दोस्रो चरणको महामारीका बेला भारतलाई ५२ देशको सहयोग

शुक्रबार, साउन १५, २०७८

नयाँ दिल्ली । कोरोनाभाइरसको दोस्रो चरणको महामारी चलिरहेका बेला भारतलाई विश्वका ५२ देशले सहयोग गरेका छन् ।  भारतलाई ती देशहरुले स्वास्थ्य सामग्री, उपकरणसहितका विभिन्न स्रोतसाधनको सहयोग गर्नुका साथै सहानुभूति पनि प्रकट गरेका थिए । महामारी फैलिएपछि विभिन्न अभाव र समस्या भएको भारतलाई ती देशहरुको सहयोगकै कारणले महामारी व्यवस्थापन गर्न सजिलो भएको थियो ।  शुरुमा विभिन्न अभाव र समस्या भए पनि आन्तरिक स्रोतको व्यवस्थापन र बैदेशिी स्रोत र सहयोग प्राप्त भएपछि सजिलो भएको अधिकारीहरुले जनाएका छन् ।  भारतको राष्ट्रिय सभाको बैठकमा विदेश मामिला राज्यमन्त्री भी मुरलिधरणले मित्र राष्ट्रहरुको सहयोगप्रति धन्यवाद व्यक्त गरे । ‘दोस्रो चरणको महामारी भइरहेको बेला हामीलाई धेरै मित्र राष्ट्रहरुले खुलेर सहयोग गर्नुभयो, सहानुभूति देखाउनुभयो, हामी उहाँहरुप्रति आभारी छौँ’, धन्यवाद दिन चाहन्छौँ उनले भने ।    विषेश गरेर विदेशी दाताहरुले दिएको उपकरण, औषधि, खोपलगायतका स्वास्थ्य सामग्रीले ठूलो राहत भएको पनि उनले जानकारी दिए । ‘आजको दिनसम्म हामीलाई ५२ देशले विभिन्न सहयोग दिएको देखिएको छ, उनीहरुले सरकारबाट सरकारलाई, संस्थाबाट संस्थालाई, कम्पनीबाट कम्पनीलाई वा व्यक्तिवाट व्यक्तिलाई दिएको पनि पाइएको छ’, विदेश राज्यमन्त्री मुरलीधरणले भने ।

थप ४४ हजार नयाँ सङ्क्रमित, एक दिनमा ५५५ जनाको मृत्यु

भारतमा थप ४४ हजारभन्दा बढी व्यक्ति कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।  सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा देशभरी ४४ हजार २३० जना नयाँ सङ्क्रमित भएका हुन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिले चार लाख पाँच हजार १५५ जना सङ्क्रमित अवस्थामै रहेका जनाएको छ । सङ्क्रमित अवस्थामै रहेकाहरुको यो सङ्ख्या कूल सङ्क्रमितहरुको सङ्ख्याको १.२८ प्रतिशत मात्रै भएको पनि मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।  भारतमा अहिले सङ्क्रमणमुक्त भइसकेकाको सङ्ख्या भने तीन करोड १५ लाख ७२ हजार ३४४ रहेको छ । ती मध्ये ४२ हजार ३६० जना पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएका हुन् ।  एकैदिनमा नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या थोरै भएकाले अहिले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या अघिल्लो दिनभन्दा बढी भएको छ । 
भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म चार लाख २३ हजार २१७ जनाको मृत्यु भएको छ । ती मध्ये ५५५ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार भारतमा अहिलेसम्म ४६ करोड ४६ लाख मानिसको कोरोना परीक्षण गरिएको छ भने ४५ करोड ६० लाखलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ ।– एएनआई
 

प्रकाशित मिति: शुक्रबार, साउन १५, २०७८  १८:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार