२८ वर्षदेखिको बक्यौता असुल गर्दै कामपा

बुधबार, साउन २०, २०७८

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले २८ वर्षदेखि घरजगगा र सम्पत्ति कर नतिर्ने ठूला करदाताको नाम सार्वजनिक गरेसँगै सम्पर्कमा आउने क्रम बढेको छ । गत असार १६ गते कामपाले विगत २८ वर्षदेखि कर तिर्नका लागि आनाकानी गरेका २० ठूला करदाताको नाम सार्वजनिक गरेको थियो । अहिले सम्पर्कमा आउनेमध्ये केहीले पहिलो किस्तास्वरुप केही रकम बुझाएका छन्, केहीले विवरण पेश मात्र गरेका छन् । केहीले विवरण पेश गर्ने समय माग गरेका छन् । कतिपयलाई समय तोकी बोलाइएको छ भने कतिपयले अझै सम्पर्क गरेका छैनन् ।  सम्पर्कमा आएकामध्ये चारवटा व्यापारिक प्रतिष्ठानले पहिलो चरणमा मंगलबारसम्ममा एक करोड ५३ लाख राजश्व बुझाएका छन् । यसरी कर बुझाउनेमध्ये सबैभन्दा धेरै युनाइटेड विल्डर्स एण्ड इञ्जीनियरिङ (वल्र्ड टे«ड सेन्टर)ले रु एक करोड  बुझाएको छ । यससँगै बिल्डर्सका प्रबन्ध निर्देशक सन्दीप हिराचनले १९ दिनभित्र सम्पत्तिको मूल्याङ्कन गरेर तिर्नुपर्ने कर दाखिला गर्ने गरी राजश्व विभागमा निवेदन दिएका छन् । 
वडा नं १४ को नेशनल हस्पिटलले रु २४ लाख, वडा १४ कै शहीद मेमोरियल हस्पिटलले रु १९ लाख २० हजार दाखिला गरेका छन् । नाम सार्वजनिक भएपछि वडा ११ को एनआरटी क्लबले रु १० लाख दाखिला गरेर बाँकी रकम तिर्ने प्रतिबद्धता जनाएको छ ।
वडा नं ३० को स्टार मलले सम्पत्तिको विवरण पेश गरेको छ भने वडा नं १३ को काठमाडौँ इञ्जीनियरिङ कलेजले १० दिनभित्र विवरण पेश गर्ने समय माग गरेको छ । कामपाले पहिलो चरणमा गएको असार १६ गते सम्पत्ति कर नबुझाउने ठूला करदाताको नाम सार्वजनिक गरेको थियो । ३० दिनभित्र सम्पर्क गर्न आउन आग्रह गर्दै सूचना सार्वजनिक भएको अन्तिम सातासम्म पनि करदाताहरूले सम्पर्क नगरेपछि अन्तिममा करदाताको कार्यस्थलमा गएर ‘सम्पर्कमा नआए शिलबन्दी गर्ने’ सूचनासहित महानगरले माइकिङ गरेको थियो ।
कामपाको सक्रियतापछि लामो समयदेखि असुल हुन नसकेको रकम उठ्न थालेको छ भने केहीले विवरण बुझाएर रकम असुल गर्ने मिति तय गरेका कामपा राजश्व विभाग प्रमुख डा शिवराज अघिकारीले जानकारी दिए ।

४० ठूला करदाताको नाम सार्वजनिक गरिँदै

कामपाले अबको दुई दिनभित्र लामो समयदेखि कर तिर्न बाँकी रहेका र सम्पर्कमा नआएका ४० ठूला करदाताको नाम सर्वजनिक गर्ने तयारी गरेको छ । “अझै पनि धेरै करदाताले आफ्नो विवरणसमेत दिन मानेका छैनन् । विवरण दिएपछि कानूनीरूपमा करको दायरामा आउन पर्छ भन्ने डरले ठूला करदाता सम्पर्कमा नै आउन मान्दैनन्”, प्रमुख डा अघिकारीले भने । 
समयमा नै कर तिरेन भने प्रत्येक वर्ष दश प्रतिशतका दरले जरिवानास्वरुप रकम  वृद्धि हुँदै  जान्छ तर कामपाले विगतको दुई वर्षमा भने कारोनाका कारण करदातामा समस्या परेको भन्दै जरिवाना करमा छुट दिएको छ । यसो हुँदा पनि करदाता सम्पर्कमा नआएपछि कामपाले  ताकेता गर्न थालेको हो ।
धेरैले आफ्नो घरजग्गा र सम्पत्तिका बारेमा विवरणसमेत बुझाएका छैनन्, तर लामो समयदेखि कर तिर्न आलटाल गरिरहेका करदाताबाट विभागले रु ७० करोड असुल गर्ने तयारीस्वरुप अहिले अभियानको रूपमा नै कर सङ्कलन गरिरहेको छ ।
सम्पर्कमा आउनेहरूले विभागमा कर बुझाउन सही छाप गरेपछि मागअनुसार केही समय थपिदिएको छ । नआउनेहरूलाई विभागले कडाइका साथ कानूनी कारवाही अगाडि बढाउने तयारी गरेको छ । डा अधिकारी भन्छन्, ‘सम्पर्क नगर्नेको घर, पसल र व्यवसायमा शिलबन्दी गर्ने तथा सरकारी बाँकी सरह राजश्व असुली गर्ने प्रक्रिया अगाडि बढाउँछौँ ।’ सम्पर्कमा आएकाबाहेक वडा १२ का बागमती च्याम्बर र बुद्धबारी कम्प्लेक्स, वडा नं १३ को नेपाल रेडक्रस सोसाइटीले अहिलेसम्म कहिल्यै सम्पत्ति तथा घरजग्गासम्बन्धी विवरण नै बुझाएका छैनन् । घरजग्गासम्बन्धी विवरण नबुझाउने अन्य ठूला करदातामा वडा नं १४ का आदर कम्प्लेक्स, कृषि सामग्री संस्थान र एलआरआइ स्कूल, वडा नं १५ को मनमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पताल, वडा नं ३ का कान्तिपुर डेन्टल अस्पताल र चिरायु अस्पताल र वडा नं ४ का देवेन्द्र श्रेष्ठ छन् ।
यसैगरी वडा नं २२ को आरबी कम्प्लेक्स, वडा नं २४ को सुरज आर्केट, वडा नं २९ को शुभश्री कोअपरेटिभ लिमिटेड, वडा नं २८ को काठमाडौँ प्लाजा, नेपाल शेयर मार्केट र वडा नं ३० को गोपालजी प्रपर्टिज प्रालि छन् । कामपाले यस वर्ष रु १० अर्ब २३ करोड असुल गर्ने लक्ष्य लिएको छ । गत असोज १ गतेदेखि कामपाले अनलाइन प्राणलीमार्फत राजश्व सङ्कलन गरिरहेको छ ।  हाल कामपामा अनलाइन मा १६० करदाता जोडिएका कामपाले जानकारी दिएको छ ।

वार्षिक कार्ययोजना तयार गर्दै काठमाडौँ महानगर 

काठमाडौँ महानगरपालिकाले चालू आर्थिक वर्षका लागि यही साउन मसान्तभित्र वार्षिक कार्ययोजना तयार पार्ने भएको छ । शहरी योजना आयोगमार्फत चालू आवका लागि नगरसभाबाट स्वीकृत वार्षिक नीति र यसका आधारमा पारित भएको बजेट तथा कार्यक्रमलाई कार्ययोजनाको ढाँचामा विभागलाई पठाइसकेको छ । 
सबै विभागले साउन २१ गतेभित्र वार्षिक कार्ययोजना तयार पारेर फिर्ता पठाउनुपर्नेछ । जसमा मुख्य जिम्मेवारी, सहायक जिम्मेवारी, समयावधि, अनुगमन सूचकसहितका बुँदाका आधारमा निर्माण हुने कार्ययोजनामाथि विभागस्तरीय छलफल गरेपछि साउन मसान्तभित्र प्रमुख प्रशासकीय अधिकृत र विभागीय प्रमुखहरूबीच कार्य सम्पादन सम्झौता हुनेछ । कामपामा हाल १३ वटा विभाग रहेको छ । 
वार्षिक कार्ययोजना चालू आवका लागि मात्र सम्बन्धित हुँदैन । यसले आउँदो वर्षमा तर्जुमा गरिने कार्यक्रमलाई पनि सघाउ पु¥याउँछ । शहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतलेले भने । नगरसभाबाट स्वीकृत भएका नीति तथा कार्यक्रम कार्यान्वयनका लागि नगर प्रमुखले सात दिनभित्र प्रमुख प्रशासकीय अधिकृतलाई र प्रमुख प्रशासकीय अधिकृतले १५ दिनभित्र बिभागीय प्रमुखहरूलाई अधिकार प्रत्यायोजन गर्नुपर्ने कानूनी व्यवस्था छ । यसरी प्रत्यायोजित अधिकारको प्रयोग गरेर विभागले कार्यक्रम कार्यान्वयन गर्नुपर्नेछ ।

भूमाफियाले हडपेको सार्वजनिक जग्गामा उद्यान बनाइँदै
काठमाडौँ महानगरपालिका–११ वसन्तनगरस्थित किङ्स कलेजसँगैको दुई रोपनी १४ आना सार्वजनिक जग्गामा उद्यान निर्माण गरिने भएको छ । व्यवसायी दीपक मल्होत्राले अतिक्रमण गरी संरचना बनाएर हडपेको यो जग्गा वाग्मती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठको नेतृत्वमा वडाका जनप्रतिनिधिसमेतको सक्रियतामा खाली गरिएको थियो । सार्वजनिक जग्गा खाली गरेसँगै उद्यान निर्माणका लागि जग्गा सम्याउन थालिएको छ । व्यक्तिले हडपेको सार्वजनिक जग्गालाई फेरि सार्वजनिक स्वामित्वमा ल्याएर उद्यान निर्माण गर्न लागिएको ११ नं वडाध्यक्ष हीरालाल तण्डुकारले जानकारी दिए ।   
उक्त सार्वजनिक जग्गा आजदेखि सम्याउन शुरु गरिएको पनि उनले सुनाए । स्थानीयवासी लाभान्वित हुने गरी त्यस क्षेत्रमा उद्यान निर्माणको योजना तयार गरिएको जानकारी वडा कार्यालयले जनाएको छ । भू–माफियाले काठमाडाँै क्षेत्र नं १ मा हडपेको जग्गा क्रमश ः राज्यको स्वामित्वमा ल्याउने अभियानमा लागेको प्रदेशसभा सदस्य श्रेष्ठले जानकारी दिए ।
अतिक्रमण गरिएका सार्वजनिक जग्गा खाली गरी उद्यान निर्माण गरेर भूकम्प, बाढी, डुबानजस्ता प्राकृतिक विपत्ति पर्दा उपयोग गर्न सकिने गरी सुरक्षित राख्न लागिएको उनले बताए । यसका लागि काठमाडौँ महानगरपालिका र वाग्मती प्रदेश सरकारबाटसमेत बजेट व्यवस्थापन गर्न लागिएको जनाइएको छ ।
 

प्रकाशित मिति: बुधबार, साउन २०, २०७८  ०५:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार