अरब सागरको चक्रवातबाट मौसममा बदली

हिमाल आरोह नगर्न मौसमविद्को सुझाव 
सोमबार, जेठ ३, २०७८

काठमाडौँ, । हाल पूर्वीमध्य अरब सागरमा रहेको शक्तिशाली चक्रवात ताउकतेका कारण मंगलबारदेखि देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदलीको सम्भावना  छ ।  चक्रवातको प्रत्यक्ष प्रभाव नेपालमा नपरे तापनि अप्रत्यक्ष असर देखिने मौसम जल तथा मौसम विज्ञान विभाग, पूर्वानुमान महाशाखाले जनाएको छ । चक्रवात अझ विकसित हुने क्रममा रहेको र हाल उत्तर–उत्तरपश्चिमतिर बढ्ने क्रममा छ ।
बुधबार बेलुकादेखि शुक्रबारसम्म कर्णाली, सुदूपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  नेपालमा चक्रवातको अप्रत्यक्ष प्रभाव मात्र रहने तथा ठूलो वर्षा र हावाहुरीको सम्भावना नरहेको महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । चक्रवातको प्रभाव शुक्रबारसम्म रहने बताइएको छ । मुलुकभर यस याममा प्रिमनसुनको गतिवधिका कारण मेघगर्जन÷चट्याङ ÷हावाहुरी र असिनापानीको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । महाशाखाले यस अवधिमा उच्च हिमाली भूभागमा पर्वतारोहण नगर्न तथा नगराउनसमेत अनुरोध गर्दै चक्रवातलाई निरन्तर अनुगमन गरिएकाले मौसम अद्यावधिक गरिरहन सबैमा आग्रह गरेको छ । 
 

प्रकाशित मिति: सोमबार, जेठ ३, २०७८  १५:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार