदालत हेटौँडा इजलासको विसं २०७० माघ २१ को फैसलाले उनलाई नौ वर्ष कैद र रु ५० हजार जरिवाना सुनाएको थियो । 
तत्कालीन मुलिकी ऐन, (२०२०) को अपहरण तथा शरीर बन्धक लिनेको महलको ३ नं बमोजिम सात वर्ष कैद र सोही महलको ७ नं बमोजिम दुई वर्ष थप कैद गरी जम्मा नौ वर्ष कैद तोकिएको थियो । 
त्यसपछि पण्डित फरार हुँदै कहिले नेपाल त कहिले भारतमा लुकेर बसेका थिए । पछिल्लो समयमा नेपाल प्रवेश गरेको सूचना पाएपछि केही अघिदेखि सिआइवीको टोलीले उनको खोजी थालेकोमा मङ्गलबार पक्राउ परेका हुन् । उनलाई फैसला कार्यान्वयनका लागि आज जिल्ला अदालत काठमाडौँमा पेस गरिएको सिआइवीका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए । 
अपहरणमा संलग्न नुवाकोटका बद्रिप्रसाद ढुङ्गाना, काठमाडौँका गौतम योञ्जन, भारतका रोहित पालिवाललगायत पक्राउ परिसकेका छन् । मुख्य अभियुक्त भनिएका नुवाकोटका भीमसेन पण्डित अझै फरार छन् । भारतमा रहेका उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ । राजेन्द्र भने भीमसेनका नजिकका मान्छे हुन् । उनी डा श्रेष्ठको अपहरणपछि राख्ने ठाउँको व्यवस्थापनमा संलग्न रहेको प्रहरीले जनाएको छ ।
विसं २०६७ जेठ ४ मा चितवनको भरतपुर महानगरपालिका–१०, साबिकको भरतपुर नगरपालिका–१० चौबिसकोटीस्थित चितवन अस्पतालबाट घर फर्कँदै गर्दा स्थानीय हाकिमचोक नजिकको भित्री सडकबाट डा श्रेष्ठलाई अपहरण गरिएको थियो ।  
प्रहरी प्रधान कार्यालयका अनुसार अपहरणपछि उहाँलाई काठमाडौँ र नुवाकोटका विभिन्न ठाउँमा बन्धक बनाई राखिएको थियो । अपहरण भएको १८ दिनपछि फिरौती लिएर डा श्रेष्ठलाई अपहरणकारीले छाडेका थिए । अपहरणको चार दिनपछि उहाँको ब्रिफकेस चितवनको मुग्लिन नजिक घोप्टेभिरमा फेला परेको थियो ।
अपहरणकारीलाई उहाँका परिवारले फिरौतीबापत भारतमा साढे तीन किलो सुन (तत्कालीन मूल्यअनुसार रु एक करोड १० लाख पर्ने) बुझाएपछि डा श्रेष्ठ विसं २०६७ जेठ २२ गते धादिङको माझिकोटबाट अपहरणमुक्त भएका थिए । 
त्यो बेला उनीहरूले कल बाइपास गरेर परिवारसँग सम्पर्क गर्ने गरेका थिए । यसअघि काठमाडौँ महानगरपालिका–४ बस्ने ४१ वर्षीय गौतम योञ्जनलाई पनि सिआइवीको टोलीले नै काठमाडौँबाट पक्राउ गरेको थियो ।
 

प्रकाशित मिति: बुधबार, असोज ६, २०७८  २१:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार