माधव नेपाल समूहलाई एकतामा आउन ओलीको आग्रह

संविधानको धारा ७६ (५) लाई संशोधनमा पहल गर्ने निर्णय 
बुधबार, साउन ६, २०७८

काठमाडौँ ।  प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक जीवन र कम्युनिष्ट आन्दोलन जोगाउनुपर्नेमा जोड दिँदै असन्तुष्ट पक्षलाई एकतामा आउन आग्रह गरेका छन् । केन्द्रीय कमिटीको जारी १० पूर्ण बैठकको तेस्रो दिन आज अध्यक्ष ओलीले  १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै आन्तरिक एकताका लागि अन्तिम समयसम्म प्रयास आफू तत्पर रहेको स्पष्ट गरे । सर्वोच्च अदालतको गत असार २८ गतेको फैसला संसदीय व्यवस्थानुकूल नभएको टिप्पणी गर्दै जनताको चाहनालाई कुच्चेर केही नेताले गद्दारी गरेकाले आफ्नो नेतृत्वको सरकार ढलेको बताए । “मसँग अब अरु आग्रह छैन । म एकताको मोही अझै मथ्दै छु । सकभर सत्ता गठबन्धनमा लागेका सबै पार्टीका नेतालाई आफ्नो राजनीतिक जीवन बचाउन आन्दोलन बचाउन अनुरोध गर्छु”, अध्यक्ष ओलीले बैठकमा भने ।  पार्टीको नीतिविपरीत नेपाली काँग्रेसका सभापति देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिने नेता माधवकुमार नेपालसहित २२ सांसद्लाई स्पष्टीकरण सोधेको एमालेले त्यसबारे जवाफ आएपछि निर्णय गर्ने एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।  ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी सो पार्टीको १०औँ केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओली नेतृत्वको निवर्तमान सरकारका उपलब्धि, सर्वोच्च अदालतको असार २८ गतेको फैसला पार्टीको आगामी कार्ययोजना, पार्टीको सुदृढीकरण र शुद्धीकरण अभियानलगायत विषय कार्यसूची रहेका छन् ।
आजको बैठकले संविधानको धारा ७६ (५)  को सरकार बनाउँदा दलीय ह्विप नलाग्ने फैसला गरेकाले उक्त दफालाई संशोधन गर्ने पहल गर्ने निर्णय गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिए । बैठकले ओली नेतृत्वको सरकारले विविध चुनौतीका बीच विकास र समृद्धिका पक्षमा उपलब्धि हासिल गरेको र प्रतिपक्षमा रहेर संविधान, लोकतन्त्र र राष्ट्रियताका सम्बन्धमा सशक्त र प्रभावकारी काम गर्ने निर्णय गरेको छ ।  नेता ज्ञवालीले हालको स्थितिबाट निराश नहुन कार्यकर्तालाई आग्रह गर्दै पार्टीको शक्ति पुनःफर्काइने जनाए । अर्को बैठक बिहीबार दिउँसो ३ बजे पुनःबस्नेछ ।

पुष्पलाल स्मृति दिवस मनाइँदै

एमालेले नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवस मनाउने भएको छ । अध्यक्ष ओलीको प्रमुख आतिथ्यतामा कायक्रम आयोजना गरी मनाइने एमालेका केन्द्रीय कार्यालयमा सचिव शेरबहादुर तामाङले जानकारी दिए । 

प्रकाशित मिति: बुधबार, साउन ६, २०७८  २१:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार