'अन्य दलले विश्वास गरेका बेला पार्टी भित्रै असुरक्षित हुने अवस्थाको अन्त्य होस्'

काग्रेसका १० युवा नेताकाे नेतृत्वलाई आग्रह :
मंगलबार, साउन ५, २०७८

काठमाडौँ । अन्य राजनीतिक दलहरुले समेत नेपाली कांग्रेसलाई विश्वास गरी देशको अभिभारा सुम्पेको बेला पार्टीभित्रै नेतृत्वबाट असुरक्षित हुने अवस्थाको अन्त्य गर्न कांग्रेसका युवा नेताले माग गरेका छन् । क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद र दबाबमूलक कार्यक्रम भइरहेकोप्रति लक्षित गर्दै युवा नेताले पार्टीभित्र न्यायका लागि धर्ना दिनुपर्ने र अनशन बस्नुपर्ने अवस्थाको अन्त्य गर्न पनि नेतृत्वको ध्यानाकर्षण गराएका छन् । कांग्रेसका १० युवा नेताले आज संयुक्त वक्तव्य जारी गर्दै १४ औँ महाधिवेशनको प्रारम्भिक तयारीका क्रममा उठेका विभिन्न प्रश्न र केही जिल्लाका गतिविधिले आफूहरुको ध्यान तानेको उल्लेख गरेका छन् । युवा नेताहरु डा. चन्द्र भण्डारी, धनराज गरुङ, कमला पन्त, रत्ना शेरचन, गगन थापा, बद्री पाण्डे, गुरुराज घिमिरे, सरिता प्रसाईं, रामकृष्ण यादव र किरण यादवले जारी गरेको वक्तव्यमा सदस्यतासम्बन्धी विवाद तत्काल समाधान गरेर महाधिवेशनको सुनिश्चितता गर्न आग्रह गरेका छन् । “मुख्य गरी पार्टी महाधिवेशनका प्रारम्भिक मतदाताको रुपमा रहेका क्रियाशील सदस्यको विवादले निर्धारित समयमा महाधिवेशन हुने कुरामा संशय बढाएको छ । हामीसँग समयको सुविधा छैन र उपलब्ध समयसमेत साँघुरिँदै गएको छ । यस्तो बेलामा क्रियाशील सदस्यको विवादलाई कायम राख्नु र बढाउनु युक्ति सङ्गत हुँदैन । पार्टी विधानले निर्दिष्ट गरेको प्रक्रिया, मापदण्ड र केन्द्रीय समितिको निर्णयविपरीत गरिने कार्यले कसैको भलो गर्दैन,” वक्तव्यमा लेखिएको छ ।
कांग्रेसका विभिन्न जिल्लाका नेता तथा कार्यकर्ता क्रियाशील सदस्यतासम्बन्धी विवादका कारण पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना र आमरण अनशनमा बसेका छन् । यसलाई युवा नेताले गम्भीर विषयको रुपमा लिएका छन् । 
“विधि र प्रक्रिया नाघेर जथाभावी वितरण गरिएका क्रियाशील सदस्यताले हामीलाई बलियो बनाउँदैन । समायोजनका नाममा पार्टी संरचना कब्जा गर्ने उद्देश्यले निर्धारित प्रक्रिया बाहिरबाट वितरण गरिएका क्रियाशील सदस्यताले पार्टीको मर्ममाथि नै प्रहार गरेको छ । आफ्नो सर्वस्व सुम्पेका साथीहरुको आत्मसम्मानमा प्रहार गरेको छ । यसलाई तुरुन्त रोक्नु पर्दछ”, नेताहरुको आग्रह छ । कांग्रेसको क्रियाशील छानबिन समिति र समायोजन समितिले पार्टीको लोकतान्त्रिक प्रतिष्ठा र छविको जगेर्ना गर्दै उत्पन्न समस्याको विधिसङ्गत र तार्किक समाधान गर्न पनि युवा नेताहरुले आग्रह गर्नुभएको छ ।
 

प्रकाशित मिति: मंगलबार, साउन ५, २०७८  २०:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार