चीनबाट आइपुग्यो आठ लाख मात्रा ‘भेरोसेल’ खोप

एकै साथ ठूलो परिमाणमा खोप आउँदा भण्डारण क्षमतामाथि प्रश्न 
शुक्रबार, असार २५, २०७८

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ नेपाल आइपुगेको छ । 
चीनबाट खरीद गरिएको खोप नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाजमार्फत आज बिहान ६ बजे नेपाल आइपुगेको हो । बिहीबार साँझ उक्त जहाज खोप लिनका लागि चीनतर्फ गएको थियो ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले सरकारले खरिद गरेको खोप आज बिहान आइपुगेको जानकारी दिए । उनले पहिलो चरणमा आज आठ लाख मात्रा अर्थात् १३ हजार किलो खोप आइपुगेको जानकारी दिए। सरकार र खोप कम्पनीबीच नन डिस्क्लोजर सम्झौताअनुसार कति परिमाणमा खोप नेपाल ल्याउने भन्ने कुरा खुलाइएको छैन ।  अब आगामी साउन ८ गतेसम्म तीन उडानमार्फत नियमितरुपमा खोप आउने छ । यस्तै असार ३१ गते पुनः बाइडबडी जहाज खोप लिन गएर साउन १ गते र साउन ७ गते पुनः जहाज नेपालबाट गएर साउन ८ गते खोप ल्याउने छ । अहिले टेकुस्थित चिस्यान केन्द्रमा खोप भण्डारण गरिरहेको छ । मन्त्रालयले खोप लगाउने कार्यलाई विशेष प्राथमिकतामा राखेपछि यो खोप देशभरि नै पठाउने तयारी गरेको छ ।  खोप ६० वर्षमुनि उमेर समूहका मानिसलाई प्राथमिकताका आधारमा लगाउने मन्त्रालयको तयारी छ । कूल जनसङ्ख्याको दुई करोड २० लाखलाई खोप लगाउने सरकारको लक्ष्य छ । नेपालमा अहिलेसम्म २६ लाख ११ हजार ८०७ लाई पहिलो मात्रा र नौ लाख ३३ हजार ८६८ लाई दोस्रो मात्राको खोप लगाइसकिएको छ ।  

नेपालले चीनबाट ‘४० लाख मात्रा खोप’ खरिद गरेको छ । खरिद गरिएका खोप चीनबाट दुई साताको अवधिमा नेपाल आइपु्ग्दैछ । नेपाल खरिद गरेका खोप लिन नेपाल वायुसेवा निगमको विमान बिहीवार चीनतर्फ उडेको थियो । ‘ठूलो परिमाणमा’ खोप आइपुग्दा त्यसको भण्डारण र वितरण प्रणालीबारे कतिपयले चिन्ता व्यक्त गरेका छन् ।  कोभिड खोप निश्चित तापक्रममा भण्डारण गर्नुपर्ने र गाउँ गाउँसम्म ‘कोल्ड चेन’ को व्यवस्था गरेर उपलब्ध गराइनुपर्ने हुँदा चुनौती रहेको जानकारहरू बताउँछन् । तर राष्ट्रिय खोप कार्यक्रमका संयोजक डा. झलक शर्मा गौतमले भने आफूहरू त्यसका लागि तयार रहेको बताएका छन्। नेपाल आइपुगेको खोप सुरुमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको चिस्यान भण्डारणमा राखिने बताइएको छ।

प्रत्येक कम्पनीले उत्पादन गरेको खोपले कति ठाउँ ओगट्छ भन्ने कुरा फरक हुने हुँदा भण्डारण क्षमतामा पनि घटबढ हुने गौतम बताउँछन् । नेपालमा प्रयोग गरिएको कोभिशील्ड खोपको एक भाएलमा १० मात्रा हुने हुँदा त्यो खोप तुलनात्मक रूपमा ठूलो परिमाणमा राख्न सकिने उनी बताउँछन् । हाल नेपालमा प्रयोग भएको चिनियाँ भेरोसेल खोपको ‘प्रिफिल्ड सिरिन्ज’ ले भने निकै धेरै स्थान ओगट्ने गौतमको भनाइ छ । ‘कोभिशील्डले लिनेभन्दा १३० गुणा बढी ठाउँ लिने रहेछ प्रिफिल्ड सिरिन्जले,’ उनले भने । अहिलेको अवस्था हेर्दा देशैभरि गरेर लगभग ४० लाख मात्रा भेरोसेल खोप भण्डारण क्षमता रहेको उनको भनाइ छ ।

कहाँ छ भण्डारण सुविधा ? 
त्यसका लागि केन्द्रीय स्तरका भण्डारण केन्द्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, टेकु अनि पथलैयामा रहेको छ । त्यस्तै हेटौँडा, विराटनगर, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीमा क्षेत्रीय स्तरका भण्डारण केन्द्रहरू रहेको र त्यसलाई विस्तार गर्ने कार्य पनि भइरहेको अधिकारीहरूको भनाइ छ। धनुषा जिल्लामा पनि भण्डारण केन्द्र निर्माण गर्न लागिएको छ ।


विमानस्थलमा रहेको भण्डारण केन्द्रको क्षेत्रफल २४ हजार घनमिटर रहेको अधिकारीहरूले बताएका छन् जसमा चीनबाट ल्याउन लागिएको भेरोसेल खोपका आठ लाखभन्दा बढी भाएल राख्न सकिने बताइएको छ । एकै पटक निकै ठूलो परिमाणमा खोप प्राप्त हुने स्थिति बनेको अवस्थामा निजी क्षेत्र वा अन्य सरकारी कार्यालयका भण्डारण केन्द्रमा खोप राख्न सकिने र त्यसका लागि आफूहरू सम्बन्धित पक्षसँग सम्पर्कमा रहेको गौतम बताउँछन् । ‘तर माइनस ७० वा ८० तापक्रमको हो भने त्यसमा चाहिँ हामीलाई समस्या हुन्छ’, उनले भने । भेरोसेलको हकमा दुईदेखि आठ डिग्री सेन्टिग्रेड तापमानमा खोप राख्नुपर्ने हुँदा ‘तत्काल समस्या नहुने’ सरकारी भनाइ छ । चीनबाट ल्याउन लागिएको खोप केही दिनमै लगाउन सुरु गरिने हुँदा भण्डारण गर्ने स्थानको चाप पनि घट्दै जाने अधिकारीहरू बताउँछन् । नखोली राखिएको भेरोसेल खोप दुई वर्षसम्म प्रयोग गर्न सकिन्छ।
लगाउन सुरु गरिएपछि भने ‘कोल्ड चेन’ कायम गरेर छ घण्टाभित्र खोप दिइसक्नुपर्छ।

प्रकाशित मिति: शुक्रबार, असार २५, २०७८  १२:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार