सर मलाई त २५ घण्टाले पुगेन...

सोमबार, वैशाख २०, २०७८

सन् २००२ को नोभेम्बर महिनाको कुनै दिन अन्नपूर्ण पोस्ट्मा पत्रकारिता गर्न अन्तर्वार्ताको लागि पुगेकी थिएँ । अन्तर्वार्तामा प्रधानसम्पादक गोविन्दप्रसाद प्रधान सरले सोध्नु भएका धेरै प्रश्न मध्ये एउटा प्रश्न सम्झनामा अझैं ताजा छ । लामो समयसम्म त्यो प्रश्न मनमस्तिष्कमा ताजै हुनुको एउटा कारण अन्य प्रश्नको उत्तर भन्दा त्यो प्रश्नको उत्तर पृथक हुनु पनि हो । त्यत्तिबेला गोविन्द सरले सोध्नु भएको थियो, ‘रमाजी समय कसरी व्यवस्थापन गर्नुहुन्छ ? पत्रकारिता टफ जब हो, समयको कुनै सिमा हुँदैन, जुनसुकै बेला रिपोर्टिङ स्थल पुग्नुपर्छ ......।’

यी प्रश्नहरु गोविन्द सरले मलाई पेशामा निरुत्साहित गर्न पटक्कै गर्नु भएको थिएन । पक्कै पनि उहाँले व्यवहारिक पक्षलाई ध्यान दिएर गर्नु भएको थियो । बीस पुग्न केही वर्ष थियो । काम सुरु गरिहाल्ने योजना थिएन । लेख्ने  रहर मेटाउन त्यो एउटा अवसर हुनसक्छ भन्दै एउटा राष्ट्रिय दैनिकमा प्रकाशित आवश्यकताको विज्ञापनमा दरखास्त दिएकी थिएँ । 

त्यतिबेला गोविन्द सरको त्यो प्रश्नको उत्तर मैले यसरी दिएकी थिएँ,  ‘सर मैले यो पेशाका बारेमा बुझे अनुसार, दिन र रात गरी २४ घण्टा हुन्छ । तर, यो पेशामा लाग्नेले  दिनको २५ घण्टा छुट्याउनुपर्छ ।  थाहा छैन, मेरो यो उत्तरपछि उहाँले तत्काल मप्रति कस्तो धारणा बनाउनु भयो । तर, काम गर्ने दौरानमा मलाई उहाँले गर्नुभएको विश्वास र व्यवहारले मैले के बुझेँ र अनुभव गरेँ भने मेरो त्यो उत्तरले उहाँ प्रभावित हुनु भएको रहेछ । 

त्यत्ति मात्रै होइन, सानो आकारमा प्रकाशित भइरहेको अन्नपूर्ण पोस्ट् ठूलो आकारमा प्रकाशित गर्नुअघि त्यसको डमी तयार पार्ने निर्णय भए पश्चात पश्चात ‘लेटनाइट’ सम्म बसेर समाचार तयार पार्न उहाँले राख्नु भएको प्रस्तावलाई मैले सजिलै स्वीकार गरेकी थिएँ । मेरो त्यो उत्तर र काम गर्ने पछि नहट्ने शैलीले मलाई उहाँले काम गर्ने मान्छेको श्रेणीमा राख्नुभएको थियो । 

आफ्नो नाममा आएका निम्तामा रिपोर्टिङको लागि पठाउनु, गम्भीर विषयमा रिपोर्टिङ गर्न लगाउनु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गोष्ठी र सेमिनारमा पत्रिकाको तर्फबाट प्रतिनिधित्व गर्दै पठाउनु जस्ता सन्दर्भ उहाँले मलाई विश्वास गर्नु भएको पुष्टि हो । 
झण्डै १९ वर्ष अघि गोविन्द सरलाई दिएको त्यो उत्तर म अचेल दिनहुँ जस्तो सम्झन्छु । र, आफैंसँग प्रश्न गर्छु । किन मैले गोविन्द सरको त्यो प्रश्नमा ४८ घण्टा भनिन । वा ३०, ३५...घण्टा भनिन् । शायद त्यत्तिखेरको मेरो जिम्मेवारी र कामको अनुभवले  दिन र रात गरी हुने २४ घण्टामा १ घण्टा मात्रै थपे पुग्छ होला भन्ने लाग्यो र त्यसै अनुसारको उत्तर दिएँ । 

पत्रकारिता गर्न चाहने नयाँ पुस्ताको अन्तर्वार्ता लिनुपर्ने जिम्मेवारी पाउँदा म नयाँ पुस्तालाई गोविन्द सरले सोधे जस्तै प्रश्न सोध्छु  । तर, उनीहरुबाट आफूले दिए जस्तो उत्तरको अपेक्षा गर्दिन । 
वास्तवमा व्यवहारिक र पेशागत जिम्मेवारी, पत्रकार भएपछि देख्ने र महसुश हुने सन्दर्भ र विषय, तिनलाई अक्षरमा उतार्ने इच्छा, रहर, आवश्यकता र बाध्यता, आमा भएपछि छोराछोरीप्रति निर्वाह गर्नुपर्ने विशेष र महत्वपूर्ण जिम्मेवारीले मलाई अचेल रात र दिन गरी २४ होइन ४८ घण्टा भए हुन्थ्यो भन्ने लागेको हो भन्ने निष्कर्षमा पुगेको छु । गर्नुपर्ने काम धेरै, सिक्नु पर्ने विषय धेरै तर समय कम भएको अनुभूति पनि हो यो । 
कहिलेकाहिं मनमा यस्ता कुरा आइदिन्छन् कि, सब कुरा छाडेर घण्टौं किताबको पानाका अक्षरसँग लुटपुटिरहँु । कतै टाढा जाउँ, जहाँ न मोवाइल होस्, न त इन्टरनेट नै, त्यहाँ पुगेर घण्टौंसम्म आफ्नो काममा व्यस्त भइराखौं । साहसीका कथा लेखौँ । इमान्दारका अनुभवलाई अक्षररुपी मालामा उनौँ । 
दुरदराजका गाउँमा पुगेर आवाजविहीनको आवाज बनौं । घण्टौसम्म उनीहरुका संघर्षका कुरा सुनौं । सुखका कुरा, साहसका कुरा, योगदानका कुरा, दुखका कुरा यस्तै यस्तै । जन र जगतलाई बुझौं । माया, प्रेम, स्नेह, समर्पण, सम्बन्धका विषयलाई जस्ताको त्यस्तै अक्षरमा उतारौं । 
मनमा यस्ता विषय र सन्दर्भ खेलिरहेका बेला मलाई एक दिन किशोर अवस्थामा प्रवेश गरेकी छोरीले सोधिन्, ‘मामु प्रोफेसन चुज गर्दा के को आधारमा गर्ने ? मैले सामान्य तरिकाले छोरीको जिज्ञासा मेटाइदिएँ, ‘आफ्नो इच्छा र रुचिको आधारमा । उसको उत्सुकतालाई फरक ढंगले फेरि उत्तर दिएँ, ‘रुचि नभएको क्षेत्र पेशा भयो भने त्यहाँ ऊ खुशी हुन सक्दैन ।’ पछिल्लो उत्तर मैले उसले आफ्नो पेशा छान्दा पनि सम्झियोस् भनेर दिएकी थिएँ । तर, उसले मेरो त्यत्ति जवाफमै चित्त बुझाइन । फेरि  कुरा मिसाई, ‘त्यसो भए हजुरको छनौट एकदम ठीक भएछ है ।’ मैले उसँग धेरै सवालजवाफ नगरी ‘हो’ भनेँ ।

छोरीसँगको यो संवादपछि म आफूले रोजेको पेशाप्रति एकछिन घोत्लिएँ । पत्रिकाका पानामा आफ्नो नामसहित छापिएका साहसीको कथा सम्झिएँ । लेखिएका समपर्णका कथा आँखै अगाडि आए । आँखा वरिपरि ती दिन फिल्मको रिल घुमे झैं घुमे । हर्षविभोर म त्यसै त्यसै गद्गद् देखिएकी रहेछु । आफ्नो अघिल्तिर उभिएकीलाई आमाको अनुहारमा देखिएको भाव र  व्यक्त भावनाबाट प्रभावित छोरीले मलाई अंगालो बेर्दै भनि, ‘मान्छेहरुका कुरा, देशको कुरा, सहरको कुरा, समाजको कुरा लेखेर हजुरले के पाउनु भयो ?’ मैले उसलाई भनेँ, ‘खुशी, आत्मविश्वास र स्वतन्त्रता ।’ मेरो दैनिकीको प्रथम स्रोता छोरीले भनिन्, ‘मामु, आइ एम प्राउड अफ यू ।’

हो, गोविन्द सर, तपाईसँग भेट नभएको धेरै भयो । मलाई खुशी, आत्मविश्वास र स्वतन्त्रता दिने पेशाका पहिलो सम्पादक तपाइँलाई भेटेर भन्न मन छ, ‘सर, मलाई त २५ घण्टाले पुगेन ।’ 
 

प्रकाशित मिति: सोमबार, वैशाख २०, २०७८  १८:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार