६१ वर्षीय हजुरआमाले नातिनी जन्माइन् 

आइतबार, मंसिर २१, २०७७

वाशिङ्टन । अमेरिकाको नेब्रेस्कामा एक ६१ वर्षीय महिलाले आफ्नो समलिङ्गी छोरा र उनको श्रीमान्को सरोगेट आमा बन्दै आफ्नै नातिनी जन्माएकी छन् । सेसेल एलेड्जले नौ महिना पेटमा हुर्काएर छोरा म्याथ्यु र इलिएट डोथ्रीका लागि गत साता उमा लुइसलाई जन्म दिएकी हुन् । एलेड्जले छोरा र उनको श्रीमान्ले परिवार शुरू गर्न चाहेपछि आफूले बच्चा जन्माइदिने प्रस्ताव राखेको बताइन् । ‘शुरूमा सबैले हाँसोमा उडाए’ उनले भनिन् । तर जब छोरा एलेड्ज र डोथ्रीले बच्चाका लागि उपायहरू खोज्न थाले तब एक चिकित्सकले आमाको प्रस्ताव ठिक हुने बताए । त्यसपछि केही परीक्षणहरू गरियो र एलेड्जलाई सोरोगेट आमा बन्न बाटो खुल्यो ।
‘म स्वास्थ्यप्रति धेरै सचेत छु’ उनले भनिन्, ‘म गर्भवती हुनसक्ने कुरामा शंका गर्ने प्रश्नै थिएन ।’ उनका लागि छोराले वीर्य र छोराको श्रीमान्को बहिनीले डिम्ब दान गरे ।
डोथ्रीले महिला र पुरुषको जोडीले बच्चा पाउनका लागि कृत्रिम गर्भाधानलाई अन्तिम प्रयासका रूपमा हेर्ने बताए ।
‘तर हामीलाई थाहा थियो समलिङ्गी जोडी भएकाले हामीले फरक सोच्नुपर्छ’ छोरा एलेड्जले भने ।
पहिल्यै तीन सन्तान जन्माएकी आमा एलेड्जका लागि गर्भावस्था सामान्य नै रहेको थियो । यो घटनाले अमेरिकाका समलिङ्गी समुदायप्रति रहेको भेदभावलाई भने देखाएको छ । सन् २०१५ यता समलिङ्गी विवाहले मान्यता पाएको भए पनि सन् २०१७ सम्म नेब्रेस्कामा समलिङ्गी जोडीका लागि अभिभावन बन्न सम्भव थिएन ।
एलेड्जले आफ्नो गर्भावस्थाको स्वास्थ्य हेरचाहको खर्चका लागि बिमा कम्पनीसँग संघर्ष गरे पनि सफल भइनन् । उनले आफ्नो बच्चा जन्माएकी भए बिमा कम्पनीले उनको सबै स्वास्थ्य खर्च बेहोथ्र्याे । र बच्चाको जन्मदर्तामा जसले बच्चा जन्मायो उसकै नाम लेखिने भएका कारण डोर्थीको नाम लेखिएन ।
एलेड्जलाई चार वर्ष अगाडि समलिङगी विवाह गर्ने घोषणा गरेपछि स्कूट क्याथोलिक हाई स्कूलले शिक्षकको जागिरबाट निकालेको थियो । उनको समर्थनमा शुरू गरिएको अनलाइन अभियानमा एक लाखभन्दा बढीले सहभागिता जनाएका थिए । उमाको जन्मको एक सातापछि एलेड्जले आफू र आफ्नो नातिनी स्वस्थ रहेको बताएकी छन् । ‘यो सानो केटीले यति धेरै समर्थन पाएकी छन् कि उनी एउटा मायालु परिवारमा हुर्कने छिन्’, उनले भनिन् ।–बीबीसी 

प्रकाशित मिति: आइतबार, मंसिर २१, २०७७  १७:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार