चीनमा फेरि देखियो कोरोना भाइरस

  नान्जिङ सहरबाट  अन्यत्र फैलियो कोरोना भाइरस, वुहानपछिको 'सबैभन्दा खराब' स्थिति
शनिबार, साउन १६, २०७८

चीन । चीनको नान्जिङ सहरमा फेला परेपछि कोरोनाभाइरस प्रकोपका रूपमा अन्य पाँच प्रान्त र राजधानी बेइजिङसम्म विस्तार भएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । उनीहरूले अहिलेको अवस्थालाई ूवुहानपछिको सबैभन्दा व्यापक महामारीू को सङ्ज्ञा दिएका छन् । जुलाई २० मा नान्जिङ विमानस्थलमा एक जनामा कोरोनाभाइरस फेला परेपछि झन्डै २०० जना सङ्क्रमित भइसकेका छन् । एउटा स्रोतलाई उद्धृत गर्दै चीनको ग्लोबल टाइम्सले आगामी अगस्ट ११ सम्म नान्जिङबाट हुने सबै उडान स्थगित गरिने जनाएको छ । सरकारी निकायबाट चुक भएको भन्दै आलोचना भएको बेला अधिकारीहरूले सहरभरि परीक्षण सुरु गरेका छन् । सहरका ९३ लाख बासिन्दा र आगन्तुकहरूको परीक्षण गरिने समाचारसंस्था सिन्ह्वाले जनाएको छ । सामाजिक सञ्जालमा प्रेषित तस्बिरमा मानिसहरू परीक्षणका लागि पङ्क्तिबद्ध भएको देखिन्छ । सरकारी निकायले मानिसहरूलाई परीक्षण गराउन जाँदा मास्क लगाउन, एक मिटरको दूरीमा उभिन तथा पालो कुर्दा अरूसँग कुरा नगर्न आग्रह गरेको विवरणहरू प्राप्त भएका छन् ।

कसरी फैलियो भाइरस ?
अधिकारीहरूका अनुसार कोरोनाभाइरसको अतिसङ्क्रामक डेल्टा भेरिअन्टका कारण सङ्क्रमण फैलिएको हो । एउटा व्यस्त विमानस्थलमा फेला परेको हुँदा उक्त भाइरस धेरैतिर फैलिसकेको उनीहरूको भनाइ छ । नान्जिङका एक स्वास्थ्य अधिकारीले त्यहाँ फेला परेका सङ्क्रमितहरूको सम्बन्ध रुसबाट आएको एउटा विमान सफा गर्न गएका कर्मचारीसँग भएको बताएका छन् । उक्त विमान जुलाई १० मा रुसबाट आएको थियो । सिन्ह्वाका अनुसार ती कर्मचारीले सरसफाइसम्बन्धी कडा नियम पालना नगरेको सिन्ह्वाले जनाएको छ । कम्युनिस्ट पार्टीको एउटा अनुशासन निकायले विमानस्थलमा अनुगमन नभएको तथा अव्यावसायिक व्यवस्थापन भएको भन्दै कमजोरीहरू औँल्याएको छ।

कहाँकहाँ भेटिए सङ्क्रमित ?
परीक्षणले उक्त भाइरस चङ्दू र बेइजिङसहित १३ वटा सहरमा फैलिसकेको पुष्टि भएको छ । तर उक्त प्रकोप अहिले पनि प्रारम्भिक चरणमा भएको र नियन्त्रण गर्न सकिने विज्ञहरूले ग्लोबल टाइम्सलाई बताएका छन् । नान्जिङका स्थानीय अधिकारीका अनुसार सङ्क्रमितमध्ये सातजना गम्भीर अवस्थामा छन् ।  सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेपछि केहीले सामाजिक सञ्जालमा चिनियाँ खोपहरू कोरोनाभाइरसको डेल्टा भेरिअन्टविरुद्ध प्रभावकारी छ कि छैन भनेर प्रश्न गरेका छन् । सङ्क्रमण भएका व्यक्तिले खोप लिएका थिए कि थिएनन् त्यो स्पष्ट छैन । दक्षिणपूर्व एशियाका केही देशले केही समयअघि आफूहरूले अब चिनियाँ खोपको साटो अरू खोप प्रयोग गर्ने घोषणा गरेका थिए । चीनले आफ्ना सीमा बन्द गरेर तथा यदि स्थानीय तहमा प्रकोप देखिए तत्काल नियन्त्रणका उपाय अवलम्बन गरेर कोरोनाभाइरस महामारीलाई विस्तार हुन दिएको छैन ।-बीबीसी 

प्रकाशित मिति: शनिबार, साउन १६, २०७८  १२:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार