ललितपुर नगरप्रमुख भन्छन् ‘ वडाको सिफारिस सहित आर्थिक सहयोगका लागि निवेदन दिनुस्’

आर्थिक सहयोग कोभिड कोषबाट खर्च गर्ने
शुक्रबार, साउन ८, २०७८

ललितपुर । ललितपुर महानगरपालिकाले कोरोना संक्रमित बिरामीहरुलाई प्रदान गरिने उपचार तथा राहत सहयोग सम्बन्धी निर्देशिका ,२०७८ संशोधन गरेको छ । संशोधन भए अनुसार आर्थिक वर्ष २०७७-२०७८(गएको साउन)देखि कोरोना संक्रमित भएकाले उपचार तथा राहत स्वरुप आर्थिक सहयोग पाउने छन् । यसअघि २०७८ वैशाख २ गतेबाट संक्रमित भएकालाई मात्रै सहयोग उपलब्ध गराउने निर्देशिकामा उल्लेख थियो । नगरप्रमुख चिरीबाबु महर्जनले शुक्रवार आयोजित महानगर स्तरीय विपद् व्यवस्थापन समितिको बैठकमा भने, ‘कार्यपालिकाको सुझाव बमोजिम गएको नगरसभालाई जानकारी गराएर निर्देशिका संशोधन गरेका हौं ।’
 कोभिड संक्रमित भई उपचारको क्रममा निधन भएका व्यक्तिका परिवारलाई महानगरले प्रति मृतक १ लाख २० हजार सहयोग गर्ने संशोधित निर्देशिकामा उल्लेख छ । यसअघि मृतक परिवारलाई प्रति मृतक एक लाख सहयोग गर्ने भनिएको थियो । 
आइसियू तथा भेन्टिलेटरमा रही उपचार गरेर निको भएकालाई जनही ६० हजार प्रदान गरिने गरी निर्देशिका संशोधन गरिएको महानगरस्तरीय बैठकमा नगरप्रमुख चिरीबाबु महर्जनले बताए । अस्पताल भर्ना भएर कोभिड जितेका प्रत्येकलाई ३० हजार प्रदान गर्ने गरी निर्देशिका संशोधन गरिएको छ । यसअघि आइसियू तथा भेन्टिलेटरमा रही उपचार गरेर निको भएकालाई ५० हजार दिने भनिएको थियो भने कोरोना संक्रमित भई अस्पताल वा स्वास्थ्य संस्थामा उपचार गराई निको भएकालाई २५ हजार दिने भनिएको थियो । महानगरले आफ्ना नागरिकको स्वास्थ्य र सुरक्षालाई प्राथमिकतामा राखेको बताउँदै भने, ‘कोभिड कोषको रकमबाट यो सहयोग प्रदान गर्छौ ’ अघिल्लो आर्थिक वर्षमा महानगरले कोभिड कोषलाई १९ करोड छुट्याएको थियो । चालू आर्थिक वर्षमा पनि महानगरले कोभिड विशेष अन्तर्गत ५ करोड विनियोजन गरेको छ । महानगरप्रमुख महर्जनले भने, ‘यो कोष हामीले कोरोनाको अहिले देखिइरहेको संक्रमण र भविष्यमा समेत आउन सक्ने संक्रमण नियन्त्रण र संक्रिमतहरुको सहयोग गर्नका लागि बनाएका हौं , त्यसैबाट खर्च हुन्छ । ’ महानगरले प्रत्येक वडालाई परिपत्र गर्ने बताउँदै उनले भने, ‘ हामी नगरवासीको दुखसुखका साथी हौं,प्रभावितले जतिसक्दो छिटो निवेदन दिनुस् ।’उपचार र राहत सहयोग लिने व्यक्ति वा परिवारले सम्बन्धित वडाको सिफारिस पत्र सहित उपप्रमुखको संयोजकत्वमा गठित उपसमिति समक्ष निवदेन दिनुपर्ने निर्देशिकामा उल्लेख छ  । महानगरस्तरीय विपद् व्यवस्थापन समितिको संयोजक महानगर प्रमुख हुने व्यवस्था रहेको छ । बैठकमा उपप्रमुख गीता सत्याल,विभिन्न वडाका वडा अध्यक्षहरु र अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।   महानगरका प्रमुख प्रशासकीय अधिकृत तथा ¥यापिड रेस्पोन्स टिमका संयोजक गणेश अर्यालले कोरोना नियन्त्रणका लागि महानगरले भएका स्रोत साधन प्रयोग गरी अब्बल काम गरेको बताए । महानगरले नागरिकको स्वास्थ्य र सुरक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको उनले स्पष्ट पारे । 

प्रकाशित मिति: शुक्रबार, साउन ८, २०७८  २१:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार