टोकियो ओलम्पिक आजदेखि

शुक्रबार, साउन ८, २०७८

टोकियो । ओलम्पिक प्रतियोगिता आजदेखि सुरु हुँदैछ । प्रतियोगिताका लागि संसारभरका ११ हजार खेलाडी टोकियो पुगेका छन् । ३२ औं ग्रीष्मकालीन ओलम्पिकको उद्घाटन शुक्रबार हुने भएपनि टोकियोमा उस्तो उत्साह छैन ।  स्थानीय बासिन्दाले टोकियो ओलम्पिकको विरोधमा छन् । खेलाडीको सुरक्षा र ओलम्पिकको सफलतालाई लिएर ओलम्पिक अधिकारी र जापान सरकार पनि ‘नर्भस’ छन् । कोरोना भाइरसको संक्रमण दर बढिरहेकाले चिन्ता थपिएको छ । टोकियोमा बिहीबार मात्रै १,९७९ जना संक्रमित भेटिएका थिए । टोकियोमा संक्रमितको यो संख्या ६ महिनायताकै सबभन्दा बढी हो । 
विश्व खेलकुदको महाकुम्भमा सामान्यतया ठूलै तडकभडक हुने गर्थ्यो । प्रत्येक चार वर्षमा आयोजना गरिने ओलम्पिकले आयोजक सहरलाई नै रंगीन बनाउने गर्छ । यसपालि भने कोभिड महामारीले नराम्ररी असर गरेको छ । महामारीकै कारण एक वर्ष ढिला सारिएको ओलम्पिकका केही झन्डा, मस्कट र लोगो मात्र विमानस्थलमा देखिन्छन् । तर, सडकमा ओलम्पिक लोगो भएका सीमित ट्याक्सी, कार मात्रै कुदिरहेका भेटिन्छन् । केही सीमित स्थानमा मात्रै ओलम्पिकको बोर्ड र ब्यानर देख्न सकिन्छ ।
जनताको स्वास्थ्यमा खेलबाड गरेको भन्दै टोकियोमै प्रधानमन्त्री सुगा र ओलम्पिकको विरोधमा दिनदिनै विरोध प्रदर्शन भइरहेको छ । ओलम्पिक आयोजनाकै कारण अक्टोबरमा हुने आम निर्वाचनमा लिबरल डेमोक्र्याटिक पार्टीले सत्ता गुमाउने अनुमान गरिएको छ । उद्घाटन समारोहको उपस्थितिलाई लिएर पार्टीका नेताहरूबीच नै मतमतान्तर भएको छ ।
पर्यटक र स्थानीयको भीड हुने सिन्जुकु, सिवुया, गिन्जा, रोपन्गी, इकेबुकुरोमा ओलम्पिकले केही चहलपहल ल्याएको छ । तर, पहिलाजस्तै घुइँचो छैन ।
ओलम्पिक भिलेजमा पनि लगातार कोरोना संक्रमण बढिरहेको खबर आइरहेका छन् । यसको तथ्यांक भने सार्वजनिक गरिएको छैन । खेलाडीको हरेक दिन कोभिड–१९ परीक्षण भइरहेको छ । भिलेज र ओलम्पिक होटलका कर्मचारी र विदेशी खेलाडी, पदाधिकारीमा पनि कोभिड–१९ पोजिटिभ पाइएको छ । 

अर्बौं डलर खर्च

विश्व खेलकुदको महाकुम्भ आफ्नो समृद्धि देखाउने होडमा आयोजना गर्ने प्रचलन छ । यस्तै होडमा ओलम्पिक ५७ वर्षपछि टोकियो फर्किएको हो । तर यसपालि आयोजक देश आफ्नै जनताको भावनाअगाडि रक्षात्मक देखिएको छ । जापान सरकारले ओलम्पिकका लागि भौतिक पूर्वाधार निर्माण र आयोजनामा १५ अर्ब ४० करोड अमेरिकी डलर लगानी गरेको तथ्य सार्वजनिक गरेको छ । तर, त्यसको तीन गुणा बढी खर्च भएको पुष्टि लेखापरीक्षणबाट भएको भन्दै जापानी समाचार संस्थाहरूले दाबी गरेका छन् । जनताले कर तिरेको पैसा ओलम्पिक आयोजना गरेर देखाउन खर्च गरेको भन्दै सरकारको विरोध भइरहेको छ । यसको विरोधमा साढे तीन लाख नागरिकले हस्ताक्षर गरेर सरकारलाई बुझाएका छन् । ओलम्पिक आयोजक कमिटी र आईओसीले गत साता मात्रै बिनादर्शक नै खेल सञ्चालन गर्ने घोषणा गरेका थिए । आयोजकले बिक्री गरिसकेको ४४ लाख ८० हजार टिकटको रकम फिर्ता गर्नुपर्ने भएको छ । यसमा ६ लाख टिकट त विदेशीले लिएका थिए । ओलम्पिक उद्घाटन समारोहका निर्देशक केन्तारो कोबायसीलाई बिहीबार बर्खास्त गरिएको छ । यसअघि पनि केही उच्च पदाधिकारी पद छाड्न बाध्य भएका थिए । ओलम्पिक उद्घाटनमा विश्वका शीर्ष नेता र राष्ट्र प्रमुखहरूको बाक्लो उपस्थिति रहन्थ्यो । यसपालि फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन र मंगोलियाका प्रधानमन्त्री लुभ्सन्नाम्सराई ओयुन–इर्देनलगायत सीमित विशिष्ट अतिथि मात्रै उपस्थिति रहने आयोजकले जनाएको छ । अमेरिकी प्रतिनिधित्व प्रथम महिला जिल बाइडेनले गर्दैछिन् ।
यो ओलम्पिकमा ३३ खेल समावेश छन् । जसमा ३३९ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । चार खेलमा नेपालका ५ खेलाडी सहभागी हुँदै छन् । नेपाल पहिलोपल्ट सन् १९६४ मा ओलम्पिकमा सहभागी भएको थियो र त्यो संस्करण पनि टोकियोमै भएको थियो । 

प्रकाशित मिति: शुक्रबार, साउन ८, २०७८  ०७:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार