स्वतन्त्र पहिचान जोगाएको सिन्धुलीगढी

शुक्रबार, साउन १५, २०७८

सिन्धुलीगढी (सिन्धुली) । वरिपरिका डाँडाकाँडा, त्यसमाथिका हिमाल शृङ्खला देखिने सिन्धुलीगढी नाका भएर नेपाललाई कब्जा गर्न इष्ट इण्डिया कम्पनी आउँदैछ भन्ने सूचना पाएपछि नेपाली फौजले यहाँका बुट्यान र रुखमा लुकेर शत्रुमाथि आक्रमण गरे । विसं १८२४ असोज महिनामा साम्राज्य फैल्याउँदै हिँडेको अङ्ग्रेज सेनाका सेनापति किनलकका नेतृत्वमा नेपालको राजधानी काठमाडौँ कब्जा गरी नेपाललाई पनि इष्ट इण्डिया कम्पनीको एउटा भाग बनाउने प्रमुख उद्देश्यले अघि बढेको थियो । यो सूचना पाएपछि नेपाली फौजल सिन्धुलीको यही डाँडामा विभिन्न गढीलगायत संरचना बनाएर एकाएक शत्रुमाथि धावा बोलेका थिए ।   आधुनिक हातहतियारले सुसज्जित दुई हजार ४०० फौजलाई त्यसको आधा सङ्ख्यामा रहेको नेपाली फौजले परास्त गरेको थियो । नेपालीले इष्ट इण्डिया कम्पनीलाई परास्तमात्र गरेन एक हजार ६०० अङ्ग्रेज सेनालाई सिन्धुलीगढीको जङ््गलमै इहलीला समाप्त पारिदिए । सिन्धुलीगढीको बाटो काठमाडौँ प्रवेश गरी नेपाललाई आफ्नो हातम लिने अङ्ग्रेजको योजना फेल भयो । अङ्ग्रेज सेनाका सेनापति किनलक सिन्धुलीगढीको जङ्गलमा भएको युद्धमा घाइते भएका थिए । 
नेपालको सार्वभौमिकता बचाउन सफल यो युद्धको इतिहास भावी पुस्तालाई जानकारी दिने उद्देश्यले सिन्धुलीगढीमा नेपालकै पहिलो युद्ध सङ्ग्रहालय निर्माण भएको छ । नेपालकै पहिलो युद्ध सङ्ग्रहालयको राष्ट्रपति विद्यादेवी भण्डारीले विहीबार उद्घाटन गरेसँगै आगन्तुकको भीड लाग्न थालेको छ । स्थानीयवासीलगायत बिपी राजमार्ग भएर यात्रा गर्नेको आकर्षक गन्तव्यस्थलका रुपमा यो ऐतिहासिकस्थल स्थापित हुने भएको छ ।
उद्घाटनकै दिन सङ्ग्रहालय अवलोकनका लागि पुगेका  तेह्रथुमका रामचन्द्र बराल इतिहासको पानामा रहेको विषय प्रत्यक्षरुपमा अवलोकन गर्न पाउँदा खुशी लागेको बताउँछन् । “पहिले सिन्धुलीढीको नाम चले पनि हेर्न लायक कुरा केही थिएन, भग्नावशेष गढीमा एउटा अग्लो झण्डामात्र राखिएको थियो, अब सङ्ग्रहालय निर्माणसँगै तत्कालीन समयमा नेपाली सेनाले देखाएको शुरता र वीरताको इतिहास प्रत्यक्षरुपमा हेने पाउँदा धेरै मानिसको आकर्षणको केन्द्र बन्ने भएको छ”, उनले भने । 
उद्घाटनपछि सङ्ग्रहालय कमलामाई नगरपालिकालाई हस्तान्तरण गरिएको छ । सङ्ग्रहालयमा अङ्ग्रेज सेनासँगको युद्धका महत्वपूर्ण हातहतियार तथा दस्तावेज सङ्ग्रह गरिएको छ । श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको दिव्योपदेश, युद्धका बेला प्रयोग गरिएको तोप, त्यसबेला नेपाली सेनाले प्रयोग गरेका भाँडाकुँडा, युद्धका बेला सूचना आदानप्रदान गर्न प्रयोग भएका बाजागाजाले धेरै आगन्तुकको ध्यानाकर्षण गरेको छ । अवलोकनकर्ता सङ्ग्रहालय हेरेपछि त्यसबेलाको इतिहास जीवन्तरुपमै आँखाअघि आएजस्तो लागेको बताउँछन् । लामो प्रतीक्षापछि सङ्ग्रहालय हेर्न पाउँदा खुसी लागेको सुनाउनुहुने स्थानीयवासी रमिला गुरुङ नेपाल कसरी सुरक्षित बनेको रहेछ भन्ने थाहा पाउन सङ्ग्रहालयले सहयोग गरेको बताउँछन् ।  नेपाली सेनाको अग्रसरतामा नेपाल एकीकरणमा उपयोग गरिएका मार्ग, किल्ला र गढीको संरक्षण गर्ने नीतिअनुरुप यो सङ्ग्रहालय निर्माण गरिएको हो । एकीकरणका क्रममा उपयोग भएका यस्ता ऐतिहासिकस्थललाई संरक्षण गर्ने कामलाई प्राथमिकतामा राखिएको सेनाले जनाएको छ । यसलाई सरकारले पनि नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकता दिँदै आएको छ । सङ्ग्रहालय उद्घाटन कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ऐतिहासिकस्थल संरक्षणलाई सरकारले प्राथमिकतामा राखी काम गर्ने प्रतिबद्धता जनाए । युद्धको २५३ वर्षपछि सङ्ग्रहालय निर्माण भएको हो । प्रधानसेनापति पूर्णचन्द्र थापा देशका अन्य स्थानमा रहेका यस्तै स्थललाई पनि संरक्षण गरी पर्यटकीयस्थलका रुपमा विकास गरिने प्रतिबद्धता जनाउँछन् । 

सङ्ग्रहालय परिसरमा शालिक

प्रधानसेनापति थापाले विसं १८२४ असोजमा मातृभूमिको सुरक्षा र अखण्डताका लागि अङ्ग्रेज सेनालाई परास्त गर्ने चार वीर योद्धाको शालिक अनावरण गर्नुभएको छ । सिन्धुलीगढीमा भएको युद्धमा नेपालले इष्टइन्डिया कम्पनीको अङ्ग्रेज सेनालाई परास्त गरेको थियो । ऐतिहासिक युद्धस्थलमा निर्माण भएको शालिक १८२४ को युद्धमा फिरङ्गी शत्रुलाई परास्त गर्ने काजी वंशीराज पाण्डे, श्रीहर्ष पन्त, शिकारी अफिसर वंशी गुरुङ र खजाञ्ची वीरभद्र उपाध्यायको हो । नेपाली सेनाको समन्वयमा कमलामाई नगरपालिकाले शालिक निर्माण गरेको हो ।
सङ्ग्रहालय क्षेत्रलाई आकर्षक गन्तव्यका रुपमा विकास गर्ने कामलाई चालु आर्थिक वर्षको नगरपालिकाको नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकताका साथ बजेटको व्यवस्था गरिएको नगर प्रमुख खड्गबहादुर खत्री बताउनुहुन्छ । अङ्ग्रेज सेनाका सेनापति घाइते भएको सिन्धुलीगढीको जङ्गलको भागमा उद्यान निर्माण गरी स्वदेशी एवं विदेशी पर्यटकलाई आकर्षित गर्ने नगरपालिकाले जनाएको छ ।अङ्ग्रेजलाई पनि पुर्खा हारेको सिन्धुलीगढी एकपटक घुम्नुपर्ने स्थल रहेछ भन्ने सन्देश दिने गरी यहाँ संरचना निर्माण गरिने उहाँको प्रतिबद्धता छ । संरचनालाई पुरातात्विक महत्वका साथ निर्माण गरिने पनि नगरपालिकाले जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, साउन १५, २०७८  १२:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार