डिजिटल प्रणालीमा रुपान्तरण हुँदै आयल निगम 

सोमबार, पुस २७, २०७७

काठमाडौं । ‘जहाँ इच्छा त्यहाँ उपाय’ भने झैँ नेपाल आयल निगमले वर्षौंदेखि झेल्दै आएका आन्तरिक तथा बाह्य समस्या सुल्झाउन यतिखेर निगमको व्यवस्थापन लागिपरेको छ । यसका लागि लामो समयदेखि विभिन्न कारणले रोकिएका योजनालाई एकैसाथ अघि बढाएर काम थालेको निगमले कामको कीर्तिमान नै राख्ने गरी तयारीमा जुटेको जनाएको छ । 
निगमले थालेका पछिल्ला कार्यमध्ये सुधारको नमूनाका रुपमा थानकोट डिपोलाई लिन सकिन्छ । केही समय पहिलासम्म अस्तव्यस्तरुपमा रहेको वाग्मती प्रदेशको प्रादेशिक कार्यालयसमेत रहेको सो कार्यालय अहिले एउटा नमूना कार्यालयकैरुपमा दर्ज हुन सफल पनि भएको छ । कार्यालय परिसर चिटिक्क पारिएको छ । अस्तव्यस्तरुपमा बाटोभरि पार्क गर्ने गरिएका तेल बोक्ने ट्याङकरहरु अहिले ढलान गरिएको आफ्नै पार्किङमा लाइनमा राखेको देख्न सकिन्छ ।  दश वर्ष पहिले थानकोट डिपोबाट दैनिक करीब १० गाडी पेट्रोल, १५ गाडी डिजेल र २–४ गाडी मट्टितेल खपत हुन्थ्यो । तर पछिल्ला १० वर्षमा यी इन्धनको खपत ह्वात्तै बढेको छ । अहिले १०० गाडीको हाराहारीमा दैनिक कारोवार हुने गरेको छ । अहिले दैनिक एक हजार ५०० देखि दुई हजार किलोलिटर इन्धन यहाँबाट बाहिरिन्छ । यसका लागि निगमको क्षमता बढाउनुको विकल्प थिएन । नियमित मर्मतसम्भार हुन नसक्दा डिपोको अवस्था नाजुक थियो । सेवाग्राहीको सङ्ख्या पनि व्यापकमात्रामा बढेको छ । पेट्रोलियम पदार्थ निकै संवेदनशील हुने भएकाले पनि उचित सुरक्षा र सरसफाइ जरुरी हुन्छ, र त्यसमा निकै कमी पाइएको थियो । 
डिलर, पम्पलाई राम्रो बनाउनुपर्छ भनेर दबाब दिने निगम स्वयंको डिपो भने कवाडजस्तो अवस्थामा राख्नुहुन्न भन्ने सोचाइका साथ सुधार र मर्मतसम्भारका कामलाई अघि बढाइएको निगमले जनाएको छ ।  
थानकोट डिपोका कार्यालय प्रमुख ई प्रदीप कुमार यादव भन्छन्, ‘सरकारी कार्यालय भन्नेबित्तिकै हाम्रो मानसपटलमा टुटेफुटेका झ्याल, ढोका र फोहर शौचालयको तस्वीर आउँछ । विगतमा सरकारी कार्यालयको आवश्यक मर्मत र सम्भार नहुँदा मानिसको दिमागमा यस्तो पर्न गएको हो । तर अहिले यहाँ आइपुग्ने सेवाग्राही निकै प्रसन्न छन् । काममा छिटोछरितो भएको छ, सेवाग्राहीले तुरुन्त सेवा पाउने वातावरण बनेको छ । पहिले एक घण्टा लाग्ने काम अहिले १०–१५ मिनेटमै हुने गरेको छ ।’ 
भौतिक सुधारका लागि थानकोट डिपोमा यस वर्ष झण्डै पाँच करोड खर्चिएको निगमले सुधारका कार्यलाई व्यापकता दिएको छ । कार्यालय प्राङ्गण सफा सुग्घर हुनुका साथै क्यान्टिन, सभाहल, प्रतीक्षालय, शौचालयसमेतका आधारभूत पूर्वाधार निर्माण भएका छन् । स्थानीयवासीले सधैँ गुनासो गर्दै आएको पार्किङको विषय पनि अहिले सुल्झिएको छ । थानकोटको राजमार्गदेखि निगमको डिपोसम्मको करिब ३०० मिटर भित्री बाटोमा १०० देखि १५० वटा बढी ट्याङ्कर दिनभर पार्क गरिन्थ्यो । बाटोमा एम्बुलेन्स, विद्यालयका बससमेत गुड्ने अवस्था पनि हुँदैनथ्यो । स्थानीयवासीका लागि पनि टाउको दुखाई हुँदै आएको यो समस्या निगमले अहिले सुल्झाएको छ । अहिले निगमकै झण्डै ६० रोपनी जग्गाभित्र पूर्वतर्फ झण्डै ३०० वटा ट्याङ्कर अटाउने व्यवस्थित पार्किङ स्थल बनाइएको छ । 
डिपोभित्र तेल जाँच गराउन पुगेका एक ट्याङ्कर चालक मनोज अधिकारी भन्छन्, ‘दश महिना पहिले यहाँ सेवा लिन घण्टौँ बस्नुपथ्र्यो । तेल खन्याउन र भर्न आफ्नो पालो कहिले आउला भनेर कुर्नुपथ्र्यो । अहिले त्यस्तो छैन । आफ्नो कागज पेश गरेर टोकन लियो, पालैपालो सेवा लियो । ‘सिस्टम’ बसेको छ । डिपोले दिने सेवामा ८० प्रतिशतभन्दा बढी सुधार आएको छ ।’ 
निगमले कार्यक्षमतामा सुधार ल्याउन गरेको अर्को प्रयास हो लोड–अनलोड सेड निर्माण । करीब रु एक करोडको लागतमा निगमले यसै वर्ष तीन वटा सुविधा सम्पन्न र अग्नि सुरक्षित सेड निर्माण गरेको छ । निगमसँग यसअघि सात वटा सेड थिए, अर्थात् एकपटकमा सात वटा ट्याङ्करमा तेल भर्न सकिन्थ्यो । तर अब १० वटासम्म ट्याङ्करमा एकसाथ तेल पर्न सकिन्छ । सुरक्षात्मक उपाय मजबूत बनाइएका यी प्रत्येक सेडबाट १५–२० मिनेटभित्रै एक ट्याङ्कर तेल भर्न सकिन्छ ।   

यादव भन्छन्, ‘यो संवेदनशील स्थान भएको हुनाले हामी यसमा सचेत छौँ । यहाँ हामीले सुरक्षाका सबै उपायहरु अवलम्बन गरेका छौँ । दमकललगायतका सबै कुरा तयारी अवस्थामा हुन्छन् । यहाँ आगलागी भए पनि दुई मिनेट भित्रै निभाउन सक्ने क्षमता निगमसँग छ ।’ 
सेवाग्राहीको सजिलोका लागि अहिले टोकन प्रणाली राखिएको छ । सबै काम कम्प्युटर प्रणालीमा हुने हुनाले कुनै समस्या हुँदैन र काममा छिटो हुन्छ । डिलर र ट्रान्सपोर्टरलाई कुनै समस्या हुँदैन । घण्टाँै पखर्नुपर्ने काम केही समयमा नै हुन्छ । त्यसैले चाह्यो भने काम गर्ने तरिका या प्रणालीमै परिवर्तन गर्न सकिने यादव बताउँछन् । 

निगमका डिपोहरु अटोमेसन हुँदै  
इन्धन वितरणमा सहजता ल्याउन र विश्वासिलो बनाउन डिपो स्वचालित (अटोमेसन)मा जानुको विकल्प छैन । अटोमेसन भनेको डिपोका ठूला ट्याङ्करमा तेल भर्ने, लोड–अनलोड कम्प्युटरीकृत गर्ने तथा सम्पूर्ण कारोवार विद्युतीय प्रणालीमा गर्ने हो । यसो गर्दा निगमको सम्पूर्ण कार्य प्रक्रिया पारदर्शी बनाउन सघाउ पुग्छ । इञ्जिनीयर यादव भन्छन्, ‘अहिले हामीसँग म्यानुएल विधि छ, मान्छेले सबै नाँपजाँच गर्नुपर्छ । अटोमेसन भएपछि कम्प्युटरले सबै नियन्त्रण गर्दछ, मान्छेको भूमिका कम हुन्छ । जस्तो कि अहिले १२ हजार लिटर तेल दिनु परे मान्छेले नापेर दिन्छन् तर अटोमेसनमा गएपछि कम्प्युटरले नापेर दिन्छ, १२ हजार पुगेपछि रोकिन्छ र स्वचालितरुपमा बिल बन्छ ।’
निगमको निकै महत्वाकाङ्क्षी यो योजना निकै अघि बढिसकेको ई. यादवको भनाइ छ । निगमले डिपोलाई अटोमेसनमा लैजान कस्ता किसिमका उपकरण चाहिन्छ, कहाँकहाँ परिवर्तन गर्नुपर्छ, के कति खर्च लाग्छ, त्यसका लागि परामर्शदाता छनोटको काम अगाडि बढाइसकेको छ । हाल परामर्शदाता छनोटका लागि मूल्याङ्कन प्रक्रियामा रहेको निगमले जनाएको छ । ई. यादवको भनाइमा परामर्शदाता छनोट भइसकेपछि एक वर्षभित्रै मोडालिटी तयार हुन्छ, र कुनै अवरोध नआए दुई वर्षभित्रै निगमका डिपो पुरै अटोमेसनमा गइसक्छन् । 
‘अटोमेसनमा जाँदा निगमको हालको छविमा पनि व्यापकमात्रामा सुधार आउनेछ । तेल वितरणमा विगतमा उठाइने कैयौँ आशङ्का र प्रश्नलाई यसले सम्बोधन गर्नेछ । निगमका अनुसार हालको म्यानुएल विधिबाट काम गर्दा निगमका कर्मचारीमाथि तेल कम दियो, अथवा अन्य गुनासा हुने गर्दथे, अटोमेसनले त्यसलाई सम्बोधन गर्नेछ भने सेवाग्राहीमा पनि विश्वासको वातावरण बन्ने निगमको विश्वास छ । डिलरले पनि राम्रो सेवा पाउँछन् भने कर्मचारी पनि सुरक्षित हुन्छन्’, ई. यादव भन्छन् । 
भण्डारणका लागि डिजेलको आठ हजार ४०० किलोलिटर, पेट्रोलको छ हजार २०० किलोलिटर र मट्टितेलको ७६० किलोलिटरका ट्याङ्कर छन् । अहिलेकै अवस्थामा डिजेल १० दिन र पेट्रोल एक हप्ताका लागि पुग्छ । पेट्रोलका लागि करीब ५५ देखि ६० करोडको लागतमा चार÷चार हजार किलोलिटर क्षमताका दुई वटा भण्डारण ट्याङ्क बनाउने क्रममा छ निगम । यसको टेन्डर एक महिनाभित्रै गर्ने तयारी छ । यो ट्याङ्क बनेपछि थानकोट डिपोले २० दिनका लागि पेट्रोल आपूर्ति गर्न सक्नेछ । 
डिजेल आपूर्तिमा भने निगमलाई कुनै समस्या छैन । अमलेखगञ्ज डिपोसम्म भारतबाट पाइपमार्फत निर्वाधरुपमा डिजेल आपूर्ति भइरहेको छ । पेट्रोल भने निगमले भारतको रक्सौल र बरौनी डिपोबाटै ल्याइरहेको छ । खासगरी अमलेखगञ्ज डिपोमा पेट्रोल भण्डारणका लागि पर्याप्त ट्याङ्क नभएकाले पाइपबाट पेट्रोल ल्याउने कार्य शुरु भइसकेको छैन । चाँडै निगमले अमलेखगञ्जमा डिपो बनाउँदैछ, र त्यो बनेपछि सीमामा कुनै कठिनाइ भए पनि पेट्रोल र डिजेल दुवैको आपूर्ति नेपालभित्र नियमित र सुलभ हुनेछ । 
थानकोट डिपोले काठमाडौँ उपत्यकाका तीन जिल्लासहित कूल १० जिल्लाका लागि पेट्रोलियम पदार्थ वितरण गरिरहेको छ । निगमका अनुसार थानकोट डिपोका लागि भारतबाट ४२५ वटा ट्याङ्करले तेल ओसार्न अनुमति पाएका छन् । यस डिपोबाट तेल लिएर बिक्री गर्ने काठमाडौं उपत्यकामा १२० तथा उपत्यका बाहिरका ६० वटा बिक्रेता छन् । रणनीतिक महत्व राख्ने इन्धनको भण्डारण, व्यवस्थापन र वितरणका कार्यलाई अधिकारिक पारदर्शी बनाउनसके निगमको विश्वसनीयता बढ्नेमा कुनै शङ्का छैन ।
 

प्रकाशित मिति: सोमबार, पुस २७, २०७७  ०४:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार