अफगानिस्तानका रक्षामन्त्रीको निवासमा तालीवान विद्रोहीको आक्रमण, कम्तीमा चारको मृत्यु

बुधबार, साउन २०, २०७८

काबुल । अफगानिस्तानका रक्षामन्त्रीको निवासमा सशस्त्र विद्रोहीहरूले आक्रमण गर्दा कम्तीमा चार जनाको ज्यान गएको छ । आक्रमणका बेला रक्षामन्त्री बिस्मिल्लाह खान मोहम्मदी घरबाहिर भएकाले बच्न सफल भएका छन् । बन्दुकधारीहरूले मङ्गलवार काबुलको सबैभन्दा सुरक्षित मानिने ग्रीन जोनस्थित रक्षामन्त्रीको निवासमा कार बम हमला गरेका थिए । साथसाथै उनीहरूले गोली पनि चलाएका थिए । रक्षामन्त्रीको परिवारका सदस्यहरूलाई सुरक्षित रूपमा उद्धार गरियो । उक्त हमलामा संलग्न आक्रमणकारीहरू पनि सुरक्षाकर्मीद्वारा मारिएका छन् ।
मुख्य अफगान सहरहरूमा तालिबान विद्रोही र सरकारी फौजबीच लडाइँ जारी रहेको तथा संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्‌ले तत्कालै हिंसा अन्त्य गर्न आह्वान गरेका बेला उक्त आक्रमण भएको हो । सुरक्षा अधिकारीहरूले एएफपी समाचार संस्थालाई घटनामा चारजना मारिएको बताएका छन् । इटलियन आकस्मिक चिकित्सा परोपकारी संस्थाले चाहिँ काबुलस्थित आफ्नो स्वास्थ्य सेवा निकायमा उक्त घटनामा मारिएका चारजनाको शवका साथ ११ जना घाइते पनि ल्याइएको बताएको छ ।
उक्त आक्रमणमा सहभागी चार बन्दुकधारीहरू पनि मारिएको बताइएको छ । ‘आत्तिनु पर्ने कुरा छैन, सबै ठिकठाक छ’ रक्षामन्त्री मोहम्मदीले घटनापछि ट्वीट गरेका छन् । अमेरिकी विदेश मन्त्रालयले उक्त हमला तालिबानले गराएको देखिने सबै लक्षणहरू भएको बताएको छ । आक्रमणको घण्टौँपछि काबुल निवासीहरू सडकमा निस्किएर र घरका छतहरूमा उभिएर तालिबानको आक्रमणलाई हाँक दिइरहेको सामाजिक सञ्जालमा साझा गरिएको भिडिओमा देखिएको छ । हालैका दिनमा कडा लडाइँ भइरहेको हेरत सहरमा पनि सोमवार त्यस्तैखाले दृश्य देखिएको थियो । अफगानिस्तानको दक्षिणी हेल्मन्ड प्रान्तका सहरमा अफगान फौज र तालिबानबीच भीषण लडाइँ जारी छ ।
लश्कर गाहमा मृत्यु
संयुक्त राष्ट्रसङ्घले मङ्गलवार लश्कर गाह सहरमा अघिल्लो दिन मात्र कम्तीमा ४० सर्वसाधारण मारिएको जनाएको छ । ‘यहाँ सडकमा शवहरू रहेका छन्। हामीलाई थाहा छैन ती सर्वसाधारणका हुन् कि तालिबानका हुन्’  उक्त सहरका एकजना बासिन्दाले बीबीसी अफगान सेवालाई ह्वाट्सएपमार्फत भने । सुरक्षाका कारण नाम गोप्य राखिएका ती व्यक्तिका अनुसार उक्त क्षेत्रबाट कैयौँ मानिसहरू सुरक्षित क्षेत्रमा भागेका छन् । बीस वर्षपछि अमेरिकी सैनिकहरू त्यहाँबाट हटेपछि अहिले अफगानिस्तानमा तालिबानले तीव्र रूपमा कैयौँ भू–भागहरू कब्जा गरिरहेको छ । हेल्मन्ड प्रान्त अमेरिकी र ब्रिटिश सैन्य अभियानको केन्द्रविन्दु थियो । उक्त क्षेत्रलाई तालिबानले नियन्त्रणमा लिएमा त्यो अफगान सरकारका लागि ठूलो झड्का हुनेछ । यदि लस्कर गाहलाई तालिबानले नियन्त्रणमा लिएमा त्यो सन् २०१६ पछि तालिबानले नियन्त्रणमा लिएको पहिलो प्रान्तीय राजनधानी हुनेछ । तालिबानले अफगानिस्तानको दोस्रो ठूलो सहर कान्दाहारमा पनि कब्जा गर्ने कोसिस गरिरहको छ । त्यहाँको विमानस्थलनमा आइतवार रकेट हमला भएको थियो । ‘म यो पीडासँग बाँच्न सक्दिन। म पनि मरेको भए हुन्थ्यो’ उनले भने । कान्दाहारमा कब्जा गर्नु भनेको तालिबानका लागि साङ्केतिक जित हुनेछ । त्यसले उसलाई दक्षिणी क्षेत्रमा नियन्त्रणका लागि बल दिनेछ ।–बीबीसी 

प्रकाशित मिति: बुधबार, साउन २०, २०७८  १०:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार