नमूना परीक्षण गराउने कम हुँदा सङ्क्रमण पनि घट्यो

बुधबार, साउन २०, २०७८

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको नमूना परीक्षण गराउनेक्रम घट्दै जाँदा यो रोगको सङ्क्रमण हुने दरसमेत कम देखिएको छ । स्वास्थ्य निर्देशनालय दिपायलका निर्देशक डा गुणराज अवस्थीले नमूना परीक्षण गराउने घट्दै जाँदा सङ्क्रमण हुने दर पनि घटेको देखिएको बताए । उनले भने, ‘प्रदेशमा हाल कोरोना सङ्क्रमणको अवस्था बढेको पनि छैन, घटेको पनि छैन । सङ्क्रमण थप फैलिने जोखिम यथावत् छ ।’ प्रदेशमा पछिल्लो पन्ध्र दिनमा लक्षण देखिएका शङ्कास्पद नौ हजार ३४९जनाले मात्र नमूना परीक्षण गराएका छन् । यीमध्ये ६१७ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ ।  सो अवधिमा ४७६ सङ्क्रमित उपचार व्यवस्थापनपछि घर फर्किएका छन् । दुई जनाको मृत्यू भएको छ ।  सक्रिय सङ्क्रमित बिरामी घटेका छन् । पन्ध्र दिनअघि ५३६ सक्रिय सङ्क्रमित रहेकोमा आज ४३८ जना पुगेका छन् । गएको जेठ महीनासम्म उच्च रहेको कोरोना भाइरसको सङ्क्रमण र मृत्यु दर असार महिना शुरु भएसँगै घटेको देखिएको छ । कोरोना भाइरस फैलिएयता प्रदेशमा आजसम्म नमूना परीक्षण गरिएका जम्मा दुई लाख ८८ हजार ३३३ जनामध्ये ४५ हजार १३३ मा सङ्क्रमण देखिएको छ । नमूना परीक्षण गरिएको सङ्ख्या प्रदेशको कूल जनसङ्ख्याको झण्डै ११प्रतिशत हो ।  पिसिआर पद्धतिबाट गरिएको नमूना परीक्षणमा सङ्क्रमित हुनेमध्ये ३५ हजार ७८४जना उपचारपछि घर फर्किनुभएको छ । निको हुने यो दर झण्डै ७९ प्रतिशत हो । एन्टिजेन पद्धतिबाट सङ्क्रमण पत्ता लागेर उपचार व्यवस्थापनपछि घर फर्किएकाको विवरण भने निर्देशनालयसँग छैन ।
नमूना परीक्षण गराउने बढ्दा सङ्क्रमण पनि बढ्नसक्ने स्वास्थ्यकर्मीको भनाइ छ । ‘तेस्रो लहरको कारोना आएमा त्यसले बालबालिकालाई बढी असर पु¥याउने भन्ने छ’, डा अवस्थीले भने, ‘यसको पूर्व तयारीस्वरुप उपचार व्यवस्थापनका लागि चाहिने सबै सामग्री स्वास्थ्य संस्थामा जुटाउने काम भइरहेको छ ।’

 खोपको व्यवस्थापन 
हाल कोरोना भाइरस विरुद्धको खोप दिने कार्य भइरहेको छ । तराईका खोप केन्द्रमा खोप लगाउन आउनेको थामि नसक्नु भीड देखिँदा स्वास्थ्यकर्मीलाई खोप लगाउन सकस भइरहेको छ ।  निर्देशनालयका अनुसार सुदूरपश्चिम प्रदेशमा साउन १८गते सम्म ‘कोभिसिल्ड’ खोप दुई लाख ४९ हजार मात्रा प्राप्त भएकोमा ३७ हजार ९०० जनाले दुवै मात्रा र एक लाख ६७ हजार २०० जनाले एक मात्रा खोप पाएका छन् ।  भेरोसिल खोप दुई लाख ८७ हजार २०० मात्रा प्राप्त भएकोमा ४० हजारले दुवै मात्रा र एक लाख ७२ हजार २०० जनाले एक मात्रा पाएका छन् । यो खोपको मौज्दात रहेकोले पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा लगाउने तयारी भइरहेको छ । कोभिसिल्ड र भेरोसिल खोप दुई मात्रा लगाउनुपर्छ । एक मात्रा लगाए पुग्ने जेन्सन खोप प्रदेशमा एक लाख ३६ हजार ८०० मात्रा आइपुगेको छ । कैलाली र कञ्चनपुर जिल्लामा जेन्सन खोप साउन १७ बाट शुरु भइसकेको छ ।
कोभिसिल्डको एक मात्रा लगाएका धेरै व्यक्तिले खोपको अभावका कारण दोस्रो मात्रा लगाउन पाएका छैनन् । पछिल्लो हप्तामा तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्डपालनामा सर्वसाधारणबाट भइरहेको लापरवाहीले कोरोना भाइरस सङ्क्रमण थप बढ्नसक्ने जोखिम देखिएको छ । कोरोना भाइरस रोकथामका लागि जारी गरिएको निषेधाज्ञा खुकुलो पारिएसँगै तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नहुँदा सङ्क्रमण बढ्ने जोखिम बढेको हो ।  
खास गरी शहरी क्षेत्रमा बढ्ने गरेको मानिसको भीडभाडमा आपसमा भौतिक दूरी कायम नगर्ने र मास्क पनि प्रयोग नगर्ने प्रवृत्ति बढ्दै गएको देखिन्छ ।  ‘मालपोत र यातायात व्यवस्था कार्यालयमा दैनिक सेवाग्राहीको थामि नसक्नु भीड देखिन्छ’, धनगढीका यज्ञराज भट्टले भने, ‘जताततै बढेको भीडभाड र मास्क प्रयोग नगर्ने बानीले थप जोखिम निम्तिने खतरा छ ।’ धेरै व्यक्तिले पछिल्ला दिनमा साबुन पानीले हात धुने, स्यानिटाइजर प्रयोग गर्ने बानीसमेत छाड्न लागेको देखिएको उनले बताए ।  जनस्वास्थ्यका मापदण्ड पालना गर्न, भीडभाड नगर्न र आपसमा सामाजिक दूरी कायम गर्न जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचनामार्फत् आग्रह गरिरहेको छ ।
 

प्रकाशित मिति: बुधबार, साउन २०, २०७८  ०६:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार