टोकियो ओलम्पिक : एलेक्सको नयाँ राष्ट्रिय कीर्तिमान

मंगलबार, साउन १२, २०७८

काठमाडौँ । जापानको टोकियोमा आयोजना भइरहेको ३२ औँ गृष्मकालीन ओलम्पिकअन्तर्गत पौडी खेलका एलेक्जेन्डर गाडेगार्ड शाह (एलेक्स) ले पुरुष १०० मिटर फ्रिस्टाइलमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।  टोकियोको एक्वेटिक सेन्टरमा आज भएको खेलमा हिट चरणमा एलेक्सले निर्धारित दूरी ५३.४१ सेकेन्डमा पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका हुन् । उनले यसअघि आफ्नै नाममा रहेको ५५.३८ सेकेन्डको कीर्तिमान सुधार गरेका छन् । एलेक्सको अर्को चरणमा पुग्ने सम्भावना भने सकिएको छ । हिट चरणबाट कम समयमा पूरा गर्ने शीर्ष १६ खेलाडीले सेमिफाइनलको यात्रा तय गर्नेछन् । एलेक्सले दक्षिण एशियाका भूटान, माल्दिभ्स र पाकिस्तानका खेलाडीसहित १० जनालाई भने पछि पारेका छन् ।  त्यस्तै नेपालकी अर्की खेलाडी गौरिका सिंहले भोलि प्रतिस्पर्धा गर्दैछिन् । उनले १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछिन् । यसअघि शनिबार भएको खेलमा नेपालकी जुडो खेलाडी सोनिया भट्ट  र सुटिङकी कल्पना परियार छनोट चरणबाट बाहिरिसकेका छन् । सोनियाले ४८ केजी तौल समूहमा र सुटिङकी कल्पनाले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गरेकी थिइन् । 

प्रकाशित मिति: मंगलबार, साउन १२, २०७८  २०:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार