राज्यमन्त्री मानन्धरबाट एकल गायनमा विश्व रेकर्ड

शुक्रबार, पुस १०, २०७७

काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले बहालवाला मन्त्रीको एकल कन्सर्ट विधामा विश्व रेकर्ड कायम गरेका छन् । वल्र्ड बुक अफ रेकर्ड युकेमा उनले सो रेकर्ड कायम गरेका हुन् । शुक्रबार यहाँ आयोजना भएको कार्यक्रममा दिउँसो १ः१५ बजेदेखि गाउन शुरु गरेका राज्यमन्त्री मानन्धरले लगातार ४ घण्टा ५ मिनेट २० सेकेन्ड  गीत गाएर विश्व रेकर्ड बनाएका हुन । राज्यमन्त्री मानन्धरले उक्त समयमा क्रमश ५९ वटा गीत गाएका  थिए । 
उनले केही राष्ट्रिय गीत, आधुनिक गीत र नेवारी गीतहरु गाएका थिए । नारायण गोपाल, भक्तराज आचार्य, प्रेमध्वज प्रधान, प्रकाश श्रेष्ठ, दीप श्रेष्ठ, तारादेवी, अरुणा लामालगायतले गाएको गीत उनले ट्रयाकमा गाएका हुन् । ‘देशले रगत मागे मलाई बलि चढाऊ’, ‘जहाँ छन् बुद्धका आँखा’, ‘ठूला ठूला महल होइन’ लगायतका गीत उनको रोजाइमा परेको थियो । कार्यक्रममा प्रधानमन्त्री पत्नी राधिका शाक्यले राजनीति र गायनसँगै आफ्नो व्यक्तित्व अगाडि बढाउन सफल भएकोमा मन्त्री मानन्धरलाई बधाई दिइन् । सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले मन्त्री मानन्धरको प्रयासले नेपाललाई विश्वमा थप पहिचान दिने विश्वास व्यक्त गरे । वल्र्ड बुक अफ रेकर्ड नेपालका अध्यक्ष सागर कटुवालले मन्त्री मानन्धर यो विधामा गीत गाउने विश्व कै पहिलो मन्त्री भएको जानकारी दिए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष भवानी राणाले मन्त्री मानन्धरलाई विश्व रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरेकी थिइन् ।    राज्यमन्त्री मानन्धरले नेपालको कला र संगीतलाई विश्वमा चिनाउने प्रयास गरिएको बताए । उनले गाएका सबै गीतको रोयल्टीसमेत तिरेर गाएका हुन् । 
 

प्रकाशित मिति: शुक्रबार, पुस १०, २०७७  २०:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार