एनआरएनएमा धमाधम उम्मेदवारी घोषणा 

कुल आचार्यले अध्यक्षमा उम्मेदवारी दिने
शनिबार, भदौ ५, २०७८

लण्डन । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का सल्लाहकार कुल आचार्यले गैरआवासीय नेपालीको सम्पत्तिको सुरक्षा, लगानी प्रवद्र्धन तथा सुरक्षित वैदेशिक रोजगारीका विषयलाई मुख्य एजेन्डा बनाउँदै आफूले सङ्घको केन्द्रीय अध्यक्षमा उम्मेदवारी दिन लागेको जनाएका छन् । उनले सन् २०२१–२०२३ कार्यकालका लागि निर्वाचित भएमा सबै गैरआवासीय नेपाली अटाउने संस्था बनाउन आफूले काम गर्ने बताए । सङ्घको दशौँ अधिवेशन आगामी अक्टोबर २३–२५ मा काठमाडौँमा हुन गइरहेको छ भने पहिलोपटक अनलाइन माध्यमबाट निर्वाचन हुने बताइएको छ । 
“नेपालको संविधान जारी भएको छ वर्षसम्म पनि संविधानमै व्यवस्था भएको गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा नआउँदा लाखौँ प्रवासी नेपाली प्रभावित भएका र मैले तीन पुस्ता पछि पनि कायम रहने पासपोर्टसहितको गैरआवासीय नेपाली नागरिकताका लागि लामो समयदेखि आवाज उठाउँदै आएको छु, म निर्वाचित भएमा सबै राजनीतिक दल तथा नेपाल सरकारसँग पहल गरेर गैरआवासीय नेपाली नागरिकता लागू गरी छाड्ने छु”, आचार्यले भने । 
सल्लाहकार आचार्यले युवा तथा महिलालाई संस्थामा अगाडि बढाउनाका साथै सङ्घको सुदृढीकरण तथा शुद्धीकरण आफ्नो प्राथमिकता हुने पनि जनाए । “विदेशमा बस्ने नेपालीले पठाएको रकम (विप्रेषण) ले नेपाल को अर्थतन्त्र धानेको छ तर मध्यपूर्व, मलेसियालगायतका मुलुकमा नेपालीका लागि सुरक्षित र मर्यादित रोजगारको वातावरण सिर्जना गर्न धेरै काम गर्न बाँकी छ, सङ्घले यस क्षेत्रमा पहल गरिरहेको छ, सबै साझेदारसँग मिलेर ठोस नतिजा देखिने गरी मैले काम गर्ने छु”, उनले भने । 
नेपाल सरकारले मान्यता दिएको एनआरएनए परराष्ट्र मन्त्रालयमा दर्ता छ । अहिले संसारभरि यसका सदस्यको सङ्ख्या एक लाख नाघेको बताइएको छ । ‘अहिले हाम्रो संस्था ८० भन्दा बढी मुलुकमा पुगी सकेको छ, तर केही समस्या पनि देखिएका छन्, केन्द्रले राष्ट्रिय समन्वय परिषद्लाई नियन्त्रण गर्नुपर्छ भन्ने कुरामा म विश्वास गर्दिन, राष्ट्रिय समन्वय परिषद्लाई स्वायत्त, सुदृढ र आत्मनिर्भर बन्न सघाउने मेरो नीति हुने छ’, उनले सुनाए । 
‘एक पटकको नेपाली सधैँको नेपाली’ भन्ने मूल नारा बोकेको एनआरएनएले प्रवासमा रहेका नेपालीलाई एकजुट गर्दै उनीहरूसँग रहेको सीप, पूँजी र अनुभव नेपालको विकासमा उपयोग गर्ने उद्देश्य राखेको छ । “एनआरएनएप्रति प्रवासी नेपालीको मात्रै होइन, मातृभूमि नेपाल र नेपालीको पनि उत्तिकै अपेक्षा छ, हामीले ती अपेक्षालाई सम्बोधन गर्न सक्नुपर्छ”, उनले भने । 
पर्वतको धाइरिङमा जन्मिएका आचार्य गएको दुई दशकभन्दा बढी समयदेखि बेलायतमा बसोबास गर्छन् । उनी एक सफल व्यवसायीको रुपमा पनि चिनिन्छन् ।
“सन् २००३ मा अग्रजले सङ्घ स्थापना गर्दा अगाडि सारेको भिजनलाई नै समयानुकूल बनाई आफूले काम गर्ने दृढता रहेको र संसारभरि फैलिएका नेपाली नेपाल समृद्ध भएको हेर्न चाहन्छन्, यसका लागि सङ्घले सक्दो पहल गरिरहेको छ, नेपाल सरकारले यसका लागि उपयुक्त वातावरण बनाई देओस् भन्ने मात्र हाम्रो चाहना हो”, आचार्यले भने ।

एनआरएनएम युरोपको उपसंयोजकमा भीम केसीले उम्मेदवारी दिने
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को आगामी अक्टोबरमा हुने १०औँ महाधिवेशनमा पोर्चुगलबाट युरोपको उपसंयोजकमा भीम केसी (कमल), युवा संयोजक पदमा रोबर्ट लिम्बूले उम्मेदवारी दिने तयारी गरेका छन् ।     पोर्चुगलका पूर्वअध्यक्ष भीम केसी डेढ दशकदेखि एनआरएनए अभियानमा सक्रिय रहेका  छन् । उनी एनआरएनए पोर्चुगलको अध्यक्ष, उपाध्यक्ष र सल्लाहकारका रूपमा समेत आफ्नो भूमिका निर्वाह गरिसक्नुभएको छ । एनआरएनएको केन्द्रीयस्तरका विभिन्न समिति र कार्यदलमा रहेर काम गरेको उनीसँग अनुभव छ । पोर्चुगल र युरोपमा रहेका नेपाली आप्रवासीहरुको हकहित र अधिकार स्थापित गर्न निरन्तर काम गर्दै आएका छन् । 
आप्रवासीसम्बन्धी कानुनमा सरलीकरणको लबिङ गर्दै पोर्चुगलका तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीलाई ज्ञापनपत्र पठाउने, पोर्चुगलको संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको संसदीय दलसँगको  प्रत्यक्ष भेटघाट र छलफल सहभागी भई नेपाल एवं दक्षिण एशिया क्षेत्रकै आप्रवासीहरु समस्या समाधान गर्न केही हदसम्म भूमिका खेलेका थिए । 
बाग्लुङको जैमिनी नगरपालिका–२ मा जन्मिएका केसीले शिक्षा र व्यवस्थापनमा स्नातकोत्तर गरी १० वर्षसम्म शिक्षण एवं शिक्षा प्रशासनको उच्च सरकारी तहमा काम गरेका थिए । केसी हाल पोर्चुगलको सुन्दर टापु मदेइरामा आफ्नै पर्यटन, ट्रान्स्पोर्ट र रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आएका छन् । 
युरोप क्षेत्रीय संयोजकमा पोर्चुगलका लिम्बूले  उम्मेदवारी गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १०औँ विश्व अधिवेशनको नजिकै गर्दा युरोप क्षेत्रीय संयोजकमा पोर्चुगलबाट रोबर्ट लिम्बूले  उम्मेदवारी घोषणा गरेका हुन् । युवाको नेतृत्व विकास आफ्नो प्रमुख एजेन्डा भएको बताउने लिम्बूले  युरोपेली  मुलुकमा कार्यरत नेपाली युवाको सीपलाई नेपालका युवासम्म लैजाने र उनीहरुसँगको सहकार्यबाट देशको विकासमा योगदान दिने योजनाका साथ आफ्नो उम्मेदवारी भएको बताए । 
पछिल्लो समयमा सङ्घको अभियानप्रति युवाहरू चासो नभएको युवा शक्तिलाई एकीकृत गर्दै युवाहरुलाई समेट्न आफूले युवामैत्री कार्यमा विशेष कदम चाल्नेसमेत उनले बताए । लिम्बू विगत १३ वर्षदेखि  पोर्चुगलमा सफल युवा व्यवसायीको छुट्टै पहिचान बनाउँदै आएका छन्। उनी एनआरएनए पोर्चुगल कार्यसमिति सदस्य, संरक्षक र  सल्लाहकारको भूमिका निर्वाह गरिसकेका छन् । 

प्रकाशित मिति: शनिबार, भदौ ५, २०७८  १५:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार