बडिमालिकाकी उपप्रमुख कविता विष्टको वार्षिक मोबाइल खर्च ७२ हजार !

सुबिधा बपत लिए एक करोड रुपैयाँभन्दा बढी रकम
मंगलबार, असोज ५, २०७८
 

बाजुरा : बाजुराको बडिमालिका नगरपालिकाका जनप्रतिनिधिले आर्थिक वर्ष ०७६/७७ मा एक करोड रुपैयाँभन्दा बढी रकम सुबिधा बपत लिएका छन् ।

यहाँका जनप्रतिनिधिहरूले विभिन्न सेवा सुविधा शीर्षकमा एक वर्षमा एक करोड एक लाख १७ हजार पाँच सय २९ रुपैयाँ लिएको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनअनुसार सबैभन्दा बढी सुविधा बुझ्नेमा नगर उपप्रमुख कविता विष्ट रहेकी छन् । उनले बैठक भत्ताबापत १२ हजार, यातायात खर्च शीर्षकमा एक लाख २० हजार, टेलिफोन मोबाइलमा ७२ हजार, पुस्तक पत्रपत्रिका, इन्टरनेट ६० हजार, समन्वय तथा सहजीकरणमा एक लाख आठ हजार, अतिथि सत्कारमा एक लाख २० हजार, खानेपानी, बिजुली तथा सरसफाइमा ४२ हजार, चाडपर्व खर्च शीर्षकमा २५ हजार गरी पाँच लाख ४७ हजार लिएको उल्लेख छ । 

नगरप्रमुख पदम बडुवालले बैठक भत्ताबापत १२ हजार, टेलिफोन सेवा शीर्षकमा ८४ हजार, पुस्तक पत्रपत्रिका र इन्टरनेट ७८ हजार, समन्वय तथा सहजीकरण एक लाख २० हजार, अतिथि सत्कारमा एक लाख ३२ हजार, खानेपानी बिजुली तथा सरसफाइबापत ४८ हजार र चाडपर्व खर्च शीर्षकमा २७ हजार पाँच सय लिएका छन् । उनले यातायात खर्च शीर्षकमा भने रकम लिएका छैनन् । नगरप्रमुख बडुवालको जम्मा खर्च चार लाख ८९ हजार पाँच सय रुपैयाँ लिएको प्रतिवेदनमा उल्लेख छ । 

वडाअध्यक्षहरूलाई ३१ सुविधा  
नगरपालिकाका वडाअध्यक्षहरूले पनि प्रतिव्यक्ति बैठक भत्ताबापत ६ हजार दुई सय लिएका छन् । यातायात खर्च प्रतिव्यक्ति ३० हजार लिएको देखाएको छ । यसैगरी टेलिफोन मोबाइल खर्चबापत प्रतिव्यक्ति ४८ हजार, पुस्तक पत्रिका इन्टरनेटबापत हरेक वडाध्यक्षले ४८ हजार, समन्वय तथा सहजीकरण शीर्षकमा ७८ हजार, अतिथि सत्कार बापत ९६ हजार, खानेपानी, बिजुली, सरसफाइबापत ३० हजार र चाडवाड खर्च प्रतिवडाध्यक्ष १८ हजारका दर ३१ लाख ३२ हजार लिएको उल्लेख छ । 

कार्यपालिकाका सातजना सदस्यहरूमा बैठक भत्ता प्रतिव्यक्ति सात हजार आठ सय ५८ रुपैयाँ लिएका छन् । यसैगरी यातायात खर्च प्रतिव्यक्ति ३० हजार, टेलिफोन मोबाइलमा प्रतिव्यक्ति ४२ हजार, पुस्तक पत्रपत्रिका र इन्टरनेट खर्च प्रतिव्यक्ति ४२ हजार, समन्वय तथा सहजीकरण ७२ हजार, खानेपानी बिजुली र सरसफाइमा ५२ हजार पाँच सय र चाडपर्ब खर्चबाफत प्रतिव्यक्ति एक लाख २० हजार लिएको तथ्यांक छ । कार्यपालिका सदस्यहरूको जम्मा खर्च २३ लाख ५२ हजार रहेको छ । कार्यपालिका सदस्यहरूले अतिथि सत्कार खर्च लिएका छैनन् ।

नगरसभाका ३० सदस्यले पनि ३४ लाख ६३ हजार २९ रुपैयाँ बुझेका छन् । जसमा प्रतिसदस्य टेलिफोन, मोबाइल खर्चबापत प्रतिव्यक्ति २३ हजार ६ सय रुपैयाँ लिएका छन् । यस्तै पुस्तक पत्रिका इन्टरनेट खर्च २९ हजार पाँच सय, समन्वय तथा सहजीकरण ४७ हजार दुई सय, खानेपानी बिजुली र सरसफाइमा ११ हजार आठ सय र चाडपर्व खर्चबापत तीन हजार तीन सय ३५ रुपैयाँ लिएको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति: मंगलबार, असोज ५, २०७८  १५:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार