प्राधिकरणको कामप्रति सरकारको असन्तुष्टि

प्रधानमन्त्रीलाई साक्षी राखेर ऊर्जामन्त्री भुसालले मागिन कार्यकारी निर्देशकको राजीनामा
मंगलबार, साउन १९, २०७८

काठमाडौँ । देशभित्र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् एवं प्रसारण लाइन आयोजनालाई समयमा पूरा गर्नेतर्फ ध्यान नदिइएको भन्दै सरकारले नेपाल विद्युत् प्राधिकरणको कामप्रति असन्तुष्टि व्यक्त गरेको छ ।  पछिल्लो समयमा बिजुलीको चुहावटमा वृद्धि भएको र त्यसलाई न्यून गर्नेतर्फ जुनस्तरमा पहल हुनुपर्ने थियो, त्यसोसमेत हुन नसकेको तथा व्यवस्थापकीय क्षमतासमेत प्रदर्शन गर्न प्राधिकरणको नेतृत्व चुकेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको बुझाइ छ ।  प्राधिकरणका कार्यकारी निर्देशक र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयबीच हुने कार्यसम्पादन करार सम्झौतामा उल्लेख भएअनुसारको जिम्मेवारी पूरा नभएको भन्दै मन्त्रालयले चासो व्यक्त गरेको हो । झण्डै १५ प्रतिशतमा सीमित गर्ने भनिएको विद्युत् चुहावट बढेर १७ प्रतिशतको हाराहारीमा पुगेको छ । अधिकांश निर्माणाधीन प्रसारण लाइनको काम उस्तै हालतमा रहेको छ ।  देशभित्र उत्पादित बिजुली खपत गर्नेतर्फ ध्यान नदिई आयातमा मात्रै ध्यान दिइएको भन्दै मन्त्रालयले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसँग किन त्यस्तो भएको हो भन्नेबारेमा जानकारी लिएको थियो । शाक्यको कार्यमा सुधार नदेखिएपछि सोबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जानकारी गराएकी थिइन् । सोही अनुसार मन्त्री भुसालले शाक्यलाई प्रधानमन्त्री देउवा समक्ष राखेर राजीनाम दिन भनेकी छन् ।  यसैबीच ऊर्जा मन्त्रालयले आजै केही उच्च पदस्थ कर्मचारीको सरुवा गरेको छ । मन्त्रिस्तरीय निर्णयका आधारमा सरुवा गरिएको मन्त्री भुसालको सचिवालयले जानकारी दिएको छ । विद्युत् विभागका महानिर्देशक नविन सिंहलाई जल तथा ऊर्जा आयोगको सचिवालयमा सरुवा गरिएको छ । यस्तै विभागमा सहसचिव सन्दीपकुमार देवलाई लगिएको छ । देव यसअघि जल तथा ऊर्जा आयोगमा कार्यरत थिए ।  सिँचाइ विभागका महानिर्देशक मधुकर राजभण्डारीलाई सिँचाइतर्फको सहसचिवको जिम्मेवारी दिइएको छ । यस्तै, सुनकोशी मरिण डाइभर्सन आयोजनाको प्रमुख रहनुभएका सुशील आचार्यलाई सिँचाइ विभागको जिम्मेवारी दिइएको छ । 

प्रकाशित मिति: मंगलबार, साउन १९, २०७८  २१:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार