आफ्नो कार्यकालको योजना बनाउँदै बाइडन

अमेरिकी निर्वाचन २०२०
सोमबार, कात्तिक २४, २०७७

काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडनले कोरोनाभाइरस महामारीसँग जुझ्ने विषयलाई आफ्नो प्रमुख प्राथमिकतामा राख्ने उनको टोलीले जनाएको छ । उनी राष्ट्रपति डोनल्ड ट्रम्पलाई पराजित गर्दै अमेरिकाको ४६ औँ राष्ट्रपति हुने भएका हुन । उनको टोलीका अनुसार अमेरिकामा कोरोनाभाइरस परीक्षणको दायरा बढाइनेछ । सर्वसाधारणहरूलाई मास्क लगाउन भनिनेछ । बाइडनले जातीय विभेद र जलवायु परिवर्तन जस्ता मुद्दाको सामना गर्दै अर्थतन्त्रमा ध्यान केन्द्रित गर्ने बताइएको छ ।
तर ट्रम्पले हार स्वीकारेका छैनन् । 
राष्ट्रपति ट्रम्पले भने हालसम्म हार स्वीकार गरिसकेका छैनन् र बाइडनको जित प्रक्षेपणमै सीमित छ । केही महत्वपूर्ण राज्यहरूमा मतगणना जारी छ । 
तर अमेरिकाका मुख्य नेटवर्कहरूले निर्वाचनमा उनी विजयी भएको भनेसँगै डेमोक्रेटिक दलका तर्फबाट निर्वाचनमा सहभागी उनी जनवरी महिनामा सत्ता सम्हाल्ने योजनासहित तयारीमा जुटेका छन् ।
अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार बाइडनको नेतृत्वमा अमेरिकाले प्यारिस सम्झौता पुनः स्वीकार गर्नेछ ।
त्यस्तै अमेरिका विश्व स्वास्थ्य सङगठनबाट बाहिरिने निर्णय पनि बाइडनले बदर गर्ने बताइएको छ ।
ट्रम्प प्रशासनले सातवटा मुलुकमा जारी गरेको यात्रा प्रतिबन्धको व्यवस्था पनि अन्त्य गरिने बताइएको छ । ती सात मुलुकमा अधिकांश मुस्लिम राष्ट्र छन् ।
राष्ट्रपति निर्वाचित भएपछिको पहिलो भाषणमा शनिबार उनले यो ‘निको हुने समय’ भएको बताएका थिए ।
डेमोक्रयाटिक पार्टीका तर्फबाट उम्मेदवार बनेका उनले देशलाई ‘विभाजित हैन एकताबद्ध पार्ने’ प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
शनिवारको सम्बोधनमा उनले जनताले आफूलाई स्पष्ट रूपमा जिताएको भन्दै कृतज्ञता प्रकट गरेका थिए ।
बाइडनले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा ७.४ करोडभन्दा बढी मत प्राप्त गरेको बताएका छन् ।
‘म तपाईंहरूले मप्रति देखाउनुभएको विश्वासबाट अनुगृहीत छु’, उनले भने, ‘म विभाजन गर्न खोज्ने हैन बरु एकताबद्ध गर्ने राष्ट्रपति बन्ने बाचा गर्छु जसले राता र नीला राज्य हैन, केवल संयुक्त राज्य (अमेरिका) देख्छ ।’
अमेरिकामा डेमोक्रयाटिक पार्टीले नीलो रङग र रिपब्लिकन पार्टीले रातो रङग प्रयोग गर्छन् । बाइडनले ती दुई दलले जितेका राज्यलाई ती भिन्न रङगबाट छुट्याइने कुराको सङके गरेका हुन् ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०७७  १६:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार