पुनःनिर्माणका इञ्जिनियर काममा फर्कन सहमत

आइतबार, असार १३, २०७८

काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) अन्तर्गतका प्राविधिक कार्यक्षेत्रमा फर्केर पुनःनिर्माणका काममा क्रियाशील हुन सहमत भएका छन् । प्राधिकरणमा आज भएको  छलफलपछि इञ्जिनीयरले पाउने सञ्चार, यातायात तथा स्थानीय भत्ता उपलब्ध गराउने, प्राविधिकलाई आवश्यक पर्ने तालीमका साथै विभिन्न निकायमा व्यवस्थापन गर्न पहल गर्नेलगायतका विषयमा सहमति भएको हो ।  प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको उपस्थितिमा भएको छलफलपछि एकाइ (भवन) का आयोजना निर्देशक श्यामकिशोर सिंह र आन्दोलनरत प्राविधिकको तर्फबाट अविनाश अमरले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । सहमतिपछि अमरले माग पूरा भएकामा खुशी व्यक्त गर्दै उनले सबै प्राविधिक काममा खटिने र असार मसान्तभित्र लाभग्राहीको मुहारमा खुशी ल्याउने प्रतिबद्धता व्यक्त गरे ।  ओखलढुङ्गामा कार्यरत स्व.इञ्जिनियर राजा साहको कामकाजकै क्रममा मृत्यु भएकामा परिवारजनलाई बीमाको रकम उपलब्ध गराउन पहल गरिने सहमति भएको छ । प्राधिकरणअन्तर्गत रहेर कामकाज गरेका कर्मचारी, प्राविधिक, सामाजिक परिचालक, डकर्र्मीसमेतको काम अनुभवसहितको विवरण तयार पारी अनलाइन पोर्टलमा समेत राख्ने सहमति भएको छ । यस विवरणलाई सम्बन्धित निकायमा भावी प्रयोजनका लागि प्राधिकरणले पठाउने भएको छ । प्राविधिकले पाउनु पर्ने सञ्चार तथा यातायात खर्च र स्थानीय भत्ता चालू आर्थिक वर्ष २०७७÷७८ को साउन महिनादेखि नै नियमानुसार उपलब्ध गराइने सहमति भएको छ । प्राविधिकलाई भवन, शिक्षा, स्थानीय पूर्वाधारसमेत भावी दिनमा अन्यत्र काम गर्दा आवश्यक पर्ने पुर्नताजगी तालीमको व्यवस्था प्राधिकरणले गर्ने भएको छ । सरकारले लिएको विपद् जोखिमबाट सुरक्षित नेपाल महाअभियानको १० वर्षे लक्ष्यमा समाहित हुने गरी प्राधिकरणअन्तर्गतका प्राविधिकलाई ग्राह्यता दिन पहल गर्ने सहमति भएको छ ।
प्राविधिकको सबै आन्दोलन आजैदेखि टुङ्ग्याउने र नियमित कामकाजमा फर्किने सहमति भएको छ । प्राविधिकले बुझाएको राजीनामा अस्वीकृत गर्ने, असार महिनाको पाउनु पर्ने सेवा सुविधा उपलब्ध गराइने भएको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य प्राप्तिका निम्ति इन्जिनीयरिङ क्षेत्रका प्राविधिकको परिचालन अनिवार्य रहेकाले यस्ता विभिन्न क्षेत्रको पहिचान गरी प्राधिकरणबाहेकका इञ्जिनीयरलाई पनि परिचालन गर्न सरकारसँग समन्वय गर्ने सहमति भएको छ ।–रासस

प्रकाशित मिति: आइतबार, असार १३, २०७८  १८:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार