भेरोसेलको दोस्रो मात्रा शुक्रबारदेखि

बुधबार, साउन २०, २०७८

काठमाडौँ । सरकारले कोरोना भाइरसविरुद्धका खोपको दोस्रो मात्रा आगामी शुक्रबार (यही साउन २२ गते) देखि सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलेको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा आगामी शुक्रबारदेखि लगाउने निर्णय गरेको हो । गत असार २९ गतेदेखि सञ्चालन भएको पहिलो मात्रा खोप लगाएका ५५ वर्षभन्दा माथिका उमेर समूहका मानिसलाई लगाउन थालिएको स्वास्थ्य सेवा विभागले जनाएको छ । दोस्रो मात्राको खोप अभियान यही साउन २४ गतेसम्म सञ्चालन हुनेछ । पहिलो मात्रा लगाएको २१ दिन पुगेका सबैलाई दोस्रो मात्राको खोप दिन थालिएको हो ।
आफूलाई पायक पर्ने काठमाडौँ जिल्लाका ४२ वटा खोप केन्द्रमा गएर खोप लगाउन आग्रह गरिएको छ । काठमाडौँ महानगरपालिकामा ३२ वडा र अन्य नगरपालिकाका १० खोप केन्द्र रहेका छन् । मन्त्रालयले खोप लगाउन बाँकी भएका व्यक्तिलाई मन्त्रालयको वेबसाइटमा गएर दर्ता गर्नसमेत आग्रह गरेको छ । अहिलेसम्म नेपालमा करिब ९७ लाख खोप आइसकेको छ भने २० लाख दुई हजार ७०३ पूर्ण र ४२ लाख ५४ हजार ५४० पहिलो मात्रा खोप लगाइसकेका छन् ।–रासस 

प्रकाशित मिति: बुधबार, साउन २०, २०७८  १२:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार